• २४ पुस २०८१, बुधबार

शारीरिक सुगठनमा जमेका रुजेश

blog

काठमाडौँ, मङ्सिर १२ गते । ‘‘सुगठित शरीर बनाउन त्यति सजिलो कहाँ छ र । त्यसमाथि विश्व च्याम्पियनसिपमा पदक जित्नु सहज पक्कै होइन ।’’ हालै माल्दिभ्समा सम्पन्न १५औँ विश्व बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिपमा रजत जितेर फर्किएपछि रुजेश शाहीको भनाइ हो यो । 

‘‘शारीरिक सुगठन (बडी बिल्डिङ)का खेलाडीलाई झट्ट देखेर लोभिने धेरै हुन्छन् । तर, शरीर बनाउनको दु:ख बयान गरी साध्य छैन,’’ रुजेशले भन्नुभयो । रुजेशले सानैमा पारिवारिक माहोलका कारण शारीरिक  सुगठन खेल्न सुरु गर्नुभएको हो । काठमाडौँको व्यस्त स्थान कोहिटीमा जन्मिनुभएका रुजेशको परिवारमा शारीरिक सुगठनको माहोल थियो । बुबा ज्ञानरत्न शाही आफैँ शारीरिक सुगठनका राम्रा खेलाडी भएकोले रुजेशलाई सानैदेखि जिम जान प्रोत्साहन मिल्यो । 

बुबाकै प्रेरणाले १५ वर्षदेखि शारीरिक सुगठन खेल्दै आउनुभएका रुजेश यस खेलको उत्कृष्ट प्रशिक्षकसमेत हुनुहुन्छ । माल्दिभ्समा नोभेम्बर ५ देखि ११ तारिखसम्म भएको विश्व च्याम्पियनसिपमा ६० केजी तौल समूहमा रजत जितेपछि रुजेशकाे चर्चा थप चुलिएको छ ।


विश्व च्याम्पियनसिपमा रजत विजेता रुजेश शाहीसहित प्रज्वलमान शाक्य र रजनी श्रेष्ठ । 

‘‘यस खेलमा लाग्नु भनेको स्वस्थ र सुगठित शरीर बनाउनु मात्र होइन । यसबाट देशले ठूला पदक पनि ल्याउन सक्छ । तर यस खेललाई बुझ्न सरकार र सम्बन्धित निकायले त्यति चासो राखेको जस्लो लाग्दैन,’’ रुजेशले भन्नुभयो । 

रुजेशका अनुसार कुनै पनि ठूला प्रतियोगिताको तयारी गर्दा यस खेलमा ठूलो पैसा लगानी हुन्छ । एउटा खेलाडीलाई १० देखि १५ लाख रुपियाँ ‘डाइट’ खानै लाग्छ । पैसा नहुनेले कसरी ठूलो प्रतियोगिता खेल्न सक्छ र ? उहाँले प्रश्न गर्नुभयो । उहाँले विश्वकप तयारीका लागि आफूले दैनिक ३ वटा अन्डा र एक किलो मासु खाको पनि बताउनुभयो ।

                                                   प्रधानमन्त्री केपी शर्मा ओलीसँग पदक विजेता खेलाडी । 

पछिल्लो समय शारीरिक सुगठनमा धेरै खेलाडीको आगमन भएपनि आफ्नै पैसाले तयारी र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने बाध्यता रहेकोले खेलाडीमा निराशा छाएको रुजेशको भनाइ छ । 

१० वर्षअघि ५५ केजी तौलमा धर्मश्री च्याम्पियन भएपछि रुजेशलाई शारीरिक सुगठनको विश्व च्याम्पियनसिप लगायत ठूला प्रतियोगिता खेल्न साथीभाइले सुझाव दिए । साथीभाइको सुझावमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको उहाँको विश्वकपमा यो चौथो सहभागिता हो । यसअघि पनि उहाँले पदक जित्नुभएको थियो । 


छोरीसँग रुजेश शाही । 

‘‘रजत त विगतमा पनि आएको हो । यसपटक स्वर्ण नै जित्छु जस्तो लागेको थियो ।व्यक्तिगत खेलमा अन्तिममा साना देशलाई हेपेको जस्तो पनि महसुस हुन्छ । जे होस्, मिहेनतको प्रतिफल आएकै छ । योभन्दा राम्रो गर्न सरकारबाट पनि शारीरिक सुगठनका खेलाडीलाई सहयोगको खाँचो छ । कुनै पनि खेलको खेलाडीले राम्रो गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा खेल सामग्रीसहितको जिम हल निर्माण गर्न आवश्यक छ,’’ ४८ वर्षीय रुजेशले भन्नुभयो । 

रुजेशले शारीरिक सुगठन खेलसँगै यस खेलका खेलाडी र अन्य खेलका खेलाडीलाई पनि ‘फिजिकल फिटनेस’ प्रशिक्षण दिँदै आउनुभएको छ । आफैं डिवाइन फिजिकल फिटनेस सेन्टर सञ्चालन गर्दै आउनुभएका उहाँले पेरिस ओलम्पिक अघि नेपालकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई प्रशिक्षण दिनुभएको थियो । 

रुजेशसँगै १५औँ विश्व च्याम्पियनसिपमा प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गर्नुभएको थियो । नेपालमा शारीरिक सुगठन र यस खेलमा खेलाडीले पाएको सफलताको विषयमा गोरखापत्र आनलाइनका लागि मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री