• १० मंसिर २०८१, सोमबार

अमेरिकी निर्वाचनको सिकाइ

blog

सन् २०२४ मतदानको अभूतपूर्व कुम्भमेलाका रूपमा रह्यो । यो वर्ष विश्वको कुल आठ अर्ब १० करोड जनसङ्ख्यामध्ये चार अर्ब २० करोड जनसङ्ख्या निर्वाचनमा सहभागी भए । यो विश्वमा बालिगमताधिकार सुरु भएयताको सबैभन्दा ठुलो निर्वाचन वर्ष हो । विश्व महाशक्ति अमेरिका, विश्वकै ठुलो लोकतन्त्र भारत, भौगोलिक हिसाबमा विश्वकै ठुलो रुस, सबैभन्दा धेरै मुस्लिम जनसङ्ख्या रहेको इन्डोनेसिया, सबैभन्दा बढी जनघनत्व भएको बङ्गलादेशलगायतका देशका जनताले आआफ्नो मताधिकार प्रयोग गरेका छन् । यो वर्ष विश्वमा धेरै जनसङ्ख्या भएका १० मध्ये आठ देश भारत, इन्डोनेसिया, बङ्गलादेश, पाकिस्तान, रुस, अमेरिका, ब्राजिल, मेक्सिकोमा निर्वाचन सम्पन्न भएका थिए । 

मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २१ ले निर्वाचनमा सहभागिता, आवधिक निर्वाचन, विश्वव्यापी र समान मताधिकार तथा गोप्य मतदानलाई निर्वाचनका मुख्य मान्यताका रूपमा अङ्गीकार गरेकाले यसलाई नै निर्वाचनका विश्वव्यापी मान्यताका रूपमा लिने गरिन्छ । यिनै मान्यतालाई आत्मसात् गरिएका निर्वाचन नै स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन् । 

नेपालसँग द्विपक्षीय सम्बन्ध रहेका देशबाट नेपालको निर्वाचन अवलोकन गरिने र नेपालबाट पनि आमन्त्रण गरिएका देशमा निर्वाचनको अवलोकन हुँदै छ । पङ्क्तिकारले इन्डोनेसिया र अमेरिकामा सम्पन्न निर्वाचनको अवलोकन गर्ने अवसर पाएको थियो । यसै गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू रामप्रसाद घण्डारी र सगुन शमशेर जबराको छुट्टा/छुट्टै नेतृत्वमा रुस, कोरिया, भारत, माल्दिभ्स, श्रीलङ्का, बङ्गलादेश र थाइल्यान्डमा भएका निर्वाचनको अवलोकन भ्रमण गरिएको थियो । अन्य देशमा हुने निर्वाचन प्रक्रियाको स्थलगत भ्रमणबाट प्राप्त ज्ञान र अनुभवलाई नेपालका सन्दर्भमा कसरी प्रयोग गर्न सकिन्छ भनेर भ्रमणपछि आयोगमा अनुभव आदानप्रदान गरिन्छ । नोभेम्बर ५ तरिखमा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचन अवलोकना लागि पङ्क्तिकारसँगै प्रमुख निर्वाचन आयुक्त थपलिया र आयुक्त भण्डारी अमेरिका गएका थियौँ । भर्जिनियाको अर्लिङटन र फल्स चर्च, वासिङ्टन डिसीको जर्जटाउन मतदान केन्द्रमा मतदान प्रक्रियाको अवलोकन गरिनुका साथै अमेरिकाको निर्वाचन प्रक्रियाका बारेमा सम्बन्धित अधिकारीबाट सुन्ने र बुझ्ने अवसर प्राप्त भएको थियो । 

सन् २०२४ सम्म अमेरिकाको जनसङ्ख्या अनुमानित रूपमा करिब ३३४ मिलियन (३३ करोड ४० लाख) रहेको छ । हालै सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कुल योग्य मतदाताको सङ्ख्या करिब २५२.२ मिलियन थियो । तीमध्ये लगभग १६८.३ मिलियनले मतदान गरेका थिए, जसले मतदानको दर करिब ६३.२ प्रतिशत दर्शाउँछ । यो सङ्ख्या ‘भोटिङ एलिजिबल पपुलेसन’ मा आधारित छ । जसमा नागरिकता र कानुनी रूपमा मतदान गर्न अयोग्य व्यक्तिहरू (जस्तै कैदी) लाई हटाइएको छ ।

निर्वाचनका आधारभूत सिद्धान्त अङ्गीकार गर्दै सम्पन्न भएको पहिलो आधुनिक निर्वाचन प्रथम अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई मानिन्छ । जुन निर्वाचन सन् १७८८–१७८९ मा सम्पन्न भएको थियो । यो निर्वाचन सन् १७८८ डिसेम्बर १५ सोमबारदेखि १७८९ जनवरी १० शनिबारसम्म सञ्चालन भएको थियो । यो निर्वाचनले राष्ट्रपतिको चयन, संविधानको अनुमोदन र प्रथम संयुक्त राज्य अमेरिकाको कांग्रेसको निर्वाचनसमेत गरी तीन वटा प्रमुख कार्य एकैसाथ सम्पन्न गरेको थियो । अमेरिकका निर्वाचन प्रणाली पनि यति बेला नै संवैधानिक अनुमोदन भई सुरु भएको हो । अमेरिकामा फेडरल इलेक्सन कमिसन रहेको छ । जसमा छ जना आयुक्त राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । अमेरिकमा निर्वाचन व्यवस्थापन कार्य संविधानद्वारा नै विकेन्द्रित गरिएका छन् । संविधानले राज्यहरूलाई आफ्नै निर्वाचन कानुन बनाउन र नियन्त्रण गर्न स्वतन्त्रता दिएको छ । जसले गर्दा राज्य अनुसार निर्वाचन कानुन फरक/फरक रहेका छन् । निर्वाचन व्यवस्थापन गर्ने निकाय आर्थिक तथा प्रशासनिक रूपमा स्वायत्त रहेका छन् । निर्वाचनका बेला आवश्यक पर्ने कर्मचारी यी निकायले आफैँ छनोट गर्न सक्ने व्यवस्था गरिएको छ । नेपालमा जस्तो निर्वाचनका लागि विभिन्न कार्यालयबाट कर्मचारी काजमा ल्याएर खटाउनु पर्ने बाध्यता अमेरिकामा छैन । 

अमेरिकाले सन् १८६२ देखि विदेशमा रहेका आफ्ना देशका नागरिकले मतदान गर्न पाउने व्यवस्था लागु गरेको हो । यसै गरी यहाँ अर्ली मतदानको व्यवस्था गरिएको छ । निर्वाचन लोकतन्त्रको अभ्यास गर्ने प्रमुख माध्यम भएकाले प्रत्येक मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु पर्छ भन्ने मान्यतालाई आत्मसात् गरिएको छ । मतदानका दिन आफ्नो मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न असमर्थ हुने मतदातालाई अग्रिम रूपमा मतदान गर्न दिइने विधिलाई नै अग्रिम मतदान भनिन्छ । ३ नोभेम्बर २०२४ सम्म, अमेरिकामा सात करोडभन्दा धेरै मत खसेको थियो । यसले अर्ली मतदानको महत्वपूर्ण अंशलाई प्रतिनिधित्व गर्छ । जसले गर्दा मतदाताले चुनावका दिन अगाडि नै आफ्नो मत दिने अवसर प्राप्त गरे । यो सङ्ख्या २०२० को राष्ट्रपतीय चुनावमा प्रारम्भिक भोटिङको तुलनामा कम भए पनि, अघिल्ला वर्षको औसतभन्दा धेरै थियो ।

यसै गरी अमेरिकामा पोस्टल भोटिङ पनि व्यवस्था छ । यहाँको पोस्टल सर्भिस पनि उत्कृष्ट रहेको छ । मतदाता स्वयम्ले निर्वाचन व्यवस्थापन निकायसँग मतपत्र माग गर्नुपर्ने र उक्त व्यक्ति मतदाता हो होइन भन्ने निर्वाचन व्यवस्थापन निकायले पहिचान गरेपश्चात् मात्र उक्त व्यक्तिलाई हुलाकमार्फत मतपत्र प्रदान गरिन्छ । मतपत्र प्राप्त गरेपश्चात् मतपत्रमा मत सङ्केत गरी सो मतपत्रलाई गोप्य खामबन्दी गरी सो बन्द खामलाई पुनः मतदाताको निर्वाचन क्षेत्रको विवरण उल्लेख गरी अर्को खाममा बन्द गरी अन्तिममा मतदाता परिचयपत्रको प्रतिलिपिसहित पुनः अर्को खामसहित निर्वाचनका मितिसम्म पुग्ने गरी तोकिएको ठेगानामा मतपत्र फिर्ता पठाउनु पर्छ । यसै गरी निर्वाचनको दिन कुनै मतदाता आफूलाई तोकिएको मतदान केन्द्रमा गएर मतदान गर्न असमर्थ भएमा वा सो दिन सो ठाउँमा उपस्थित भई मतदान गर्न नसक्ने भएमा निजलाई अन्य स्थानबाट मतदान गर्न दिने (अबसेन्ट भोटिङ) को व्यवस्था पनि छ । 

मतदाता दर्ताका लागि विभिन्न मुलुकले आआफ्नो कानुनबमोजिम दर्ता प्रक्रिया निर्धारण गरेका हुन्छन् । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा हुलाक, अनलाइन र व्यक्ति स्वयम् उपस्थित भएर मतदाता दर्ता गर्ने गरेको पाइन्छ । अमेरिकामा यो प्रक्रियालाई सूचना प्रविधिको प्रयोगले निकै सहज बनाइदिएको छ । मतदानाका लागि योग्य जो कोहीले मतदानकै दिन पनि आफ्नो नाम दर्ता गराएर मतदान गर्न सक्ने प्रावधान रहेको छ । नेपालमा निर्वाचनको मिति तोकिएपछि मतदाता नामावली दर्ता बन्द गर्नुपर्ने कानुन व्यवस्था छ । निर्वाचनको मिति तोकिएपछि निर्वाचनका बारेमा सर्वसाधारणमा चासो बढ्ने र नाम दर्ताका लागि सोधखोज सुरु हुन्छ । हाम्रो कानुनी प्रबन्धले नाम दर्ता स्थगित गरेको हुन्छ । हामीले पनि निर्वाचनको केही दिनअघिसम्म मतदाता नामावली दर्ता गर्ने व्यवस्था लागु गर्न सक्दा मतदान गर्न योग्यता पुगेकाहरू मतदानबाट वञ्चित हुने थिएनन् । 

अधिकांश समाचार र लेखहरूमा अमेरिकी राष्ट्रपति निर्वाचनको मात्रै चर्चा र विश्लेषण गरेको पाइन्छ । राष्ट्रपतिको निर्वाचनसँगै यहाँ सिनेटर, सांसद र स्थानीय तहका प्रतिनिधिको पनि निर्वाचन भइरहेको हुन्छ । यहाँको निर्वाचन एजेन्डा बेसमा हुने गर्छ । कसको नीति के छ ? कसलाई सपोर्ट गर्दा नागरिक तहमा के फाइदा पुग्छ भनेर सचेत रूपमा बुझेर मतदाताले मतदान गर्ने गर्छन् । निर्वाचनमा थुप्रै विषयमा जनताका धारणा बुझ्ने पनि गरिन्छ । वास्तवमा यहाँ दुई/दुई वर्ष जनमत सर्वेक्षण गरे जसरी नै निर्वाचन हुने गर्छ । प्रतिनिधि चयनसँगै स्थानीय र राज्य सरकारहरूले लागु गरिरहेका नीतिहरूमा जनताको मत बुझ्ने काम पनि निर्वाचनकै क्रममा गरिन्छ । 

सन् २०२४ को अमेरिकी गभर्नर चुनाव ११ राज्यमा निर्वाचन सम्पन्न भयो । तीमध्ये ६ राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवार विजयी भए भने ५ राज्यमा डेमोक्र्याट पार्टीका उम्मेदवारले जिते । यसपछि, अमेरिकामा कुल गभर्नरहरूमा रिपब्लिकनको सङ्ख्या २७ र डेमोक्र्याटको सङ्ख्या २३ मा कायम रहेको छ ।

अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभको चुनावमा कुल ४३५ सिटका लागि प्रतिस्पर्धा भएको थियो । रिपब्लिकन पार्टीले २२२ सिट जितेर बहुमत हासिल ग¥यो, जबकि डेमोक्र्याट पार्टीले २१३ सिट जित्यो । हाउस अफ रिप्रेजेन्टेटिभमा रिपब्लिकनको बहुमत पुगेको छ । सिनेटतर्फ १०० सिटमध्ये डेमोक्र्याट पार्टीसँग ४७ सिट छ, र रिपब्लिकनसँग पनि ५३ सिट छन् । सिनेटमा समेत रिपब्लिकन पार्टीले बहुमत प्राप्त भयो ।

त्यसै गरी इलेक्टोरल कलेजको ५३८ मध्ये रिपब्लिकन पार्टीको पक्षमा ३१२ र डेमोक्र्याट पार्टीको पक्षमा २२६ रहेको थियो । रिपब्लिकन पार्टीको पक्षमा २७० भन्दा बढी इलेक्टोर कलेजको बहुमत प्राप्त भएकोले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । अमेरिकामा मतपत्र र डिजिटल भोट दुवैको गणना उपकरणबाट हुन्छ । उपकरणले प्रशोधन गर्न नसेकका मतपत्र निर्वाचनका लागि खटिएका कर्मचारीले हातैले गन्नु पर्ने व्यवस्था छ ।

अमेरिकी चुनावमा पनि केही मत बदर हुने सम्भावना हुन्छ । यस पटकको चुनावमा यसबारे यकिन तथ्याङ्क उपलब्ध छैन । प्रायः बदर मतको प्रतिशत निकै सानो हुन्छ, मुख्यतः डेमोक्र्याट सही रूपमा नभरिएको वा नियम अनुसार नपरेको कारणले बदर भएको हुन्छ । सन् २०२० को अमेरिकी चुनावमा बदर मतको प्रतिशत एक प्रतिशतभन्दा कम थियो । 

सूचना प्रविधिको उच्चतम प्रयोग हुने अमेरिकी निर्वाचन पहुँचयुक्त निर्वाचनको अनुपम उदाहरण हो । मतदान केन्द्र तथा स्थलहरूमा एक जना पनि सुरक्षाकर्मी उपस्थित नभएर सम्पन्न हुने निर्वाचन निकै सुरक्षित र पारदर्शी रूपमा सम्पन्न हुन्छ । मतदाताको पहिचानदेखि मत सङ्केत गरेको ठिक छ कि छैन भन्नेसम्म मेसिनबाटै गरिने भएकाले यहाँको मतदान प्रक्रिया निकै शुद्ध हुने गरेको छ । हरेक दुई वर्षमा हाउस अफ रिप्रेजेन्टेटिभको निर्वाचन हुने भएकाले नागरिकले मतमार्फत आफ्ना धारणा व्यक्त गर्ने अवसर पाइरहेका हुन्छन् । अमेरिकी प्रशासन र पार्टीले लिने नीतिका बारेमा जनताले आआफ्ना धारणा मतदानमार्फत प्रकट गर्ने अवसर निरन्तर उपलब्ध हुन सकेकै कारण अमेरिकाको निर्वाचन प्रक्रिया अब्बल हुन सकेको छ । 

Author

डा.जानकीकुमारी तुलाधर