• २३ पुस २०८१, मङ्गलबार

युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १३ गते । युद्धको चपेटामा रहेको युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता मुलुक बनेको छ । रुससँग युद्धकै अवस्थामा रहेको युक्रेनबाट नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) सम्म नौ अर्ब १० करोड रुपियाँको सामान आयात गरेको छ । युक्रेनभन्दा अघि छिमेकी मुलुक चीन र भारतबाट नेपालले सबैभन्दा धेरै वस्तु आयात गरेको छ । 

युक्रेनबाट नेपालले सबैभन्दा धेरै कच्चा सूर्यमुखी तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । चार महिनामा नेपालले युक्रेनबाट आठ अर्ब २५ करोड रुपियाँको कच्चा सूर्यमुखी तेल आयात गरेको छ । युक्रेन विश्वमा सबैभन्दा धेरै सूर्यमुखी तेल उत्पादन गर्ने मुलुकमा पर्छ । 

सूर्यमुखी तेलबाहेक युक्रेनबाट नेपाललले कच्चा भटमास तेल, धनियाँको बिउ, गहुँ, तोरीका दाना पनि आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

विभागको तथ्याङ्कले नेपालबाट युक्रेन पनि वस्तु निर्यात भएको देखाउँछ तर आयातको तुलनामा अत्यन्त कम मात्र वस्तु नेपालले युक्रेनतर्फ निर्यात गरेको देखिन्छ । 

नेपालले युक्रेनमा सबैभन्दा धेरै कुकुर तथा बिरालोको खाना निर्यात गरेको देखिन्छ । कात्तिकसम्म नेपालले ३५ लाख रुपियाँ बराबरको त्यस्तो खानेकुरा निर्यात गरेको छ । यसबाहेक १२ थान किताब पनि नेपालबाट निर्यात भएको देखिन्छ । 

विश्व अर्थतन्त्र नै प्रभावित गरेको रुस युक्रेनको युद्धका बिच पनि नेपालले भने युद्धरत युक्रेनबाट ठुलो परिमाणमा वस्तु आयात गरेको देखिन्छ । आयातकर्ता मुलुकका रूपमा युक्रेन नेपालको तेस्रो ठुलो व्यापार साझेदार पनि बनेको हो । गत आवभर पनि युक्रेन नेपालको चौथो ठुलो आयातकर्ता मुलुकका रूपमा रहेको थियो । गत आवमा नेपालले युक्रेनबाट छ अर्ब ४१ करोड रुपियाँ बराबरको वस्तु आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । गत आवमा युक्रेनतर्फ नेपालको निर्यात भने शून्य थियो । 

ठुला साझेदारसँग व्यापार घाटा

नेपालको अन्तर्राष्ट्रिय व्यापारका ठुला साझेदार मुलुकहरू सबैसँग घाटाको व्यापार रहेको छ । कात्तिकसम्म १४१ वटा मुलुकसँग नेपालले व्यापार गरेकोमा २७ वटाबाहेक सबै देशसँग घाटाको व्यापार रहेको छ । व्यापार नाफा रहेका मुलुकसँगको नाफा पनि अन्यन्त कम मात्र छ । 

सबैभन्दा ठुला साझेदारसँगको व्यापार घाटा भने फराकिलो छ । नेपालको सबैभन्दा ठुलो व्यापार साझेदार भारतसँगका चार खर्ब ६० अर्ब रुपियाँको व्यापार घाटा छ । 

त्यस्तै अर्को छिमेकी मुलुक चीनसँग पनि नेपालको व्यापार घाटा एक खर्ब नाघेको छ । यसबाहेक ठुला व्यापार साझेदार अस्ट्रेलिया, अमेरिका, अर्जेन्टिना, इन्डोनेसिया, मलेसिया, कतार, थाइल्यान्ड सबैसँग नेपालले घाटाकै व्यापार गरिरहेको छ । व्यापार घाटामा रहेका ठुला साझेदार मुलुकमध्ये अमेरिकासँगको घाटा अन्तर भने केही कम छ । अमेरिकाबाट नेपालले छ अर्ब २९ करोड रुपियाँको वस्तु आयात गर्दा छ अर्ब सात करोड रुपियाँको वस्तु निर्यात गरी करिब २२ करोड रुपियाँको मात्र घाटा बेहोरेको छ । 

नेपालको सबैभन्दा नाफाको व्यापार भने अफगानिस्तानसँग रहेको छ । कात्तिकसम्म नेपालले अफगानिस्तानबाट एक करोड २३ लाख रुपियाँको वस्तु आयात गर्दा ३२ करोड ५० लाख रुपियाँको वस्तु निर्यात गरी ३१ करोड २६ लाख रुपियाँको नाफाको व्यापार गरेको छ । 

यसबाहेक नेपालले रुस, युगान्डा, अस्ट्रिया, डेनमार्क, नर्वे, स्लोभाकिया, लाट्भिया, क्रोएसिया, उज्बेकिस्तान, मौरिसस, इरान, जर्जिया, बोस्निया एन्ड हर्जगोभिना, लेबनान, सर्बिया, आइसल्यान्ड, न्यु क्यालेडोनिया, माल्दिभ्ससँग नाफाको व्यापार गरेको छ । 

नौ देशमा निर्यात मात्रै 

भन्सार विभागका अनुसार समीक्षा अवधिसम्म नेपालले विभिन्न नौ वटा देशसँग एकोहोरो व्यापार गरेको छ । अर्थात् यसबिचमा नेपालले ती देशबाट आयात नगरी निर्यात मात्र गरिरहेको छ । त्यस्ता देशहरू अरुबा, केमन आइल्यान्ड, सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, अबर जमहिरिया, माली, पनामा, पपुवा न्युगिनी र सुडान रहेका छन् । 

यी देशसँग सबै गरेर नेपालले केवल २८ लाख ६८ हजार रुपियाँको मात्र वस्तु निर्यात गरेको छ । नेपालको कुल व्यापारमा यसको हिस्सा अत्यन्त न्यून मात्र देखिन्छ ।