काठमाडौँ, मङ्सिर १३ गते । प्रो तोरनविक्रम शाहीलाई एक स्ट्रोकले पछि पार्दै सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि एमेच्योर गल्फर राहुल विकेले जित्नुभएको छ ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहीबार सम्पन्न चारदिने प्रतियोगितामा राहुलले कूल १२ अन्डर दुई सय ७६ खेल्नुभयो । उहाँले अन्तिम राउन्डमा पाँच अन्डर ६७ खेल्नुभयो । राहुलको यो गल्फ करियरको पहिलो उपाधि हो ।
अघिल्ला तीन दिनका शीर्षस्थानमा रहनुभएका तोरनले दोस्रो स्थानमा चित्त बुझाउनुभयो । अन्तिम दिन इभनपार ७२ खेल्नुभएका तोरन प्रोतर्फ पहिलो हुनुभयो । कूल ११ अन्डर दुई सय ७७ खेल्नुभएका तोरनले एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
समग्र विजेता राहुलले प्रो र एमेच्योर दुवै ट्रफी पाउनुभयो । ट्रफी पाउनुभयो । कूल सात अन्डर दुई सय ८१ खेल्नुभएका एमेच्योर सद्भाव आचार्य तेस्रो हुनुभयो । प्रोतर्फ दुई सय ८५ स्कोर सहित नीरज तामाङ र भुवन नगरकोटीले संयुक्त चौथो हुनुभयो । उहाँहरूले समान ८७ हजार पाँच सय रुपियाँ पुरस्कार पाउनुभयो ।