• १७ असार २०८१, सोमबार

गठबन्धन अघिअघि, एमाले पछिपछि

blog

सिमकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित पदाधिकारी । तस्बिर : राजन रावत

सुर्खेत, जेठ ४ गते । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम धमाधम आइरहेको छ । कर्णालीका कतिपय पालिकाको नतिजा टुङ्गो लागिसकेको छ भने कतिपय ठाउँमा मतगणना जारी छ । मङ्गलबारसम्मको नतिजामा धेरैजसो पालिकामा काँग्रेसका प्रतिनिधिले विजय प्राप्त गरेका छन् । समग्रमा गठबन्धनका उम्मेदवारले विजयमा अग्रता लिएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछ्याउँदै गइरहेको देखिन्छ ।

हुुम्लामा गठबन्धन विजयी

हुम्ला समाचारदाताका अनुसार मङ्गलबार बिहानसम्मको मतगणना परिणामअनुुसार हुुम्लाका दुुईवटा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका उम्मेदवारले जितेका हुन् । मुख्य निर्वाचिन अधिकृत जगतबहादुर पौडेलले सिमकोट गाउँपालिकामा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका विजय भण्डारी र उपाध्यक्षमा नेपाली काँग्रेसकी सुशीला भाम रोकाया निर्वाचित भएको बताउनुभयो ।

भण्डारीले दुई हजार ८८२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकतटम प्रतिस्पर्धी नेकपा एमालेका अविराम शाहीले एक हजार ९६९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्ष पदमा रोकायाले दुई हजार ४७४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी प्रतिमा लामाले एक हजार ४५७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सिमकोट गाउँपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमलबहादुुर बुुढा विजयी हुनुभएको छ । आठवटा वडा रहेको सिमकोट गाउँपालिकामा वडा नम्बर १, २, ४ र ७ मा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ भने वडा नम्बर ३, ६ र ८ मा नेकपा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ  । त्यस्तै वडा नम्बर ५ मा नेकपा एमालेले विजय प्राप्त गरेको छ ।

त्यसैगरी नाम्खा गाउँपालिकाका सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपानेले अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम लामा र उपाध्यक्षमा नेपाली काँग्रेसका तकदिर लामा निर्वाचित भएको जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष पदमा निर्वाचित लामाले एक हजार ४६६ मत ल्याएर विजयी हुनुभएको छ । उपाध्यक्ष तकदिर लामाले एक हजार ९४ मत ल्याई विजयी हुनुभएको छ ।

नाम्खामा तीन हजार १८२ मत रहेकामा दुई हजार ३७१ मत खसेको थियो । नाम्खा गाउँपालिका सहायक निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर २ बाट सुनाम क्याप लामाले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएको छ । नाम्खा गाउँपालिका–६ को लिमीबाट भने यसअघि नै पाल्जोर तामाङ स्वतन्त्रबाट निर्वाचित भइसक्नुभएको छ ।

पुनः मतदान बुुधबार

यसबीच हुम्लाकै चङ्खेली गाउँपालिका–२ का महादेव मावि मतदान केन्द्रको मतदान बुुधबार हुने भएको छ । चङ्खेली गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जेठ ४ गतेका लागि रद्द भएका केन्द्रको पुनः मतदान मिति तोकेको हो । 

मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले उक्त मतदान केन्द्रको मतदान बुधबार हुने बताउनुुभयो । गत वैशाख ३० गते सम्पन्न मतदानमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको भन्ने उजुरीका आधारमा आयोगले उक्त मतदान केन्द्रको मतदान रद्द गरेको थियो । सो मतदान केन्द्रमा ९०३ मतदाता रहेकोमा ३९० मत मात्र खसेका थिए । 

गोलाप्रथाद्वारा सदस्य चयन

यसैबीच यहाँको चङ्खेली गाउँपालिका–५ मा महिला सदस्य गोलाप्रथाबाट चयन गरिएको छ । नेकपा एमालेका बेलसरा तामाङ र काँग्रेसकी गोरीकला तामाङले ८५÷८५ मत ल्याएपछि गोलाप्रथाबाट विजेताको टुङ्गो लगाइएको हो । गोलाप्रथाबाट नेकपा एमालेकी बेलसरा तामाङ विजयी हुनुभएको छ । निर्वाचन अधिकृत यामकुमार ढकालले उहाँहरू दुवै जनाको उपस्थितिमा गोलाप्रथाबाट बेलसरा तामाङ निर्वाचित भएको बताउनुभयो । डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा कुल १९६ मतदाता रहेकामा २६ मत बदर भएका थिए ।

दैलेख समाचारदाताका अनुसार दैलेखमा रहेका ११ पालिकामध्ये मङ्गलबार बिहानसम्म नौवटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सोमबार छवटा र मङ्गलबार थप तीन पालिकाको मत परिणाम सार्वजनिक भएको हो । 

सार्वजनिक मत परिणामअनुसार नेपाली काँग्रेसले चार पालिका, नेकपा एमालेले तीन पालिका र नेकपा माओवादी केन्द्रले दुईवटा पालिकामा विजय प्राप्त गरेका छन् ।

मङ्गलबार सार्वजनिक भएको मत परिणामअनुसार नारायण नगरपालिकाको नगरप्रमुखमा एमालेका लोमन शर्मा, उपप्रमुखमा एमालेकै तप्ताकुमारी थापा, ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रक्षबहादुर शाही र उपाध्यक्षमा एमालेका देवीराम बडुवाल, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका गणेशबहादुर शाही र उपप्रमुखमा नेपाली काँग्रेसकै मनीषा शर्मा विजयी हुनुभएको छ । नारायण नगरपालिकाको नगरप्रमुखमा एमालेका लोमन शर्माले पाँच हजार ४३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी निर्मला थापा खड्काले पाँच हजार ३५७ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेकपा एमालेकी तप्ताकुमारी थापा विजयी हुनुभएको छ । उहाँले पाँच हजार ६७३ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका तर्फबाट उपप्रमुखको उम्मेदवार हुनुभएकी निवर्तमान उपप्रमुख सावित्री मल्लले तीन हजार ८३८ मत प्राप्त गरी उपविजेता बन्नुभएको छ । ११ वटा वडा रहेको नारायण नगरपालिकामा नेकपा एमालेले छवटा वडा जितेको छ भने नेपाली काँग्रेस चारवटा वडामा विजयी भएको छ ।

त्यस्तै दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रक्षबहादुर शाह विजयी हुनुभएको छ । उहाँ दुई हजार ५७१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँग्रेसका रक्षबहादुर शाहले एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गर्नुभएको छ । एमालेकी शाहले दुई हजार २७९ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा पराजित एमालेकी शाह जिल्ला समन्वय समितिका निवर्तमान उपप्रमुख हुनुहुन्छ ।

यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसले प्रमुख र उपप्रमुख जितेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले जितेको यो नगरपालिकामा अहिले काँग्रेस विजयी भएको हो । प्रमुखमा नेपाली काँग्रेसका गणेशकुमार शाही चार हजार ७० मतसहित निर्वाचित हुनुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसकी मनसराकुमारी शर्मा चार हजार ३८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

सान्नीत्रिवेणीमा स्वतन्त्र विजयी

कालीकोट समाचारदाताका अनुसार कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । सान्नीत्रिवेणीमा स्वतन्त्र उम्मेदवार मोहन केसीले माओवादी केन्द्रका उम्मेदवार डम्बर शाहीलाई ४९७ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । केसीले एक हजार ८२२ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी डम्बर शाहीले एक हजार ३२५ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा नेकपा एमालेका पार्वती सिंह विजयी हुनुभएको छ । 

यसैगरी शुभकालिका गाउँपालिकामा गठबन्धन विजयी भएको छ । नेकपा माओवादी केन्द्रका गोविन्द आचार्य अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका धर्मा शाही विजयी हुनुभएको छ । शुभकालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच गठबन्धन भएको थियो । 

शारदामा काँंग्रेस

सल्यान समाचारदाताका अनुसार शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांँग्रेस विजयी भएको छ । प्रमुखमा काँग्रेसका प्रकाश भण्डारी र उपप्रमुखमा सुस्मिता सापकोटा विजयी हुनुभएको हो । भण्डारीले छ हजार २१७ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार मनोजकुमार प्रधानले चार हजार ९३७ मत ल्याउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार उपप्रमुख सुस्मिता सापकोटाले पाँच हजार ३८० मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार रमेशकुमार गौतमले चार हजार ५९५ मत ल्याउनुभएको छ । 

यस्तै कपुरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । गठबन्धनबाट एकीकृत समाजवादीका दुर्गाबहादुर पुनले तीन हजार १६० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ भने माओवादी केन्द्रका प्रकाश भण्डारीले तीन हजार २४० मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको छ  ।

मतपरिणाम धमाधम 

जाजरकोट समाचारदाताका अनुसार जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई एक हजार ९७३ मतले पराजित गर्दै रावत निर्वाचित हुनुभएको हो ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी सुरिता सिंहले पाँच हजार ४०६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहराले तीन हजार ३९३ मत प्राप्त गर्नुभएको छ । नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले चुनावी तालमेल गरेका थिए ।

शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गीताकुमारी शाही निर्वाचित हुनुभएको छ । मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका शाहीले तीन हजार ३०३ मत ल्याई विजयी हुनुभएको छ भने उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले दुई हजार ६५९ मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार हरिचन्द्र बस्नेत निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीका तप्तबहादुर हमाललाई पराजित गर्दै बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । 

यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकै देविका सिंह विजयी हुनुभएको छ । सिंहले तीन हजार ५८७ मत प्राप्त गर्दा  प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका विकास रोकायले दुई हजार ९१८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष सिंहले यसअघि वडा अध्यक्षको अनुभव लिइसक्नुभएको छ । जुनीचाँदे गाउँपालिकामा नेकपा एमालेका वेदबहादुर शाही अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका वीरेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ ।

चिङ्गाडमा एमाले 

छिन्चु समाचारदाताका अनुसार सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । मतदान अधिकृतको कार्यालयले गरेको घोषणाअनुसार एमालेका बोधविक्रम जिसीले ५९१ मत प्राप्त गरी नेपाली काँग्रेसका डोरप्रसाद शर्मालाई पराजित गर्नुभएको हो । शर्माले तीन हजार ५५० मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले कांँग्रेसकी मनमाया आचार्यलाई पराजित गरी विजयी हुनुभएको छ । छवटा वडा रहेको यस पालिकाको वडा नं. १, ४ र ५ मा एमाले र काँग्रेसले वडा नं. २, ३ र ६ मा जित हात पारेका छन् ।

Author

कर्णाली प्रदेश ब्युरो