उत्तर आधुनिककालीन स्रष्टा बिपी कोइराला नेपाली आख्यानको इतिहासमा नवीन र ऐतिहासिक विशिष्टता कायम गर्ने मनोवैज्ञानिक यथार्थवादका प्रवर्तक हुन् । मनोवैज्ञानिक आख्यानका क्रममा कोइरालाका केही कथा तथा उपन्यासमा मधेशको मैथिली भाषा, वेशभूषा, संस्कृति, संस्कार, परम्परा, जनजीवन, वस्तुस्थिति र सांस्कृतिक परिवेशको प्रधानता छ । अन्धविश्वास, कर्मकाण्ड र मूर्तिपूजा विरोधीका रूपमा प्रस्तुत हुने कोइरालालाई साहित्यमा पहिले मनोवैज्ञानिक रोचकता पैदा भई फ्रायडबाट आकर्षित हुँदै साहित्यिक जीवनको बिहानीमा ठुलो प्रभाव पारेको देखिन्छ ।
पुरुषप्रधान समाजमा नारीको जटिलता त्यसबाट मुक्तिको आकाङ्क्षा कोइरालाका कथाको ध्येय पाइन्छ । बालविवाह र अनमेल विवाहका कारण समाजले भोग्नु परेको विकराल स्थितिबाट छुट्कारा पाउनुपर्ने आकाङ्क्षा प्रस्तुत छ । उनका आख्यानमा निम्न, मध्यम र उच्चवर्गीय पात्रमा देखिएको विषमतालाई हटाई समतामूलक समाजको परिकल्पना छ । उमेर र समय अनुसार प्राप्त हुनुपर्ने व्यक्तिका आकाङ्क्षालाई दमित गर्नुहुँदैन भन्ने मान्यता उनको ‘दोषी चस्मा’ (२००६) र ‘श्वेतभैरवी’ (२०३९) कथा सङ्ग्रहमा मुखरित छ ।
कोइरालाका ‘दोषी चस्मा’ कथासङ्ग्रह अन्तर्गतको पुस्तक तथा ‘मधेशतिर’ र ‘श्वेतभैरवी’ कथासङ्ग्रहको ‘श्वेतभैरवी’ र ‘सान्नानी’ कथामा मधेशीको मनोविज्ञानलाई स्थान दिइएको छ । कथामा मधेशका ग्रामीण जनजीवनको मृदुल स्वभाव, सेवाभाव, परिवेश, अशिक्षासँगै कोशी नदीको बाढीले हुने जनधनको क्षतिमा सहयोग र सहानुभूतिका लागि कथाकार स्वयम् बाढीपीडितको घरमा बास लिन्छन् । कथाकार कोइरालाले समाजमा व्याप्त अशिक्षा उजागर गर्दै किसानले दमका रोगले मृत्यु भएको छोराद्वारा राखिएको डाबर औषधीको विज्ञापनको पुरानो कागजको टुकडालाई समावेश गरेका छन् ।
त्यस्तै कथामा बाढीको रौद्र रूप र बाढीले किसानको खेत मात्रै होइन चौपायासमेत बगाउने गरेको किसानको पीडा व्यक्त छ । ग्रामीण बस्तीको सरल स्वभाव, सेवाभावको चित्रण गर्दै किसानले कथाकारप्रति कृतज्ञता प्रकट स्वरूप भनेका वाक्य “मैले त केही गर्न सकिन, बाढीले चौपाया बगाएर लगिसक्यो, दुध र दही केही पनि छैन” ले तराई मधेशको आतिथ्य संस्कारको परम्पराको बोध गराएको देखिन्छ । कथामा मच्छरको बिगबिगी, कालाजार, मलेरिया जस्ता रोगको भयावह अवस्थालाई पनि दर्शाइएको छ ।
मधेशतिर कथामा दारुण्य र यौन वितृष्णाका कारण उत्पन्न मनोभाव व्यक्त छ । कथामा घरवारविहीन कुल्ली, मगन्ते भोकले छटपटिएर रोजगारी पाउने आकाङ्क्षा बोकी मधेश झर्ने गर्छन्, त्यही हुलमा एउटी विधवा पनि नयाँ घरजम गरी श्रीमान्, घरबार, बालबालिकाको जन्म र अर्थोपार्जनको आकाङ्क्षा राखी मधेश झर्दै गरेकोे मनोविज्ञान प्रकट छ । विभिन्न स्थानबाट पाँच जना एउटै लक्ष्य लिई एउटै स्थानमा भेट्नु र भोक र बेरोजगारीबाट राहत पाउन मधेशलाई गन्तव्य बनाउनुलाई प्रतीकात्मक रूपमा रोजगार र अन्नजलको आशाको केन्द्रतर्फ सङ्केत गरिएको छ । भोक र अभावग्रस्त कुल्ली मधेशको परिवेशले रोमाञ्चित भई मधेशको खेतखलिहानले रोजगारी, खेती गरी जिउन सकिने रोजगारीमूलक सभ्यताको आख्यान पाइन्छ । घरबारविहीन, अन्नको अभावमा पहाडबाट मधेश झर्नु बाध्यात्मक अवस्था रहेको छ । यसले राष्ट्रको गरिबी, बेरोजगारी र अशिक्षाको झल्को पनि दिन्छ । मधेश झरेपछि रोजगारी प्राप्त हुने, गरिबीबाट त्राण पाउने आशालाई कथाकारले मधेशतिर कथामा चित्रण गरेका छन् । यस कथामा विधवा महिलाको विवाह गर्ने सपना मात्र नभएर पहाडी भूभागमा खान नपाएको भयावह स्थिति चित्रण पाइन्छ ।
वीपी कोइरालाको ‘श्वेतभैरवी’ रतिरागात्मक कथा हो । यसमा मानवीय यौन अचेतनको खोज र चेतन र बालमनोविज्ञानलाई समेटिएको छ । कथामा म पात्रसँगै मधेशको मैथिली भाषी फगुनी प्रमुख पात्र छन् । म पात्रका नोकर लेलहाको छोरी फगुनीको केवट जातिको संस्कृति अनुसार सानै उमेरमा चुमौन भई गौनाको प्रतीक्षारतको अवस्था छ । फगुनी दमित यौन अचेतन बन्न पुगेकी छन् । यौन अचेतनग्रस्त श्वेतभैरवीरूपी फगुनी म पात्रलाई दुलाहा भन्दै आव्रmमण गर्छिन् । यस प्रकारले फगुनीलाई श्वेतभेरवी स्वरूपमा गलत सामाजिक संस्कारप्रति चुनौती दिइएको छ । कथामा केवट जातिको सांस्कृतिकयुक्त पात्र र परिवेशले तराईको मैथिली संस्कृतिलाई अङ्गीकार गरिएको छ । म र फगुनी पात्रको संवादमार्फत केवट जातिको वैवाहिक संस्कारलाई प्राथमिकता दिइएको पाइन्छ । यस कथाले सामाजिक कुसंस्कार र त्यसको परिणाम देखाएको छ ।
सान्नानी कथामा बालमनोविज्ञानका साथै सांस्कृतिक, प्राकृतिक, वेशभूषा, भाषा, ग्रामीण जीवनको स्वच्छता र मधेशीपनको संयोजन छ । सामान्य नारी मनोविज्ञानको गहिराइमा कथामा वनारसदेखि दीप नगरसम्मको प्रसङ्ग छ । मैथिली लबजको व्यापकत्व रहेको यो कथामा मनौती, तडका, पछबरिया टोल, पुबरिया टोल, डाइन, ए रे छौडा, ए गे छौडी, मचान, खरिहान, ओरहा जस्ता शब्दको प्रयोगले मधेशको रहनसहन, बोलीवचन र भाषा मनोविज्ञानको चित्रण पाइन्छ । यस कथाले मानिस नीति निर्दिष्ट रहेको कुरालाई प्रमाणित गरिएको छ ।
यसका अतिरिक्त कोइरालाका कथा र उपन्यासका पात्रले मुनरिया, नरेन्द्र, दिवानजी, नजरिया मुसलमान, जमुनिया, बतहिया चमाइन, किसानले मधेशको प्रतिनिधित्व गरेको छ । व्यक्तिवाचक नामलाई अपभ्रंश गरी प्रयोग गरिने मधेशपनलाई पनि कोइरालाले दर्शाएका छन् । कोइरालाका उपन्यासमध्ये ‘नरेन्द्र दाई’ तराईको ग्रामीण समाज, जमिनदार र ‘मोदिआइन’ मा महाभारतकालीन प्रसङ्गलाई आधारभूमि बनाएका छन् । कोइरालाका उपन्यासहरू ‘नरेन्द्रदाइ’, ‘बाबु आमा र छोरा’, ‘तीनघुम्ती’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’ र ‘मोदिआइन’ मध्ये ‘नरेन्द्रदाई’ तराई मधेश परिवेशप्रधान उपन्यास रहेको छ । ग्रामीण परिवेश, जमिनदारको मनोदशाका पात्रको संयोजन यसमा पाइन्छ । मुख्य पात्र नरेन्द्र हठी मनोदशा भएका जमिनदारका रूपमा छन् । नरेन्द्रले ग्रामीण क्षेत्रमा पनि आधुनिकतालाई अँगालेका छन् । नरेन्द्रकी श्रीमती गौरी ग्रामीण परिवेशमा हुर्केकी कारण राम्री भए पनि नरेन्द्रलाई आकर्षण गर्न नसकी जीवनभर उपेक्षित पात्र बन्न पु््गेकी छन् । उन्यासमा गौरी र मुनरियालाई मधेशी धानुक, कुर्मी समाजका नारी पात्रका रूपमा प्रतिनिधित्व गराइएको छ ।
कोइरालाले मुनरियालाई स्वअस्तित्वका लागि सचेत नारी पात्रका रूपमा चित्रण गरेका छन् । नरेन्द्र श्रीमती गौरीप्रति आकर्षित नभई नोकर्नी मुनरियाप्रति आकर्षित छन् । मुनरिया विवाहित, गौनाका लागि प्रतीक्षारत छन् । अशिक्षित भए पनि अन्तर्मुखी ज्ञानयुक्त भएका कारण जमिनदार नरेन्द्रको प्रेयसी बन्न पुगेकी छन् । मुनरिया दृढ चरित्र भएकी कारण नरेन्द्रलाई प्राप्त गरी सन्तुष्ट नभई स्वअस्तित्वका लागि सचेत हुन्छिन् । उपन्यासमा गाछ तर, दाँती लागब, कर्चिके टाट, खर जस्ता मैथिली शब्द प्रयोग गरिएको पाइन्छ ।
‘नरेन्द्रदाइ’ उपन्यासमा मधेशको स्थानीय चाडपर्वलाई सांस्कृतिक पक्षका रूपमा उल्लेख गरिएको छ । उपन्यासका बालपात्र सान्नानी नजरीया मुसलमानकी श्रीमतीसँग गरेको संवाद “हेगे ओ ताजिया लेल छौ की ? (त्यो ताजियाका लागि होइन ?), कहिया हैतौक एहिबेर हासेन हुसेन ? (यस पटक हासेन हुसेन कहिले हुन्छ ?) ले सांस्कृतिक पक्षलाई समेटेको छ । चैत हे सखी फूलल बेली, करत मधु गुजार हो, भँवरा करत गुजार हो जस्ता चैती गीत आञ्चलिकताको दृष्टान्त बन्न पुगेको छ । कोइरालाले बाह्रमासा अन्तर्गत चैती गीतलाई अभिव्यक्त गरी यसको बैभव र ऐश्वर्यलाई दर्शाएको पाइन्छ ।
कोइरालाको लघु उपन्यास ‘मोदिआइन’ संस्मरणात्मक शैलीमा लेखिएको उत्कृष्ट रचना हो । महाभारतकालीन घटनालाई मिथकीय आधारमा लेखिएको ‘मोदिआइन’ मा विहारको दरभङ्गा क्षेत्रको परिवेशलाई केन्द्रविन्दुमा राखी स्थानीय हडाही पोखरीलाई महाभारतकालीन कथासँग जोडिएको छ । मानवीय मूल्यको प्राणप्रतिष्ठाको पक्षमा उभिएको यो उपन्यासमा कोइरालाको धार्मिक धारणा, राजनीतिक विश्वास, सामाजिक मान्यता, पारिवारिक जीवन, मुलुक र त्यसका बासिन्दा सबै नागरिकप्रतिको धारणा छ । मिसिरजी भन्ने एक जना पाको मान्छेसँग एउटा उत्सुक केटो (म) दरभङ्गा पुग्छ, दरभङ्गामा मोदिआइनको घरपसलमा बास बस्छन्, पसलनिर कञ्चन पानी भएको निकै डरलाग्दो हडाही पोखरी छ, राति सुत्नेबेलामा बालक (म) तर्सिएर डराएकाले मोदिआइन कथा उसलाई सुनाउँछे, कथा सुन्दासुन्दै बालक (म) निदाउँछ, बिहानीपख सबेरै बालकलाई उठाएर मिसिरजी भोलिपल्टै फेरि विराटनगर नै फर्कन्छन् । विराटनगरमा केटालाई साथीहरूले दरभङ्गामा के देखिस् ? भनेर सोध्दा बालक मोदिआइन देखे भन्ने सहज जवाफ दिन्छ, अरू सुन्नेले मोदिआइनको गम्भीरता नबुझीकनै केही हलुको ठट्टा सम्झेर हाँस्छन्, कथावस्तु यत्तिकै टुङ्गिन्छ ।
(म) बालकै छ भन्ने कुरामा पनि उसले दरभङ्गा जान गरेको हठ बाटामा मिसिरजीको सहारा खोजेको, बाबु, बबुआ, नानी जस्ता शब्दले स्नेहपूर्ण रूपमा (म) सम्बोधित भएको, मोदिआइनले भान्सा गराउँदा केटाकेटीले ठुलालाई पर्खनु पर्दैन भनेको, ए, बी, सी, डी पढ््दै गरेको आदि कुराबाट र एक्लै सुत्दा तर्सने एवं कथा सुनेर आनन्द मानी निदाउने बानीले पनि (म) को बाल्यजीवनको प्रकृति स्पष्ट गर्दछ । कुरुक्षेत्र युद्धमा मारिएका पतिको खोजमा लाखौँ नारीको प्रेतात्मा आफ्नो अनन्तको वैधव्यको व्यथामा सधैँ भुवनमा भौँतारिरहेकी छन् । महाभारतकालीन एउटी पतिवियोगी विधवा युगौँदेखि आफ्नो पति लडेको स्थल अर्थात् हडाही पोखरीको किनारमा बस्छिन्, सधैँ बसिनै रहने उद्गार पाइन्छ । यसमा मोदिआइन, मछुवारिन र नारी तीन युग, तीन प्रसङ्गलाई नारीहरूको समान पीडामय व्यथासँग एकाकार गरिएको छ, जहाँ मानवता युगौँदेखि छटपटाइरहेको घाइते छ ।
कोइराला मधेशी धरातलीय परिवेशमा हुर्केका कारण तत्कालीन समाजको सोच, चिन्तन, आर्थिक र यौनिक शोषण उनको कृतिको मनोविज्ञान बन्न पुगेको छ । कोइरालाका साहित्यिक सहायक भारतीय साहित्यकार फणिश्वरनाथ रेणुको भूमिकालाई पनि परिवेश बोधको सारथीका रूपमा लिन सकिन्छ । रेणुकै अनुवादमा हिन्दीस्तरीय पत्रपत्रिकामा कोइरालाका कथा प्रकाशित भएको कुरा कोइरालाले नेपाली क्रान्ति–कथाको भूमिकामा उल्लेख गरेका छन् । सन् १९३५ देखि ३० दिसम्बर १९७६ सम्म कोइराला र रेणुबिच सम्पर्क र सद्भाव कायम रहेको र विराटनगरबाट भारत गएपछि रेणुले ‘मैला आँचल’ नामक उपन्यास लेखन गरी गोदानका लेखक प्रेमचन्दको हाराहारीमा स्थापित भएको तथ्य पाइन्छ । कोइरालाको साहित्यमा आफ्नो परिवेशप्रतिको साकाङ्क्षी र अनवरत सम्पर्कको जुन चित्र पाइन्छ त्यो कालको दस्ताबेज हो । मूलतः उपन्यास, कथा, कविता, जीवनी लेखकका रूपमा नेपाली वाङ्मयका विशिष्ट र विलक्षण स्रष्टा कोइरालाको कृतिमा मधेशको माटो र मुटु दुवै पाइन्छ । जसमा उनले उदार र संवेदनशील, व्यक्ति मनको चिरफार र व्यक्तिको मनोलोकको विचरणका साथै आफ्ना वैयक्तिक धारणालाई पात्रका माध्यमले कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।