• १० मंसिर २०८१, सोमबार

बालबालिकाको सुरक्षा चुनौती

blog

स्वस्थ जीवनयापन गर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । बालबालिका स्वयम्ले आफ्नो अधिकार आफैँ लिन नसक्ने हुँदा उनीहरूको अधिकार सुनिश्चित गर्न सक्दैनन । अतः संयुक्त राष्ट्रसङ्घीय महासन्धि, बाल अधिकार महासन्धि १९८९ ले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ । नेपालको सन्दर्भमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिकाका रूपमा परिभाषित गरेको छ । यस्तै मुलुकी ऐन, बालबालिकासम्बन्धी ऐन तथा श्रम ऐनले १६ वर्षभन्दा कम उमेरका मानवलाई नाबालक भनि व्याख्या गरेको छ । उनीहरूको गर्भदेखि नै बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार तथा सहभागिताको अधिकार  सुरक्षित गर्नु सरकारको दायित्व हो । यिनै अबोध बालबालिकालाई मानव समाजबाट जानेर वा नजानेर दुव्र्यवहार हुने गर्छ । हाम्रो घरपरिवार तथा समाजमा बाल यौन दुव्र्यवहारको अवस्था दिनप्रतिदिन भयावह हुँदै गइरहेको छ । 

बालबालिकाको शारीरिक, मानसिक तथा भावनात्मक विकासमा आघात पु¥याउने कुनै पनि क्रियाकलाप गर्नुहुँदैन । गरिएमा उनीहरूको कोमल मन मस्तिष्कमा दीर्घकालीन नकारात्मक असर पुग्न जान्छ । बालबालिका आफूमा भएका आघात तथा पीडा सहज रूपमा अभिव्यक्त गर्न सक्दैनन् । यसर्थ बाल यौन दुव्र्यवहार अन्तर्गत १६ वर्षमुनिका बालबालिकाउपर जबरजस्ती, बलपूर्वक, छलकपट वा भावनात्मक दबाबका आधारमा गरिने कुनै पनि प्रकारको गतिविधि यौनजन्य गतिविधि अन्तर्गत पर्छन् । बालबालिकालाई यौन गतिविधिमा संलग्न गराउनु, तिनको शारीरिक वा मानसिक स्वास्थ्यमा क्षति पु¥याउनु र तिनको व्यक्तिगत स्वाधीनता उल्लङ्घन गर्नु जस्ता क्रियाकलाप हुने गर्छन् । बाल यौन दुव्र्यवहारमा बालबलिकालाई यौन उत्पीडन, यौन शोषण, अश्लील गतिविधिमा संलग्न वा कुनै पनि प्रकारको अस्वीकृत यौन क्रियाकलाप गर्न बाध्य गराइन्छ । यस्ता गतिविधिमा संलग्न गराउनु गैरकानुनी र मानव अधिकारको उल्लङ्घन हो ।

बाल दुव्र्यवहार घर, विद्यालय, हाटबजार, सिनेमा हल, बाटाघाटा, यातायातका साधनमा जताततै भएको पाइन्छ । यस्ता दुव्र्यवहार केटा तथा केटी दुवैमा भएको पाइन्छ । केही व्यक्ति नजानेर दुव्र्यवहार गर्ने गर्छन् भने कोही आशयले नै गर्ने गर्छन् । त्यसको घातक असर दुवै प्रकृतिका व्यक्तिले आकलन गरेका हुँदैनन् । बालबालिकामा मुख्यतः भावनात्मक, शारीरिक, मौखिक तथा बेवास्ता तथा उपेक्षा जस्ता दुव्र्यवहार हुने गर्छन् । 

भावनात्मक दुव्र्यवहार, शारीरिक दुव्र्यवहार, यौन दुव्र्यवहार, मौखिक दुव्र्यवहार, बेवास्ता वा उपेक्षा जस्ता बाल दुव्र्यवहार घर, विद्यालय, हाटबजार, मनोरञ्जन स्थल, एकान्त बाटाघाटा, यातायातका सवारीसाधनमा गुप्त रूपमा हुने गर्छन् । यस्ता दुव्र्यवहारप्रति परिवारका सदस्यसमेत सचेत रहनु पर्छ । बालबालिकासँग खुलेर संवाद गर्नु पर्छ । कुनै शङ्का लागेमा तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने हुन्छ । बाल दुव्र्यवहार अन्तर्गत प्रायः बाल यौन दुव्र्यवहार बढी मात्रामा हुने गर्छन् । विश्वमा बाल यौन दुव्र्यवहारको अवस्था गम्भीर र चिन्ताजनक छ । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन र युनिसेफ जस्ता अन्तर्राष्ट्रिय संस्थाले बाल यौन दुव्र्यवहारलाई गम्भीर मानव अधिकार उल्लङ्घनका रूपमा लिएका छन् । हाल बाल यौन दुव्र्यवहारको अवस्था विश्वव्यापी समस्याका रूपमा देखा परेको छ । युनिसेफको एक अध्ययन अनुसार विश्वभर १५ देखि ३० प्रतिशत बालबालिकाले कुनै न कुनै प्रकारको यौन दुव्र्यवहारको सामना गरिरहेका छन् । विकासोन्मुख देशमा यो अवस्था झनै चिन्ताजनक छ । त्यस्ता देशमा बालबालिकासम्बन्धी कानुनी संरचना कमजोर छ । सामाजिक सचेतना कमजोर छ । बाल दुव्र्यवहारसम्बन्धी ज्ञान छैन । रूढीवादी परम्पराले कानुनलाई थिचेको छ । 

डिजिटल युगको विकाससँगै बालबालिकामाथि हुने अनलाइन यौन शोषणको खतरा बढिरहेको छ । बालबालिकाको फोटो वा भिडियो प्रयोग गरी अश्लील सामग्री उत्पादन र वितरण गर्ने जस्ता आपराधिक व्रिmयाकलापमा वृद्धि भएको छ । लैङ्गिक असमानता र सामाजिक संरचनाले पनि बाल यौन दुव्र्यवहारलाई बढावा दिएको छ । विशेष गरी बालिका र पिछडिएको समुदायका बालबालिका र अशक्त बालबालिका बढी जोखिममा भएको पाइन्छ । युनिसेफका अनुसार विश्वभर करिब ६५० मिलियन बालिकाको १८ वर्षभन्दा कम उमेरमै विवाह हुने गर्छ । यसले उनीहरूलाई यौन शोषणको जोखिममा सहयोग पु¥याइरहेको छ । युद्धग्रस्त क्षेत्र, शरणार्थी शिविर एवं प्राकृतिक प्रकोपका क्षेत्रमा बालबालिका असुरक्षित हुन्छन् । उनीहरू विशेष गरी यौन हिंसा र दुव्र्यवहारको सिकार हुने गर्छन् । मानव तस्करीमा पर्ने बालबालिकाको ठुलो हिस्सा यौन शोषणका लागि बेचिने गरेका छन् ।

नेपालमा पनि बाल यौन दुव्र्यवहारको घटना दिनप्रतिदिन बढ्दै गएको अवस्था छ । यद्यपि बाल यौन दुव्र्यवहारको यथार्थ तथ्याङ्क प्राप्त गर्न सकिँदैन । अधिकांश घटना सामाजिक कलङ्क, डर, कानुनी अज्ञानताका कारणले लुकाइन्छन् । नेपाल प्रहरीको सन् २०२१–२२ को प्रतिवेदनले बालक तथा बालिका दुवै यौन शोषणको सिकार भएका छन् । बालकभन्दा बालिका बढी जोखिममा छन् । बालबालिकासँग सम्बन्धित यौन हिंसाका २६० वटा घटना प्रहरीमा दर्ता भएकामा अधिकांश घटनामा बालिका पीडित रहेको पाइन्छ । महामारी तथा प्राकृतिक विपत्तिका बेला समेत बाल यौन दुव्र्यवहारका घटना बढी हुने गरेको पाइन्छ । कोभिडको समयमा लामो समयसम्म लकडाउनका कारण बालबालिका घरभित्र सीमित भएको अवस्थामा यौन दुव्र्यवहारका घटना वृद्धि भई ४० प्रतिशत बालबालिका यौन हिंसाको जोखिममा परेको प्रतिवेदनमा उल्लेख गरेको पाइन्छ ।

बाल यौन दुव्र्यवहारका कारण बालबालिकामा शारीरिक, मानसिक तथा मनोसामाजिक असर देखा पर्छन् । शरीरमा घाउचोट लाग्नु, गुप्ताङ्गमा चोट लाग्नु, रगत बग्नु, यौनाङ्गसम्बन्धी रोग लाग्नु, शरीर मोटाउनु वा दुब्लाउनु एवं गर्भ रहनु शारीरिक असर हुन् । मानसिक असरमा बालबालिका चिन्तित हुनु, हिनताबोध महसुस गर्नु, एकान्तमा बस्न रुचाउनु, खानामा रुचि नहुनु, चिडचिडाहट हुनु, स्थिर भएर बस्न नसक्नु, क्रोध देखाउनु, डराउनु, निद्रा कम लाग्नु, आपराधिक क्रियाकलापमा संलग्न हुनु, बोल्न हिचकिच्याउनु जस्ता पर्छन् । सामाजिक प्रतिष्ठा गुमेको आभाष हुनु, समाजका अन्य आपराधिक क्रियाकलापमा लत लाग्नु, पारिवारिक तथा मनोसामाजिक असर हुन् ।

बाल यौन दुव्र्यवहारविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम, बालबालिका सुरक्षासम्बन्धी कानुनी संरचना र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि लागु गरेर यस्ता गतिविधि नियन्त्रण गर्ने प्रयास भइरहेका छन् । विभिन्न देशले बाल यौन दुव्र्यवहारविरुद्ध आआफ्नै अनुकूलका कानुन बनाएका छन् । केही देशमा कानुनी संरचना कमजोर छ । केही देशमा यस्ता कानुन कार्यान्वयनमा कमजोरी देखिन्छ । केही दुव्र्यवहारका घटना सामाजिक तथा सांस्कृतिक मान्यताले गर्दा घटना बाहिर नै आउँदैनन् । 

नेपालमा बाल यौन दुव्र्यवहारविरुद्धका कानुन छन् । जस्तै मुलुकी अपराधसंहिता, २०७४ मा बालबालिकामाथि यौन शोषण गर्ने अपराधीलाई कडा सजायको व्यवस्था गरिएको छ । यद्यपि कानुनी कार्यान्वयन पक्षमा कमजोरी देखिन्छ । बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक सुरक्षाको जिम्मेवारी घरपरिवार, विद्यालय, शिक्षक, समाज र राज्यको सामूहिक कर्तव्य हो । अतः बाल यौन दुव्र्यवहारको रोकथामका लागि शिक्षा, चेतना, कानुनी उपाय र सुरक्षा उपायमा सरोकारवाला सबै निकाय मिलेर सहकार्य गर्नु पर्छ । बाल यौन दुव्र्यवहार रोकथाम गर्न बालबालिका, अभिभावक, सामाजिक कार्यकर्ता तथा सामाजिक अभियन्तालाई बाल यौन दुव्र्यवहारका शिक्षा र सचेतनाका कार्यक्रम सञ्चालन गरिनु पर्छ । 

विश्व स्तरमा नै रहेको बाल यौन दुव्र्यवहारका विविध जटिलतालाई न्यूनीकरण र नियन्त्रण गर्न कानुनी, सामाजिक र संस्थागत प्रयास भइरहे पनि बाल यौन दुव्र्यवहारको समस्या चुनौतीकै रूपमा छ । अतः यस चुनौतीलाई समाधान गर्न सरकारी र गैरसरकारी निकायले कानुनमा समसामयिक सुधार, विद्यालय शिक्षामा यौन शिक्षामा व्यापकता र समाजमा द्रुत स्तरमा सचेतनाका कार्यक्रम कार्यान्वयन गरिनु पर्छ ।

Author

हरि पौडेल