काठमाडौँ, मङ्सिर १३ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुन आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित ‘प्लान्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै कछुवाको गतिमा हुने सुधारले गर्न सम्भव नभएको बताउनुभयो ।
उहाँले नेपालको पहिलो पटक भएको कन्ट्री रेटिङ रिपोर्टमा डबल बी माइनस रेटिङ पाउनु मुलुकको लागि सुखद् पक्ष भएको बताउनुभयो । उहाँले दक्षिण एसियामा भारतपछि नेपाल लगानीको क्षेत्र आकर्षक भएको देखिएको जानकारी दिनुभयो ।
अध्यक्ष अग्रवालले अब सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याए मात्रै कन्ट्री रेटिङको फाइदा दिनसक्ने बताउनुभयो । उहाँले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिन स्वागतयोग्य भएको बताउनुभयो ।
उहाँले नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरूले उद्यमशीलता प्रवर्द्धनका साथै ग्रामीण र सहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भूमिका खेलेको जानकारी दिनुभयो । उहाँले यो क्षेत्रमा नेपालमा करिब ७५ हजार मानिसहरूले रोजगारी पाएको बताउनुभयो । कुल औद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा पाँच प्रतिशत रहेको उहाँको भनाइ छ । उहाँले कच्चा पदार्थ आयातमा भन्सारदर घटाउनुपर्नेमा जोड दिनुभयो ।