• २३ पुस २०८१, मङ्गलबार

महिला कालिगडलाई भूकम्प प्रतिरोधी घर बनाउने सीप प्रदान

blog

सुरक्षित आवास निर्माण बारेमा अभ्यास गर्दै महिला कालिगडहरू । तस्बिर ः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर १३ गते । भूकम्प प्रभावित क्षेत्रका महिला कालिगडहरूलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि क्षमता अभिवृद्धि गरिएको छ । रुकुम पश्चिमको मुसिकोटमा जाजरकोट र रुकुम पश्चिमका २६ जना कालिगडहरूलाई सात दिने क्षमता अभिवृद्धि तालिम दिएर सीप सिकाइएको हो ।  

तालिम मार्फत २२ जना महिला र चार जना पुरुष कालिगडहरूको क्षमता अभिवृद्धि गरिएको बताइएको छ । रुकुम पश्चिमका ६ स्थानीय तहका १२ जना र जाजरकोटका सात स्थानीय तहका १४ जना कालिगडहरू उक्त तालिममा सहभागी रहेका थिए । कालिगडहरूको क्षमता अभिवृद्धि गरेर भूकम्प प्रतिरोधी घर निर्माणको सीप प्रदान गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको थियो । तालिममा सुरक्षित भवन निर्माण मापदण्डको जानकारी गराउनुका साथै आधुनिक निर्माण विधि बारेमा जानकारी गराइएको थियो । तालिमले कालिगडहरूमा रहेको सीपलाई विकास गरेर दक्ष बनाएको र स्थानीय स्तरमै रोजगार प्राप्त गरेर आयआर्जनका काममा जोडिनलाई बाटो देखाएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । 

तालिममा सहभागी जाजरकोटको कुसे गाउँपालिका –५ की भावना शाहीले आफूमा रहेको सीप विकास गर्न पाउँदा खुसी लागेको बताउनुभयो । गाउँमा दक्ष कामदारहरू अभाव रहेको बेला महिलाहरूलाई पनि दीर्घकालीन पुनर्निर्माणको काममा जोड्नलाई दिइएको तालिम प्रभावकारी भएको उहाँको भनाई छ । आफ्नो, अन्य छिमेकीको घरका साथै विद्यालय, स्वास्थ्य संस्थाको सुरक्षित भवन निर्माणमा आफ्नो सीप उपयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –६ की लीला ओलीले महिलाहरूलाई कालिगडको रूपमा काम गर्न असहज लाग्ने भएता पनि तालिम पाएपछि अब सुरक्षित आवास निर्माणमा लाग्ने आत्मविश्वास बढेको बताउनुभयो । तालिमबाट भूकम्प प्रतिरोधी घर बनाउन सिकेको ओलीले जनाउनुभयो । भूकम्पले क्षति गरेका संरचनाहरूको पुनर्निर्माण कार्यका लागि जनशक्ति तयार गर्न र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न तालिम थप प्रभावकारी हुने बताइएको छ ।