• १२ पुस २०८१, शुक्रबार

उच्च मूल्यबाट बिस हजारले घट्यो सुन

blog

काठमाडौँ, मङ्सिर ११ गते । स्थानीय बजारमा सुनको मूल्य एकै दिन तोलामा १५ हजार नौ सय रुपियाँले घटेको छ । सुन आयातमा लाग्दै आएको भन्सार दर सरकारले घटाएका कारण सुनको मूल्य एक्कासि घटेको हो । 

आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार १५ हजार नौ सय रुपियाँले घटेर एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत कात्तिक १५ गते सुनको मूल्य सबैभन्दा उच्च प्रतितोला एक लाख ७१ हजार रुपियाँ पुगेको थियो । त्यसपछि भने क्रमशः घट्दै आएको थियो ।

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत सुन आयातमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएको थियो । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै गएको र भन्सार बढेका कारण बजारमा सुन महँगो हुँदै आएको थियो । गत जेठ १५ गतेदेखि सुनको भन्सारदर लागु हुँदा तोलामा एकै दिन मूल्य बढेको थियो । 

गत बिहीबारको मन्त्रीपरिषद् बैठकबाट सरकारले सुनको आयातमा भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । त्यही निर्णय कार्यान्वयन हुँदा सोमबार स्थानीय बजारमा सुनको मूल्य एक्कासि घटेको हो । 

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भन्सारदर घट्दा तोलामा सुनको मूल्य १३ हजार रुपियाँले सस्तो भएको जानकारी दिनुभयो । सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य ५० डलरले घटेर दुई हजार ६७३ डलरमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य घट्दा त्यसको प्रभावले स्थानीय बजारमा दुई हजार नौ सय रुपियाँले मूल्य घट्न गएको शाक्यले जानकारी दिनुभयो ।

भन्सारदर घटेको र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा सोमबार एकै दिन सुनको मूल्य १५ हजार नौ सय रुपियाँले घटेको छ । 

लामो समयदेखि निरन्तर बढ्दै गएको सुनको मूल्य घट्दा उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा भएको छ । आगामी दिनमा थप सुनको मूल्य घट्न सक्ने अनुमान गरिएको छ । भारतमा सुनको भन्सारदर छ प्रतिशत हुँदा नेपालमा तस्करीमार्फत सुनको कारोबार बढी हुने गरेको व्यवसायीको भनाइ छ । अवैधानिक सुनको कारोबार रोक्नका लागि भन्सारदर घटाइएको बताइएको छ । 

सुनचाँदी व्यवसायीले नेपालमा भन्दा भारतमा सुनको मूल्य सस्तो हुँदा तस्करी बढ्दै गएको भन्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएर सुनमा लाग्दै आएको भन्सारदर घटाउन माग गर्दै आएका थिए ।  

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको सुनको मूल्य, भन्सारदर, बैङ्कको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर व्यवसायीले सुनको मूल्य तय गर्ने गरेका छन् । 

सुन आयातमा लाग्दै आएको भन्सारदर घट्ने निर्णयको सुनचाँदी व्यवसायीले भने स्वागत गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्य सुनमा भन्सार घटाउने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । 

भन्सारदर घट्दा तस्करीबाट भित्रिने सुन रोकिने उहाँको भनाइ छ । गत कात्तिक १५ गते प्रतितोला एक लाख ७१ हजार रुपियाँ पुगेको सुनको मूल्य घटेर एक लाख ६० हजार रुपियाँमा झरेको थियो । गत सातादेखि पुनः सुनको मूल्य बढ्दै गएको थियो । सोमबार एक्कासि सुनको मूल्य घटे पनि कारोबार भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । बजारमा सुन अभाव हुँदा कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ । 

बैङ्कहरूले पछिल्लो एक महिनादेखि सुनको आयात रोकेका थिए । पसलबाट तयारी गहना बिक्री भए पनि काँचो सुन अभावले कारोबार हुन नसकेको शाक्यको भनाइ छ । विभिन्न वाणिज्य बैङ्कले दैनिक २० केजीका दरले सुन आयात गर्ने गरेकोमा पछिल्लो समय भन्सारदर घट्ने हल्लाले आयात रोकेका थिए । सुन आयात नहुँदा बजारमा काँचो सुनको अभाव देखिएको बताइएको छ । चाँदीको मूल्यसमेत तोलामा ११५ रुपियाँले घटेर एक हजार ८४५ रुपियाँमा कारोबार भएको छ ।