• १२ मंसिर २०८१, बुधबार

५५ करोडको अनलाइन जुवा खेलाउने सुनील पक्राउ

blog

अभियुक्त सुनील राई र बरामद गरिएका सामानहरु । तस्बिर : नेपाल प्रहरी

गोरखापत्र अनलाइन 

काठमाडौं, मङ्सिर १२ गते । बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने अनलाइन खेलअन्तर्गत जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैर कानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राई पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्ला मिक्लाजुङ गाँउपालिका वडा नं. ७  का ३७ वर्षका सुनील राई हुन् । ललितपुर जिल्लाकाे महालक्ष्मी नगरपालिका वडा नं. ४ अफलटोल बस्दै आएका राईले ७५ वटा बैंक खाता, १२८ इसेवा वालेटबाट ५५ करोड २० लाख ८४ हजार ७१ रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।  राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ नागरिकता, १५ राहदानी, २२ चेकबुक र ४२ थान एटिएम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।