• १३ मंसिर २०८१, बिहिबार

काठको बाकस (कथा)

blog

इमानदार नेपालीको जन्म सुदूरपश्चिम डडेल्धुरा जिल्लाको रुवाखोला गाउँमा निम्न वर्गीय किसान परिवारमा भएको हो । गुजारामुखी कृषि पशुपालन गरी जेनतेन जीवन चलाइरहेको यो परिवारले २०४६ सालको वैशाखमा इमानदारको स्वजातकी चिउकलीसँग मागी विवाह गरेको थियो । पञ्चेबाजा ठोकेर बिहे गर्दा केही ऋण पनि लागेको थियो । देशमा जनआन्दोलन चलिरहेको थियो, विवाहको एक वर्ष नबित्दै फागुन ७ गते छोराको जन्म दिएकी थिइन् चिउकलीले । पहिलो बेतमा छोरा जन्मेकोमा स्वदेश विदेशबाट कमाई ल्याई परिवारलाई सुखी सम्पन्न बनाउने छ भनी खुसीको सीमा थिएन चिउकली र इमानदारको । 

छोराको नाम वीरबहादुर भनी पुरेत बाजेले राखिदिए । फागुन १७ गते न्वारनको दिनमा रुवाखोला गाउँलेलाई निम्ता गरेर आफ्नै घरमा पालेको घोर्ले खसी काटी मासु भात र कोदाको तेल खुवाई देउडा नाचगान गरी रमाइलो गरेका थिए ।

बिहानै उठी इमानदार पञ्चायतविरोधी नारा लगाउँदै गाउँलेहरूको साथमा संयुक्त जनआन्दोलनमा भाग लिन सदरमुकाम अमरगढी पुगेको थियो । जुलुसको नेतृत्व गर्दै उफ्री उफ्री नारा लगाइरहेको बेला इमानदारलाई प्रहरीले पक्राउ गरी व्यवस्थाविरोधी गतिविधिमा संलग्न भनी जेल हालेको थियो । केही दिनपछि राजा वीरेन्द्रले एकदलीय पञ्चायत व्यवस्था अन्त्य गरी बहुदलीय प्रजातान्त्रिक व्यवस्था घोषणा गरेपछि इमानदार जेलबाट छुटेको थियो ।

साधारण शिक्षा हासिल गरेको इमानदारले बहुदलीय प्रजातन्त्रिक शासनमा जनताको मनबाट विजयी पार्टीले गर्दा नै जनता सुखी सम्पन्न हुन्छन् भन्ने प्रशिक्षण पाएको थियो । २०४७ को संविधान घोषणापछि भएका संसद् र स्थानीय निर्वाचनमा आफ्नो आस्थाको पार्टीलाई जिल्लाभरका कार्यक्रममा सहभागी भई मन दिएर विजयी बनाएको थियो ।

विजयी पार्टीहरूले सत्ताको नेतृत्व त गरे तर जनताको हालत झन दयनीय हुँदै जान थाल्यो । युवाहरूलाई आत्मनिर्भर हुने व्यवस्थापन गर्लान् भन्ने सपना तुहिँदै जान थाल्यो । तत्काल आफ्नो विवाह र छोरा जन्मिँदा खुसियाली गर्दा लागेको साहुको ऋण र घर व्यवस्था चलाउने आर्थिक गर्जो टार्न लिएको ऋणको ब्याजले डाँडो काट्दै जान थाल्यो । 

आफ्नो गाउँका साथीभाइहरू जाने भारतमा भाडाको श्रम पोख्ने विचारले एकरात सुतेको समयमा श्रीमती चिउकलीसँग भने यहाँ बसेर कमाइ गरी विवाह र छोरा जन्मेको खुसियालीमा लागेको कृपाल जैसीको ऋण तिर्न र घरव्यवहार चलाउन लाग्ने कमाउने ठाउ“ छैन । म खेतीपाती गरेर भारततिर जान्छु । बर्से खेती लाग्ने बेला आइहाल्छु । खेतीपाती स्याहारी गए कसो होला ?” चिउकलीले पनि हुन्छ त बुढा, जसोतसो घर व्यवहार म गरुँला । गाउ“ले साथीभाइसँग जानू । घरमा सन्चबिसन्च खबर गर्दै गर्नू भनी स्वीकृति दिइन् । मङ्सिर लागेपछि गाउ“का साथीभाइसँग इमानदार पनि भारतको महाराष्ट्र प्रदेशको शुरथ सहरतिर भाडाको श्रम पोख्न हिँडे । 

नेपाली युवाले काम पनि राम्रो गर्ने अतिरिक्त थप कामको तलब पनि कम दिनुपर्ने भएकाले विभिन्न कलकारखाना होटलहरूमा सेठहरूले नेपाली युवा खोजी खोजी काममा लगाउँथे । मोहन सेठले स्टाप खाना खाएर मासिक तीन हजार दिन्छु भन्यो । त्यही सहमतिमा ठाकुरको होटलमा मोरीको काममा जीवनको पहिलो भाडाको श्रम सुरु ग¥यो इमानदारले । यता नेपालमा श्रीमती चिउकलीले पहिलो बेतमा छोरा पाएकाले पितृ सत्ताको अहंले जोरीपारीसँग गमक्क परिरहन्थी । “कहिले छोरा तन्नेरी होला कमाई ल्याउला, सुखी सम्पन्न जीवन बिताउँला ?” मनभित्र गुनिरहन्थी । 

जवानीको भेल, ज्ञानको कमी, सञ्चार, सूचना लिन नजान्दा यो दम्पतीले दस वर्षमा तीन छोरी एक छोराको जन्म दिएर एउटा ससानो पल्टन खडा ग-यो ।

विजयी बनाएर पठाएका प्रजातान्त्रिक पार्टीबाट मन्त्री बन्न पुगेकाले भन्थे, “सामन्तहरूले खेतीपाती पशुपालनलाई व्यवसायीकरण गर्न दिएनन् । हाम्रो पार्टीले सरकार बनाए म अवश्य गर्छु ।

अब त गर्लान् र भारतीय भूमिमा भाडाको श्रम बगाउने यात्राको अन्त्यको दिन किन नआउला ? भारतीय भूमिमा भाडामा नोकरी गर्ने साथीहरूसँग र घर आएको बेला गाउँलेहरू सँगै कृषि क्रान्ति गरेर औद्योगिक क्रान्ति सफल भएर स्वदेशमा श्रम पोख्न किन नपाइएला भनी गुमिरहन्थ्यो । त्यही सपना बोकेर हरेक वर्ष घर आएको बेला उग्रतारा बुढीघटाल मन्दिर पुगी “मेरो देशका प्रजातान्त्रिक नेतालाई ध्यानाकर्षण गराई देऊ माता” भनी घण्टध्वजा चढाउँथ्यो ।

प्रजातन्त्र पुनर्बहालीपछि सत्ताको छिनाझम्टीको कारण देशमा अस्थिरता थियो । साम्यवादी दर्शन नौलो जनवादी क्रान्ति गरेर समाजवादी व्यवस्था ल्याउँछौँ, देश बनाउँछौँ भन्ने नारा लिएर उग्र सशस्त्र द्वन्द्व देशमा माओवादी पार्टीले चलायो । वर्गशत्रुको नाममा भाइ भाइमा काटाकाट मारामारको हुन्डरी मच्चियो । इमानदारको मनमा एउटा प्रश्न उठिरहन्थ्यो, “किन यो मान्छे मार्ने खेलोमा राज्यपक्ष र गैर पक्ष उभिए होलान् ?” कहीँ कतै यसको उत्तर पाउँदैनथ्यो ।

गैर राज्यपक्ष गाउँमा आएर भन्थे, “हामीलाई भौतिक आर्थिक सहयोग गर्नुस्, सर्वहारा किसान मजदुरको राज्य व्यवस्था ल्याउँछौ, यी संसदीय अन्यायी भ्रष्टाचारीहरूले अत्याचार गरेर अकुत कमाउने व्यवस्था फ्याक्छौँ, जे जति सकिन्छ हामीलाई भौतिक आर्थिक सहयोग गर्नुहोस् ।”

इमानदार र रुवाखोलाका युवाहरूले भारतका गल्लीहरूमा श्रम पोखेर ल्याएको पैसो दुःखजिलो गरेर बचाएको दुई मुठी अन्नपात अनि आफूले परिवारका लागि ल्याएका जडौरी लिलामी कपडासमेत जनव्रmान्तिको नारा दिनेहरूलाई दिएर सहयोग गरे । उनीहरूलाई यही सानो सहयोग गरेको थाहा पाएर सत्ताधारीहरूले सोझा, निमुखा जनतालाई गोलीले भुटे । कठोर कालकोठरीको बास बसाए ।

गाउँका विद्यालयमा अध्ययन गर्ने अध्यापन गराउने शिक्षक विद्यार्थीहरूलाई हरेक दिन प्रशिक्षणमा लैजाने, जनवादी साहित्य सङ्गीत कार्यव्रmमा लगाउने अनि त्यहीँबाट लामो हिँडाइ छ भनी महिनौँ सँगसँगै हिँडाउने अनि त्यसपछि पार्टीमा लगाएर बन्दुक भिराउने व्रिmयाकलापले देश बन्द जस्तै भयो । देशमा विकास निर्माण ठप्प भयो । गरिखाने वातावरण थिएन । घर घरबाट कम्तीमा एक जना जनयुद्धमा जानै पर्ने उर्दी माओवादीको थियो । बस्तीहरूमा जनसाधारणलाई राज्यपक्षले आतङ्ककारी देख्थे भने माओवादीहरूले सुराकी देख्थे । 

इमानदारको छोरा वीरबहादुर पनि त पन्ध्र सोह्र वर्षको लोर्के भइसकेको थियो । बाबुसँगै सुरत भाडामा श्रम पोख्न थालिसकेको थियो । २०६२ सालतिरको कुरा हो । देशमा जनआन्दोलन चलिरहेको थियो । छोरोलाई साथीहरूको जिम्मा लगाएर दुवै बाबु छोराको भाडाको कमाइ लिएर आन्दोलनमा भाग लिन डडेल्धुरा रुवाखोला घरमा पुग्यो । 

चिउकली श्रीमान्को आगमनले खुसी हुने नै भई, पोइले कमाई ल्याएको पैसोले साहुको ऋण पनि घट्ने भो भनेर गदगद भइ । साना नानीबाबुहरू सुरतबाट बुवाले ल्याएका लिलामी कपडा लगाएर फुरुक्क हँुदै हाम्रा बाबाले ल्याएका नाना चाचा भनी नाच्दै उफ्रिँदै छिमेकीका घरतिर दगुरे । 

श्रीमती चिउकलीलाई यस पटक दक्षिण एसियाको प्रख्यात साडी बजारबाट दुई वटा बुट्टादार साडी ल्याइदिएको थियो । घरको सिँढीमा बसेर श्रीमतीलाई साडी लगाउन पठाई आफूसहित फोटा खिचेर घरमा सजाए । झिलिमिली साडीमा सजिएर श्रीमान्सँग माया बिसाउँदा चिउकलीको खुसीको सीमा रहेन । 

अर्को दिन घरको आगनमा एकाबिहान सूर्यको लालीकिरण मातृभूमिमा खस्दा श्रीमतीलाई बोलाएर नेपालमा हुने दुःख र मातृभूमिको प्राकृतिक अमूल्य सम्पदा देखाउँदै भन्न थाल्यो । 

हामी पनि नेपालमा रहेका आठ हजार नदीखोलाबाट विद्युत् उत्पादन गरी विभिन्न किसिमका उद्योगधन्दा खोल्ने देश उज्यालो झिलिमिली बनाउने विद्युत् विदेशीलाई बिव्रmी गरेर प्रशस्त आम्दानी गर्ने स्रोत रहेका छन् । 

ऊ हेर हाम्रोसामु उभिएका वनजङ्गलमा हजारौँ हजार जडीबुटीका स्रोत छन् । तिनी सबै कच्चामाल भारतदेखि तेस्रो मुलुकमा पैठारी हुन्छ । त्यही प्रशोधित भएर मेरो देशमा आउँछन् । हामी विकास गर्छौं, आत्मानिर्भर बनाउछौ“ भन्ने प्रजातन्त्र गणतन्त्रवादी हजारौ“ हजार सहिदको लाम लगाए । 

संसदीय व्यवस्था, राजा ज्ञानेन्द्रको प्रतिगमनलाई सच्याउन, अहिंसात्मक संयुक्त जनआन्दोलनमा सहभागी हुन घर आएको छु । यस पटक म डडेलधुरा, धनगढीदेखि राजधानीका विभिन्न स्थानमा हुने संयुक्त जनआन्दोलनमा पार्टीको झन्डा बोकेर सहभागी हुन जा“दै छु । राम्रो राज्य व्यवस्थापन ल्याउने मेरो पनि कर्तव्य हो ।

संसद् र बहुदलीय व्यवस्था बहाल नहु“दासम्म म घर फर्किन्न । तिमीले त्यो समयसम्म घरव्यवहार राम्रो गरी व्यवस्थापन गरेर बस्नु भनी चिउकलीलाई सम्झायो । 

अमिलो भएको मनलाई आफैँ बुझाउँदै “हुन्छ बुढा जानू, म जसरी पनि छोराछोरी लालाबाला हेरचाह गर्ने काम गरूला । स्वाभिमानले श्रम स्वदेशमा पोखेर आत्मा गौरवले बाँच्लान् । फरियाको फुर्काे टोक्दै भित्रबाट भक्कानिएर आएको हिक्कालाई भित्रै रोकिन् । 

इमानदारले हिजो नै सिलाएर ल्याएका क्रान्तिकारी राता झन्डा चिउकलीले इमानदारको हातमा राखिदिई । बेलुका नै लालकेतु र गोलाइचीका फूलको माला उनेर राखेको श्रीमान्लाई पहि¥याइदिएर स्वतन्त्रताको लडाइँमा विजयी भएर घर फर्किनू भनी बिदाइ गरिन् । 

प्रजातन्त्र पुनर्बहालीपछिको खुसियालीमा काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा जुलुसमा सहभागी भई इमानदार पनि घर फर्कियो । प्रजातन्त्र पुनर्बहाली भएकोमा बस्तीहरूमा खुसियालीको दीपावलीले झलझलाकार थियो । 

प्रजातन्त्र पुनः प्राप्तपछि विश्वव्यापीकरण खुला बजार व्यवस्थापनले विज्ञान निर्मित भौतिक सुविधा, यातायातको सुविधाले गाउँ गाउँ पुगे । परिवारले ती साधन उपयोग गर्दा गुजरामुखी कृषि र भारतमा भाडाको श्रमले नपुग्दा नेपालका अरू गाउँले जस्तै रुवाखोले युवाहरू पनि अरबको तातो हावा खान जाने क्रम बढिरहेको थियो । 

फलानाको छोराले यति कमाएर ल्यायो, साहुको ऋण सबै तिरेर घर बनायो । बेस्कन दाइजो दिएर दिदीबहिनीको बिहेसमेत गरिदियो । फलानाले पैसाको थैलै ल्याएर आयो । खेतबारी किन्यो । ढिस्कानाले बाउबाजेदेखिको ऋण चुक्ता गरेर बजारमा पाँचतले घर किन्यो । यस्तै यस्तै कुरा गाउँमा खुब सुनिन थाले । यस पटक भने गाउँले साथीसँंग छोरा वीरबहादुरलाई अरबमा कमाउन पठाउने आफू उही सुरतमा श्रम पोख्न जाने पारिवारिक सल्लाह गरे । 

केही वर्षभित्र यी लोकतन्त्रवादी गणतन्त्रवादीहरूले मेरो देशको बहुमूल्य प्राकृतिक स्रोतको विकासको ढोका किन नखोल्लान् । आफ्नै स्वदेशमा श्रम रोजगारी पोख्न पाइएला भन्ने सपना मनमा साचेर छोरा वीरबहादुरलाई केही वर्ष अरब कमाइ गर्न पठाउने पारिवारिक सल्लाह भयो । 

वीरबहादुरले आफ्नो गाउँकै चिनेजानेको ऋषि मेनपावर कम्पनीकै सम्पर्कमा पासपोर्ट बनाउनेदेखि केके केके तालिमहरू सबै पूरा ग-यो । होटलको कुकमा प्रति महिना एक लाख तलब पाउने सल्लाहमा पाँच लाख लाग्ने पहिलो किस्ता पचास हजार रुपियाँ बुझाए । 

एक महिनापछि भिसा भर्ने सलाह भयो । उही गाउँको साहु कृपाल जैसीबाट मासिक सयकडा पचासका दरले व्याज बुझाउने गरी चार लाख रुपियाँ ऋण गरेर लाग्ने टिकट र अरू शुल्क बुझाए । 

भन्दाभन्दै वीरबहादुर सपरिवारसँग बसी टीकाटालो लगाएर कुलदेउतालाई ध्वजा चढाएर यात्रा सफलताको आशीर्वाद माग्दै वीरबहादुर उग्रतारा मातालाई बसबाट नमन चढाई काठमाडौँ हिँड्यो ।

कतार बोइङ जहाजबाट छ घण्टाको उडानपछि रुवाखोले सोझो केटाले ५५ डिग्री तातोमा भ-याङ चढेर दिवालमा सिमेन्ट लगाउने काम पायो । काममा लोगेको पाँच दिनमा ११ तलाबाट सिमेन्ट पलास्टर गर्न भ-याङको डन्डी समाउने हात फुत्केर खसी वीरबहादुरको इहलीला समाप्त भयो । गएको १० दिनमा वीरबहादुरको मृत खबरले परिवारमा ठुलो बज्रपात भयो । 

खबर पाएको भोलिपल्ट इमानदार रेलगाडी बस चढेर घर आइपुगे । पर्सिपल्ट आमाबाबु बसमा चढी आँसुका भल बगाउँदै काठमाडौँ पुगे । पुगेको भोलिपल्ट वीरबहादुरको लास आइपुग्यो । काठको बाकस लास बुझदै बाबुआमा त्यही अलापविलाप गरी रोए । 

त्यो राति बागबजार बिजुली होटलको बाहिर बरन्डामा लास राखी कतारको सेठले क्षतिपूर्ति छ लाख इमानदारको नाममा राहत बैङ्क खातामा पठायो । छोराको मृत शरीर बाकसमा लिएर बेलुकाको बसमा डडेल्धुरा जान हिँडी बिहान दस बजे रुवाखोला घर पुगे । बसभरि बाकसमाथि टाउको अड्याएर चिउकली अलापविलाप गरी रोइरहेकी थिइन् । 

गाउँलेहरू वीरबहादुरको लासको बाकस घर आइपुगेको खबर पाएर आगनमा जम्मा भएका थिए । पन्चेबाजासहित मलामीहरू आँगनमा जम्मा भइसकेका थिए । बसबाट गाउँले युवाहरूले लासको बाकस ल्याएर आगनमा राखे । बाकस उघारी घरपरिवार तथा सबै गाउँले अन्तिम दर्शन गर्दै फूलमाला चढाए । 

उत्तरबाट साइपाल हिमालले हेरिरहेको थियो । सेती नदी तल एकनास सुसाइरहेकी थिइन् । आमा चिउकली अलापविलाप गर्दै रोइरहेकी थिइन् । इमानदार पनि पटक पटक भक्कानिएर आँसु बगाइरहेका थिए । 

अन्त्यमा दाहसंस्कारका लागि सेतीनदी रुवाखोला दोभानमा चिता तयार भइसकेकाले वीरबहादुरको लास राखी आगो लगाएर सखाप पारी गङ्गाजलले पखाली बगाएर अन्तिम गङ्गाजलको जलले श्रद्धाञ्जली दिएर घरतिर लागे मलामीहरू । मधुपर्क

दीपनगर, सुर्खेत