नेपालको जैविक विविधताको वर्णन र फलफूलका लागि पनि हाम्रो देश प्रसिद्ध छ । विकासक्रम र परिवर्तनसँग अब देउडा गीत र देउडा संस्कृति केवल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र सीमित रहेन । काली कर्णाली विकास क्षेत्रका हजारौँ मानिस कामको खोजीमा छिमेकी राष्ट्र भारतमा जाने गर्छन् । जहाँ जहाँ बसेका छन् तिनै ठाउँमा देउडा गीत गाउने, कार्यक्रम आयोजना गर्ने प्रचलन प्रवासी नेपाली माझ अहिले पनि यथावत छ । कैयौँ वर्षसम्म घर छाडेर गएका परदेशीलाई घरको मायाले सताउँथ्यो, अनि बालबच्चाको मायाले परदेशी घर फर्कन्थे । स्वदेशमा बस्ने गीतप्रेमीले पनि पानासोनिक क्यासेट प्लेपर खरिद गरी गीति क्यासेट बजाउने गर्थे ।
विसं २०६२ मा जनआन्दोलनताका मुम्बईमा एक कार्यक्रममा देउडा गीत पस्कँदा केही दर्शक खुसीले मञ्चमै देउडा खेल्न आए, केही भने घरको यादले होला सिटमा बसी धुरुधुरु रोइरहेका देखिन्थे । लोकतन्त्र प्राप्तिपछि पनि मुम्बई, चिन्चोड, पूणे, दिल्लीमा पनि देउडा गीतले खुबै बजार लिएको थियो । यो क्रम सात समुद्र पारि भन्ने गरिएको मुलुक अमेरिकासम्म पुग्यो ।
लसएन्जल्सदेखि सिकागोसम्म अर्थात् अमेरिकाका ५० वटै राज्यमा नेपाली पुगेका छन् । कुनै बेला भारतलाई कर्मथलो बनाउने सुदूरपश्चिम र कर्णाली प्रदेशका पनि हजारौँ नेपाली आफ्नो मेहनत र पसिना अमेरिकी भूमिमा बगाएर जीवनयापन गरिरहेका छन् । कसैले घर खरिद गरिसकेका छन् भने कतिपय अपार्टमेनटमा बसेर कर्मबीर बनिरहेछन् । प्रवासमा रहेर पनि नेपाली आआफ्नो परम्परा संस्कृति जोगाउने काममा लागिपरेका देखिन्छन् । सुदूरपश्चिमवासीको दाँजोमा नेपालका अन्य प्रान्तबाट त्यहाँ गई बसोबास गर्ने नेपालीले आआफ्नो संस्कृतिको जगेर्ना भने अलि कमी नै गरेको हो कि जस्तो लाग्यो । जसरी विसुपर्व र गौरापर्व मनाउन सुदूरपश्चिम र कर्णालीवासी राजधानीको टुँडिखेल र प्रज्ञा–प्रतिष्ठानमा ओइरिन्छन्, त्यसरी नै हजारौँ नरनारी गौरापर्व मनाउन अमेरिकाका देवमन्दिरमा जम्मा भएको अनुभव पङ्क्तिकारले अमेरिका भ्रमणका व्रmममा बटुलेको छ । बीजवनस्पति जम्मा गरी पञ्च बिरुणा तामाको भाँडोमा भिजाएर पूजा गर्दै श्रद्धापूर्वक गौरामातालाई डालोमा राखी नयाँ नयाँ सारीमा सजिएका नारीले आआफ्नो शिरमा राखी देवीलाई नचाएको दृश्य हेर्नलायक थियो ।
सुदूरपश्चिममा बजाइने दमाहा, सहनाई, हुरकोलगायत सम्पूर्ण बाजा अमेरिकामा लगेका छन् संस्कृतिकर्मीले । यो क्रम टेक्सासको डालसस्थित लक्ष्मीनारायण, शिवनारायण, राजधानी अस्ट्रिनस्थित पशुपतिनाथका मन्दिरका अलावा उइसक्यान्सिन राज्यको मिलबाकी स्थित लक्ष्मीनारायण मन्दिरमा सुदूरपश्चिमका असङ्ख्य नरनारीले गौरापर्व भव्य र सभ्य तरिकाले मनाए ।
मातृभूमिप्रतिको अगाध स्नेह दर्साउँदै मञ्चमा र खाली ठाउँमा देउडामा ती दाजुभाइ दिदी बहिनी नाचिरहेको दृश्यले सुदूरपश्चिम र कर्णाली प्रदेश अमेरिकामा नै पुगेको प्रतीत हुन्थ्यो ।
न्युयोर्कमा सुदूरपश्चिमवासीको बाक्लो उपस्थिति छ । नेपाली कांग्रेसका वैकल्पिक केन्द्रीय सदस्य कमल विष्टदेखि अमेरिका लगायतका मुलुकमा ३० वर्ष बसी लामो अनुभव बटुलेका अछामका टेक भण्डारी सुदूरपश्चिम समाज न्युयोर्कका वर्तमान सभापति दानसिंह विष्ट र पूर्व सभापति गणेश विष्ट सबैभन्दा पाका व्यक्ति मोहनसिंह विष्ट (७५ वर्ष) कवि किसनसिंह धामी आदिका बसोवास यही अन्तर्राष्ट्रिय सहरमा छ ।
भदौ ३० गते सातौँ अन्तर्राष्ट्रिय ग्लोबल फेस्टिबल एउटा भव्य रङ्गमञ्चमा नेपाल र न्युयोर्कका ख्याति प्राप्त अभिनेता अभिनेतृ, गायक गायिका सङ्गीतकारको उपस्थितिमा सम्पन्न भयो । पच्चीस मिनेट समयको कार्यक्रममा झ्याम्म झ्याम्म गीत पस्कँदा सभाहल सङ्गीतले गुन्जायमान भयो । सबैले सामूहिक रूपमा झ्याम्म.. झ्याम्म.. भन्दै सुदूरपश्चिमलाई सम्मान गरे । त्यसपछि लोकप्रिय देउडा भाका ओ वाज र झम्क्यो डालीमा पस्कँदा मन थाम्न नसकी सङ्गीतका सारथी शम्भुजित बास्कोटा, सँगसँगै अभिनेतृ भूवन चन्द, वसुन्धरा भुसाल, शर्मिला मल्ल, माइकल चन्द, घनश्याम खतिवडा पनि मञ्चमा पुगेर डेढी कदम उचाल्दै देउडाको घेरोमा नाच्न पुगे ।
सङ्गीतज्ञ शम्भुजित बाँस्कोटा, वरिष्ठ पत्रकार माइकल चन्द, बैतडीका हरिसिंह विष्ट (दानसिंह विष्टका बुवा) देउडा कलाकार रैमान महरा, अछामकी बहिनी सीता भण्डारी खुसी व्यक्त गर्दै सामूहिक रूपमा बधाईका क्रममा भन्दै थिए– नेपालको देउडा गीत र संस्कृतिको दरिलो तरिकाले अमेरिकामा बीजारोपण गर्नुभयो । मलाई पनि यही अनुभूति भयो । हामी सबैको शिर उचो राख्न सफल हुनुभएकोमा हार्दिक बधाई छ भनी उनीहरूले हार्दिकता बाँडे । साथीहरूको र विशिष्ट व्यक्तित्वका यी शब्दले भावुक बनायो, अमेरिकामा होइन सुदूरपश्चिमको पवित्र माटोमा म उभिरहेको छु जहाँ निगलासैनी, उग्रतारा, मालिका शुर्मादेवी, मस्टोदेवता र वैजनाथ बाबाले हाम्रो रेखदेख गरिरहेछन् जस्तो लाग्यो ।
समारोहमा अमेरिकी सांसद र अमेरिकास्थित विशिष्ट नेपाली जनबाट सम्मानपत्र प्राप्त गर्दा खुसीले होला अनायासै गहभरी आँशु छचल्किए । आयोजक सबैकाप्रति नतमस्तक भएँ । विसं २०६६ मा दक्षिण कोरिया, २०७५ मा मलेसिया, २०७५ मा नै दुबईमा ती ठाउँमा रहनुहुने सुदूरपश्चिमका सांस्कृतिककर्मीको निमन्त्रणामा पुगेर देउडा गीत गाएको थिएँ । याद छ कोरियामा मैले गीत गाउँदै गर्दा धेरै व्यक्ति रोएका थिए । हरेक ठाउँमा ज्यादै ठुलो सम्मान दिएका थिए, सुदूरपश्चिमका मनकारी संस्कृतिकर्मीले । ती ठाउँमा एयरपोर्टमा बिदाइ गर्न आउँदा अँगालो हाल्दै भक्कानिएका मायालु अनुहार अहिले पनि सम्झिरहेको छु । दर्शकबाट कलाकारलाई पाइने अपार माया यही रहेछ ।
यसै गरी पाँच वर्षपहिले अमेरिकाको कोलोराडोको फिल्मी फेस्टिबल कार्यक्रममा सम्मिलित हुने मौका मिलेको थियो । साथी प्रेमराजा महत र पङ्क्तिकारले मञ्चमा सँगसँगै झ्याम्म.. झ्याम्म.. देउडा गीत गाएका थियौँ । त्यस बेला नायक कृष्ण मल्ल, साथी मुकुन्द ढुङ्गाना र वरिष्ठ लोकगायक हिरण्य भोजपुरीले मलिलो माटोमा देउडागीत विधिपूर्वक रोपेर गयौँ, यसको गोडमेल गर्ने जिम्मा भोलिका पुस्तालाई जान्छ, भनेको सधैँ याद आइरहन्छ । सायद मेरो जन्म गीत गाउनकै लागि रहेछ जस्तो लाग्छ ।
सुदूरपश्चिममा कुनै बेला गीत गाउने मानिसलाई बैरागी भनिन्थ्यो । आमा बाबा गङ्गामती र जगदीश उपाध्याय “ए लाटा गीत नगापन, गीत गाउन्या भाइस दुःखारी हुँदाछन्” भन्नुहुन्थ्यो । तर गीतले नै मलाई थोरै भए पनि समूदायबीच परिचित गरायो, सुदूरपश्चिम र कर्णालीको वैभवशाली संस्कृति र लोकजीवन कसरी भुल्न सकिएला र अब ? स्वर्गवासी आमा बालाई यही प्रश्न छ मेरो । देउडागीत मेरा लागि श्रीमद्भागवत गीताको श्लोक हुन् । प्रतिदिन पाठ गरिरहन्छु ।
जिन्दगीमा केही लोकगीत पनि रेडियो नेपालमा रेकर्ड गरेँ, गीति क्यासेटमा पनि भाका उतारेँ । देउडा जस्तो अनमोल मणि अरू गीतमा भेट्टाउन सकिन । अमेरिकाको न्युयोर्क सहरमा जस्तो भव्य र सम्झन लायक देउडा गीतिमय साँझ अन्त सम्पन्न हुन सकेन । त्यसैले भन्न मन लाग्छ देउडा गीतमा ः–
हात्तीले मचण्काई आन्यो लाल्झाणीका केला
सम्झन्छु धुणुक्कै रुन्छु साई सम्झ्क्या बेला ।