• १२ मंसिर २०८१, बुधबार

मकैका कुनियाँ खोज्न व्यापारी गाउँमा

blog

बुढीगङ्गा नगरपालिका –४ बाँनेगाउँका स्थानीयले घरको छतभन्दा माथि बनाएको मकैको कुनियाँ । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर १३ गते । बाजुराका अधिकांश ठाउँमा मकैका कुनियाँ (मकैको खात) खोज्न व्यापारीहरु गाउँमा पुग्न थालेका छन् । गाउँमा उत्पादन गरेको अर्गानिक मकैको पछिल्लो समय जताततै माग बढ्न थालेपछि यहाँका व्यापारीहरु पनि त्यसलाई खोज्न दिनप्रतिदिन धमाधम गाउँमा आउने गरेका हुन् ।

पहिला गाउँमा उत्पादन हुने गरेको मकै कतै बिक्री हुँदैन थियो । मकै किन्नका लागि व्यापारीहरु धमाधम गाउँमै आउने गरेको बुढीगङ्गा नगपालिका –४ बाँनेगाउँका स्थानीय महिला जौला कटुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो पनि घरमा दु चार मकैको कुनियाँ (मकैको खात) छ । त्यो मकै किन्नका लागि धेरै जना व्यापारी घरमा अहिले आउने गरेका छन् ।  सबैले एक किलोको तीस रुपियाँ दिने गरेका छन् ।”

भदौमा मकै पाकेपछि अहिले त्यसलाई अहिले आफूले घरको छतमा राखेकी छु । कसैले मलाई त्योभन्दा बढी मूल्य दिएपछि आफूसँग भएको त्यो सबै मकै बिक्री गर्ने कटुवालले बताउनुभयो । जिल्लाभित्र तथा बाहिरबाट यती बेला मकै किन्नेहरुको गाउँबस्तीमा निकै लाइन लाग्न थालेको छ । यहाँको अर्गानिक त्यो मकै स्वास्थ्यका लागि  निकै उपयोगी हुने गरेकोले यतिबेला त्यो मकै धमाधम गाउँदेखि बाहिरिन थालेको छ । 

मकै सबैभन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहुउपयोगी यो बालीबाट विभिन्न परिकार, तेल, इन्धन, चिनी, रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसले उसिनेका मकै वा पोलेका मकै खान मन पराउँछन् । मकै खाएमा स्वास्थ्यका लागि निकै फाइदा हुन्छ । मकैमा प्रशस्त पोषण तत्व हुन्छ । मकै खाएपछि मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु , रक्तनली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । 

मकैमा भिटामिन बी, पोटासियम, फसफोरस र फलाम हुन्छ । तीमध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । 

यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकैको क्षमता भएको विज्ञ बताउँछन् ।

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल बुढीगङ्गा, खप्तड छेडेदह र त्रिवेणीलगायतका विभिन्न ठाउँमा मकै उत्पादन हुने गरेको भएतापनि सबैभन्दा बढी बुढीगङ्गा र त्रिवेणीमा हुन्छ । तर पनि यहाँका स्थानीयले मकै खासै लगाउँदैनन् । पछिल्लो समय देशका विभिन्न सहरबाट यसको माग बढ्दै गएपछि स्थानीय तहले पनि अर्गानिक खाद्यान्नलाई बढी प्राथमिक दिन थालेको छ । 

बाजुराको अर्गानिक मकै पछिल्लो समय देशका विभिन्न सहरमा माग बढ्न थालेपछि अहिले यहाँका स्थानीयले पनि फेरि मकैखेतीप्रति निकै चासो राख्न थालेका छन् । 

यो वर्षदेखि यहाँको अर्गानिक मकै देशका विभिन्न सहरमा जान थालेको छ । यहाँको मकै अहिले प्रायः धनगढी र काठमाडाैंमा जान थालेको छ । अहिले यहाँका केही स्थानीय  तहले पनि विद्यालयमा बालबालिकालाई खुवाइँदै आएको दिवा खाजामा कोदो, मकै, जौ गहुँलगायतका विभिन्न परिकार अनिवार्य गर्दै आएका छन् । 

मकैखेतीले यहाँका स्थानीयको जीविकोपार्जन गर्न सहज देखिएकोले यती बेला यहाँका स्थानीयलाई  मकै खेतीमा उत्प्रेरित गर्दै आएको बाजुराका स्थानीय तह बताउँछन् । जिल्लामा दुई लाख तीस हजार ३७ हेक्टर जमिन छ । त्यो मध्येकै २२ हजार हेक्टर खेती योग्य जमिन छ । पाँच हजार दुइ सय पैतिस हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा छ । 

यहाँको एक हजार तीन सय पचास क्षेत्रफल हेक्टर जमिनमा मकैखेती गरिन्छ । यसमा ५०.२५ मेट्रिकटन मकै उप्पादन हुन्छ ।  यहाँ १.५ मेट्रिकटन मकैको उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताउनुभयो ।