• ७ पुस २०८१, आइतबार

व्यायामले पनि हुन सक्छ हृदयाघात

blog

‘कायदे में रहोगे तो फायदे मे रहोगे’ हिन्दी भाषाको यो भनाइ जीवनको जुनसुकै क्षेत्रमा लागू हुन्छ । सबैखाले खेलकुद, त्यसमा पनि ‘मसल्स बिल्डिङ’ खेलमा हृदयाघातबाट हुने मृत्यु एउटा अध्ययनको विषय हुन सक्छ । आधुनिक चिकित्साविज्ञान होस् वा श्रुति–स्मृति, वैद्यक–सिद्धान्तमा स्वस्थ्यताका लागि व्यायाम महत्वलाई उच्च स्थान दिइएको छ । 

लाघवं कर्मसामथ्र्य दीप्तोऽग्निर्मेदसः क्षयः । विभक्तघनगात्रत्वं व्यायामदुपजायते ।। (अ.हृ.स.२ । १०)

वयोबलशरीराणि देशकालाशनानि च ।। समीक्ष्य कुर्याद् व्यायाममन्यथा रोगमाप्नुयात् । (सु. चि. २४ । ४८–४९)

अर्थात् शरीर स्वस्थ राख्न, कामका लागि सामथ्र्यवान् हुन, पाचनक्रिया तथा जठराग्नि ठीक राख्न, शरीरलाई सुगठित, सुदृढ र सुडौल बनाउने दृष्टिले आफ्नो आयु, बल, देश र काल अनुरूप नियमित तवरमा योगासन र व्यायाम गर्नुपर्छ । यसो गर्नाले व्यक्ति सामान्यतः बिरामी नै हुँदैन र उसलाई औषधोपचार आवश्यक पनि पर्दैन । 

यस वैद्यक–सिद्धान्तलाई आधुनिक चिकित्सविज्ञानले पनि समर्थन गर्छ तर अचेल जिमखानामा व्यायाम गर्नाले अनाहकमा हृदयाघातले मर्ला भन्ने अर्ती दिने गर्छन् बुझक्कडहरू । कुनै एथलिट वा खेलाडीको केही कारणले मृत्यु भएको घटनालाई लिएर व्यायाम गरे हृदयाघातले मृत्यु हुन्छ भन्ने हो भने हवाई, सडक वा जल यात्रामा र अझ बाटोमा हिँड्दा पनि त दुर्घटनामा मृत्यु हुन्छ भन्न सकिन्छ । सन् १९७६ र १९८१ मा गरी दुई पटक मिस्टर ओलम्पिया विजेता, सन् १९७७ को वल्र्ड स्ट्रङ्गेस्टम्यानमा पाँचौँ स्थान विजेता, आयर्नोल्डको ‘ट्रेनिङ पार्टनर’ फ्राँएको कोलुम्बु समुद्रमा पौडी खेल्दा डुबे । उद्धार गरेर ल्याउँदा उनको अवस्था झनै बिग्रियो र  हेलिकोप्टरबाट अस्पताल लैजाने क्रममा मृत्यु भयो । यस घटनालाई के हामी पौडन नजाउ, डुबेर मरिन्छ भनेर बुझ्ने ? जसरी दुर्घटना, शल्यक्रिया वा तरणतालमा पौडनाले जीवन खती हुनाका अनेक कारण हुन्छन् त्यस्तै व्यायामकर्ताको व्यायाम गर्दागर्दै वा अन्य बेला हुने मृत्युका पनि विभिन्न कारण हुन सक्छन् । 

केही दिन अगाडि एक जना शारीरिक सुगठक खेलाडी प्रकाश राईको एक शारीरिक सुगठन प्रतियोगितामा ‘ओभरअल टाइटल’ जितेको केही दिनमै भएको निधनमा ‘कार्डियाक आरेस्ट’ अर्थात् बोलिचालीमा हृदयाघातबाट मृत्यु भएको भनियो । उनको अवसानले नेपालमा अझ विशेष गरी नेपालको शारीरिक सुगठन खेल क्षेत्रमा एकखाले तरङ्ग नै ल्यायो । विभिन्न कोणबाट टीकाटिप्पणीसमेत गरिए । आआफ्नो समझ अनुसार प्रतिक्रिया जनाइयो । 

अटोप्सी रिपोर्ट सार्वजनिक नभएको अवस्थामा आफूखुसी मृत्युको कारण ठोकुवा गर्नु अनुपयुक्त नै हुन्छ । तसर्थ यहाँ हामी व्यायामकर्तामा व्यायाम गर्दागर्दैको अवस्थामा वा अन्य बेला हुने हृदयाघात वा अन्य स्वास्थ्य समस्या हुनाको कारण बारेमा केही छलफल गरौँ ।

अर्ल नाइटिङ्गलले भनेका थिए, “वाकिङ इज दि बेस्ट एक्सरसाइज ।” । त्यस्तै मिल्दोजुल्दो “दि बेस्ट वे टु गेट स्टार्टेड इज टु क्विट टकिङ एन्ड बिगिन वाकिङ ।” वाल्ट डिस्नीको भनाइ थियो । आधुनिक चिकित्साशास्त्रले यी भनाइको खण्डन गर्दैन । बरु ‘फिजिकली इनएक्टिभिटी लिड्स यु टुवार्डस् प्रिम्याच्युर डेथ ।’ भन्छ र व्यायाम गर्न सुझाउँछ  । 

तसर्थ व्यायाम भनेको शारीरिक सौष्ठव गजबको बनाउन व्यायामशालामा गरिने ‘प्रोग्रेसिभ रेसिस्ट्यान्स एक्सरसाइज’ मात्र नभई ‘स्केलिटल मसल्स’ प्रयोग गरी गरिने जुनसुकै खाले शारीरिक परिश्रम शारीरिक व्यायाम हुन् । जस अन्तर्गत मांसपेशी लम्बिन्छ–छोटिन्छ र त्यस अवस्थामा श्वासप्रश्वासको गति बढ्छ र मुटुले रगतलाई साधारण अवस्थामा भन्दा बढी छिटो रगत पम्प गर्नुपर्ने हुन्छ । 

तसर्थ व्यायाम र हृदयाघातलाई केलाउनुपूर्व शरीर रचना (एनाटोमी) र स्वास्थ्यविज्ञान (फिजियोलोजी) बारे केही बुझ्नुपर्ने हुन्छ । यसमा कोषिका, तन्तु र अङ्गहरू जस्ता शरीरका संरचनाको अध्ययन गरिन्छ । शारीरिक संरचनाको कार्य अध्ययन फिजियोलोजीमा पर्दछ ।

बालक, किशोर, वयस्क महिला वा पुरुष र उनीहरूको शारीरिक आकार अनुरूप एक व्यक्तिमा २० देखि ४० खर्ब कोषिका हुन्छन् (पुरुषको दाँजोमा महिलामा कम हुन्छ) । सामान्यतया एक वयस्कमा ३७.२ खर्ब कोषिका हुन्छन् । सबै कोषिकाले आन्तरिक तवरमा श्वास फेर्छन् । सबैखाले कोषिकालाई जीवन्त र स्वस्थ रहनका लागि अक्सिजन र पोषण चाहिन्छ । त्यसका लागि दुई किसिमको रक्त सञ्चार प्रणालीले काम गर्दछ । 

पल्मनरी सर्कुलेसन प्रणालीले रगतलाई अक्सिजनयुक्त बनाउँछ भने सिस्टेमिक सर्कुलेसन प्रणालीले उक्त पोषित रगत र पाचन प्रणालीबाट प्राप्त पोषक तìवलाई शरीरको बाँकी भागहरूमा पु¥याउने काम गर्दछ । यस फिजियोलोजिकल प्रक्रियामा उत्पन्न हुने कार्बनडाइअक्साइड र अन्य त्याज्य पदार्थ बोकेको रगतलाई तह लगाउन मुटुले पम्प गरेर फोक्सो र मिर्गौलामा पु¥याउँछ । जहाँ तिनीहरूको बिर्सजन प्रक्रिया सम्पन्न हुन्छ । यस्तो प्रक्रिया मानिसको जन्मदेखि मृत्युसम्म निरन्तर भइरहन्छ । 

जब हामी कुनैखाले व्यायाममा व्यस्त हुन्छौं व्यायामको तीव्रता अनुरूप हाम्रो ‘स्केलिटल मसल्स’ तन्तु पुनर्ताजा त्यति नै बढी गर्नुपर्ने हुन्छ । ‘रेसिस्ट्यान्स’ बढाएर वा ‘रेपिटिसन/सेटस्’ बढाएर वा व्यायाम गर्ने ‘ड्युरेसन/फ्रिक्वेन्सी’ बढाएर व्यायामको तीव्रता वृद्धि गर्न सकिन्छ । जब व्यायामको तीव्रता वृद्धि हुन्छ तब मांसपेशीलाई बढी अक्सिजन चाहिन्छ । माग अनुसार अक्सिजन आपूर्ति गर्न मुटुले बढी मेहनत गर्नुपर्ने हुन्छ । पल्मनरी सर्कुलेसन प्रणाली अनुसार फोक्सोमा तयार अक्सिजनयुक्त रगत शिरामार्फत मुटुमा फर्कन्छ । जसलाई मुटुले सिस्टेमिक सर्कुलेसन प्रणालीबाट धमनीमार्फत छिटोछिटो पम्प गर्नुपर्ने हुन्छ । मुटुको त्यही रगत पम्प गर्ने कार्यमा विभिन्न खालको अवरोध आउँदा हृदयाघात हुन सक्छ । 

करिब एक शताब्दी अगाडि मात्र चर्चामा आएको हृदयाघातको समस्या अहिले आएर शताब्दीकै रोग बनेको छ । अमेरिकामा मात्र ‘कार्डियोभास्कुलार’ रोगले वार्षिक करिब आठ लाख र विश्वमा ९० लाख मानिसको मृत्यु हुने गर्छ । नेपालको कुरा गर्दा वार्षिक हजार जनामा ६.६५ जनाको मृत्यु हृदयाघातले हुने गरेको देखिन्छ । त्यसमध्ये जिमखाना जानेको सङ्ख्या कति होला ? यो अध्ययनको विषय हुन सक्छ ।   

व्यायाम र हृदयाघातका बारेमा क्रमिक अध्ययन भएका छन् । सन् १९३० बाट कतै व्यायाम गर्नाले हृदयाघात त हुँदैन भनी अध्ययन हुन थालेको थियो । सन् १९३९ सेप्टेम्बर १ देखि सन् १९४५ सेप्टेम्बर २ सम्म भएको दोस्रो विश्वयुद्धताका स्वस्थ युवा सैनिकमा  हृदयाघातबारे विस्तृत अध्ययन गरिएको थियो । तिनीहरू कसैमा पहिले नै कुनैखाले हृदय रोग थिएन । २८ वर्षे  एक सैनिकको २७ पल्ट ‘चिनअप’ गरेपछि मृत्यु भयो । उनीमा पनि कुनैखाले हृदय रोग थिएन । 

उनीहरूको त्यस बेलाको शारीरिक अवस्था भन्दा उनीहरूले गरेको  शारीरिक परिश्रम औधी भएको अध्ययनको निष्कर्ष रहेको थियो । सन् १९६५ देखि १९८५ सम्म अमेरिकी वायु सेनामा भर्ना गरिएका १६ लाख छ हजार १६७ युवलाई ४२ दिनसम्म गराइएको आधारभूत तालिमका क्रममा २१ जनाको मृत्यु भएको थियो । मृत्यु भएका अधिकांशमा पहिलेबाटै मायोकार्डाइटिस (मुटु सुन्निने) समस्या रहेको तथा तीमध्ये सात जनामा जन्मजात हाइपरट्रोफिक कार्डियोमायोप्याथी (एनाटोमिकल वा कोरोनरी आर्टरीमा असामान्यता, भल्बमा विकार) पाइयो ।  

त्यस्तै सन् १९७८ मा अकस्मात् मृत्यु भएका दुई हजार ६०६ जना एउटा अध्ययन गरियो । अचानक मृत्यु भएका ती सबैको स्वास्थ्य २४ घण्टा अगाडिसम्म सामान्य थियो । अध्ययन गर्दा मृत्यु भएकामध्ये ७३ प्रतिशतमा कोरोनरी आर्टरी डिजिज र हरेक तेस्रो व्यक्ति शारीरिक वा मानसिक तवरमा तनावग्रस्त रहेको पाइयो । त्यसपछि एउटा धारणा स्थापित भयो, हृदय रोगीलाई व्यायाम घातक हुन सक्छ । 

उदाहरणका लागि प्रथम मिस्टर नेपाल शारीरिक सुगठन प्रतियोगितामा ५८ केजी तौल समूहका स्वर्ण पदक विजेता नीलकण्ठनारायण मानन्धर अस्पतालमा हृदय रोगको उपचार गरेर फर्केको केही दिनपछि छतमा घाम तापिरहेका बेला ट्याङ्कीमा पानी भरिएपछि हतारिएर मोटरपम्प बन्द गरी माथि उक्लने क्रममा हृदयाघात भएर मरेका थिए । उनको मुटुले छिटो तल ओर्लेर माथि उक्लने परिश्रम थेग्न सकेन । साथै उनीमा धूमपानको लत पनि थियो ।

हृदयाघातमा मुख्यतया दुई किसिमबाट मृत्यु हुने गर्छ : हृदयको विद्युतीय चाल अव्यवस्थित भई ‘भेन्टिकुलार फ्याब्रिलेसन’ बाट र शक्तिशाली ‘हर्ट फेलियर’ बाट । केही यस्ता पक्ष छन् जसले हृदयाघात हुन बल पु¥याइरहेको हुन्छ । ती हुन् उच्च रक्तचाप, धूमपान, उच्च टोटल कोलेस्टेरोल आदि । यिनले कोरोनरी आर्टरीमा ‘फ्याटी कोलेस्टेरोल’ जम्मा गराउने तथा रक्त थेक्ला (क्लट) विकसित गराउँछन् । यस्तो सम्भावना भएका व्यक्तिले एक दिन पहिला जुन तीव्रताको व्यायाम गरेको हुन्छ पछि रक्त थेक्ला विकसित भएको अवस्थामा उस्तै तीव्रताको व्यायाम गर्दा रक्त थेक्लाले अवरोध खडा गरेको कोरोनरी आर्टरीबाट रक्त प्रवाह हुन नसकी हृदयाघात हुन्छ ।

त्यस्तै मोडेल बन्नका लागि स्लिम हुने चाहनामा ‘एनोरेक्सिया नेरभोसा’ का कारण आफूलाई स्वयं भोकमरीको अवस्थासम्म पुग्ने गरी एकदम थोरै भोजन ग्रहण गर्ने तथा लामो दूरी दौड्ने, घरको सम्पूर्ण कामकाज लगातार गरिरहने जस्ता व्यक्तिको पनि अचाकन हृदयाघातबाट मृत्यु हुने गर्छ । यसको मुख्य कारण भोकभोकै बसेर शारीरिक परिश्रम बढी गर्दा शरीरबाट आवश्यक खनिज लवण नित्रिनु हो । यसले मुटुलाई चाहिने पोटासियम कम हुन जान्छ । जसको कमीले गर्दा मुटुको चालमा अनियमितता आउँछ अर्थात् घातक ‘कार्डियाक एहर्िथमिया’ बाट हृदयाघात हुन्छ । 

दैनिक कडाखाले व्यायाम गर्नेमा पनि पोटासियम कम हुने समस्या आउँछ । तसर्थ यसतर्फ सतर्क रहनु पर्छ । उपरोक्तबाहेक लामो समयदेखि व्यायाममा सरिक रहेका तर वंशाणुगत हृदयाघातको इतिहास भएकामा पनि हृदयाघात हुने सम्भावना उच्च रहन्छ । 

व्यायामलाई जीवनमा ‘गेम चेन्जर’ का रूपमा लिन सकिन्छ । यथेष्ठ व्यायाम गर्नाले हामीलाई आवश्यक हर्मोन, रसायन ‘इन्डोक्राइन ग्लान्डस्’ मार्फत श्रावित हुन्छन् । काइदाले गरे फाइदा हुन्छ, बेकाइदाले गरे खती हुन्छ । जिमखाना जानेहरू, साइकलिस्ट र अन्य खेलका खेलाडीमा हृदयाघात हुनुको एक प्रमुख कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र वल्र्ड एन्टी डोपिङ (वाडा) ले खेल क्षेत्रमा वर्जित ‘ड्रग्स’, ‘एनाबोलिक एन्ड्रोजेनिक स्ट्रोराइड’, ग्रोथ हर्माेन्स, ब्लड डोपिङ वा ओपियट्स जस्ता तत्व आँखा चिम्लेर अनधिकृत तवरमा गरिने प्रयोग पनि हो । भनिन्छ ‘अति सर्वत्र वर्जयेत’ अर्थात् कुनै पनि कुराको प्रयोग अति भए खती स्वाभाविक हो । अति चिनी पनि तीतो, अमृत पनि विष त्यस्तै वर्जित कुराको औधी मात्रामा प्रयोग, अति व्यायामले पनि जीवन खती हुन सक्छ ।   

–युवामञ्च   

Author

शिवलाल श्रेष्ठ (प्रथम मी. नेपाल)