• १३ साउन २०८१, आइतबार

दाङको लमही नगरपालिकामा कांग्रेस विजयी

blog

दाङको लमही नगरपालिका प्रमुखमा निर्वाचित जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगी । तस्विरः लिलाधर वली

घोराही, जेठ ४ गते । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी हुनुभएको छ । नगर प्रमुखमा कांग्रेसका उम्मेदवार जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगी विजयी हुनुभएको हो । 

चौधरी ९ हजार ३ सय १७ मत प्राप्त गरेर नगर प्रमुखमा विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्माले सात हजार २८५ मत प्राप्त गर्नुभएको छ । निर्वाचित चौधरीले निकटतम प्रतिद्वन्द्वीलाई दुई हजार ३२ मतान्तरले पराजित गर्दै नगर प्रमुखमा विजयी हुनुभएको हो । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित चौधरीले यस पटक अत्यधिक मतले विजयी हुनुभएको हो । उक्त निर्वाचनमा पहिलो बनेको एमाले अहिले तेश्रो स्थानमा झरेको छ । लमही नगरपालिकामा नेकपा एमालेका उम्मेदवार दण्डीराम चौधरीले पाँच हजार ५०३ मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुखमा कांग्रेसकी लक्ष्मी योगी आठ हजार ७३७ मत ल्याएर विजयी हुनुभएको छ ।  निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले पाँच हजार ८४८ प्राप्त गर्नुभयो भने एमाले उम्मेदवार सुशीला शर्माले पाँच हजार ३१२ मत प्राप्त गर्नुभयो । लमही नगरपालिकामा  नौ वडा मध्ये आठ वडा कांग्रेसले जितेको छ भने एउटा वडामा वडाअध्यक्ष मात्रै माओवादी केन्द्रले जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा लमहीको मेयरमा नेकपा एमाले जितेको थियो भने उपमेयरमा नेपाली कांग्रेसले जितेको थियो ।