• १० मंसिर २०८१, सोमबार

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण

गोर्खा भर्तीको विषय उठ्ने

blog

प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भोलि (मङ्सिर ५) नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । असार १६ गते भारतीय सेनाध्यक्षमा नियुक्त हुनुभएका द्विवेदीको यो पहिलो नेपाल भ्रमण हो । नेपाल भ्रमणका क्रममा उहाँलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ को दज्र्यानी चिह्नसमेत प्रदान गरिने छ । प्रधान सेनापतिमा नियुक्त भएपछि दुवै देशका सेनापतिले एकअर्का देशको मानार्थ महारथीको दज्र्यानी चिह्न लिने ऐतिहासिक परम्परा छ । प्रधान सेनापति सिग्देलले पनि केही समयपछि भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लिनुहुने छ । यो परम्परा २००७ सालबाटै सुरु भएको हो । शान्ति सेनामार्फत विश्वको विश्वास जितिरहेको नेपाली सेना र भारतीय सेनाबिचको सम्बन्धलाई ‘मानार्थ महारथी’ को ऐतिहासिक परम्पराले दुई देशबिचको सम्बन्ध प्रगाढ बनाएको छ । 

दज्र्यानी चिह्न आदानप्रदानको सिलसिला दुई देशका सेनाबिच सुमधुर सम्बन्ध र सहकार्य कायम रहिरहोस् भन्‍ने उद्देश्यले सुरु भएको हो । यो सम्बन्ध कसैले कसैलाई नियन्त्रणमा राख्नु पर्छ भन्‍ने मान्यताबाट निर्देशित देखिँदैन । दुई देशबिचको कूटनीतिक सम्बन्धको प्रमुख आधार राजनीति नै होे, सैन्य कूटनीतिले त त्यसलाई थप बलियो बनाउने काम मात्र गर्दै आएको हो । राजनीतिले आफ्नै क्षमतामा विश्वास गर्न नसकिरहेको अवस्थामा सैनिक कूटनीतिले राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेको अर्थमा यसलाई बुझ्नु पर्छ । भारतीय स्थल सेनाध्यक्षको भ्रमण र मानार्थ महारथीको उपाधि आदानप्रदानलाई परम्पराको महत्वपूर्ण हिस्साका रूपमा मात्रै लिनु पर्छ । 

सैन्य कूटनीतिले दुईपक्षीय र बहुपक्षीय सम्बन्ध बलियो बनाउँछ भन्‍ने अन्तर्राष्ट्रिय मान्यता छ । हरेक मुलुकमा सरकार पटक पटक बदलिने तर सैनिक सङ्गठन स्थायी र भरपर्दो हुने भएकाले पनि सैन्य कूटनीतिले महत्व पाएको छ । नेपाल र भारतका सैनिकबिचको सुमधुर सम्बन्ध पनि त्यसैको प्रतिफल हो । दक्षिणको मूल्यमा उत्तरतिर ढल्कने वा उत्तरको मूल्यमा दक्षिणतिर फर्कने नीति नलिनुको कारण नेपालको सैन्य कूटनीति सफल र भरपर्दो मानिएको हो । 

नरेन्द्र मोदीले पहिलो पटक प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा नेपाली संसद्लाई सम्बोधनका क्रममा भन्नुभएको थियो, “नेपाली बहादुर सेनाले भाग लिएकै कारण विगतमा भारतले आफ्नो अस्तित्व रक्षाको युद्ध जितेको छ ।” वीर गोर्खालीको त्यो पहिचान, मूल्य र मान्यतालाई नेपाली सेनाले भारतको मात्रै होइन; विश्वकै विश्वास जितेर कायम राखेको छ । गोर्खाली सैनिकको पहिचानकै कारण नेपालीलाई हेर्ने भारतीय सेनाको दृष्टिकोण सकारात्मक छ । गोर्खाली फौजका बिचमा उसले आफूलाई सधैँ सुरक्षित महसुस गर्छ । 

नेपाली सेना र भारतीय सेनाबिच पुरानो संस्थागत सम्बन्ध भएको इतिहास पढ्न पाइन्छ । भारतीय सेनामा गोर्खा सैनिकले देखाएको निःस्वार्थ सेवा तथा बलिदानीको उच्च प्रशंसा हुँदै आएको छ । सैन्यस्तरको यो व्यावसायिक सम्बन्धले दुई देशबिचको सम्बन्ध सुदृढ बनाउन भूमिका निर्वाह गरेको छ । सेना–सेनाबिचको सम्बन्ध भनेको नेपाली सेना र भारतीय सेना मात्र नभई संसारभरिकै अभ्यास हो । कमान्ड एन्ड स्टाफ कोर्स, माउन्टेन वारफेर र जङ्गल वारफेरका लागि झन्डै दुई दर्जनभन्दा बढी मुलुकका उच्च सैनिक अधिकारी पनि नेपाल आउने गरेका छन् । 

नेपाल र भारतीय सेनाबिचको सम्बन्धलाई राजनीतिसँग जोड्नु हुँदैन । नाकाबन्दीको असहज अवस्थामा पनि दुवै देशले सैन्य कूटनीतिको सफल प्रयोग गरेका थिए । दक्षिण एसियाली क्षेत्रकै रणनीतिक आधारभूमि मानिएको यस क्षेत्रलाई भारतीय सेनाले कसरी लिएको छ भन्ने जान्न र बुझ्न पनि भारतीय सेनाध्यक्षको भ्रमण फलदायी हुन सक्छ । एकअर्काबिचको सम्बन्धबाट टाढा होइन नजिक बस्दा त्यसबाट बढी लाभ लिन सकिन्छ । दुई देशका सेनाबिचको सम्बन्धलाई अहिलेको कठिन परिस्थितिमा कसरी अघि बढाउन सकिन्छ, के के विषयमा एकापसको सहयोग आदानप्रदान गर्दा दुवै देशलाई फाइदा पुग्ने छ भन्ने विषय महत्वपूर्ण हुन सक्छन् । 

भारत सरकारले दुई वर्षअघि अग्निपथ योजना लागु गरेपछि गोर्खा भर्ती केन्द्र नेपालकै आग्रहमा बन्द गरिएको छ । सत्ताको सहयात्री जनता दल युनाइटेडले निर्वाचन परिणाम सार्वजनिक हुनेबित्तिकै अग्निपथ योजना पुनरवलोकनको माग गरेको थियो । भारतीय कङ्ग्रेस आईलगायत विपक्षी दलहरूले त अग्निपथ योजना पूर्ण रूपमा खारेज गर्नुपर्ने बताउँदै आएका छन् । 

आफ्नो सेनामा भर्ती भएका सैनिकमध्ये २५ प्रतिशतलाई चार वर्ष सेवा अवधि पुगेपछि रोजगारीमा निरन्तरता दिने र बाँकी ७५ प्रतिशतलाई निश्चित रकम एकमुस्ट दिएर घर पठाउने लक्ष्य अग्निपथ योजनामा छ । भारतले उक्त योजना अनुसार नेपालीलाई पनि आफ्नो फौजमा भर्ना गर्नुपर्ने धारणा राखेपछि गतिरोध हुँदै आएको छ । कोभिडपछि रोकिएको गोर्खा भर्ती अझै खुलेको छैन । भारतीय सेनाका पूर्वजनरल अशोक मेहताले त गोरखा भर्ती केन्द्र खुलाउन आग्रह नै गर्नुभएको छ । मेहता नेपाल–भारत सम्बन्धको संवेदनशीलता बुझेका कूटनीतिज्ञ मानिनुहुन्छ । गोर्खा भर्तीको विषय भारतीय सेनाध्यक्षसँगको भेटवार्तामा रक्षामन्त्री एवं अन्य राजनीतिक नेतृत्व तहको प्राथमिकताको विषय बन्ने अपेक्षा गरिएको छ । 

भारतीय सैनिक नेतृत्व आउने भन्नेबित्तिकै विविध खालका गलत भाष्य सिर्जना गर्ने कोसिस हुन्छन् नै, ती चासोका विषयभित्र पर्दैनन्÷पर्नु हुँदैन । भारत र चीनको सीमा जोडिएकाले शक्ति राष्ट्रको ध्यान नेपालप्रति केन्द्रित हुनु अस्वाभाविक होइन । नेपालको ऐतिहासिक सार्वभौम अस्तित्वमा कुनै किसिमको दखल नपुग्ने गरी दुई मुलुकको सैनिक सम्बन्ध अघि बढाउँदा देखिने/सुनिने प्रतिक्रियाको खासै मूल्य हुँदैन । सेनाको व्यावसायिक धर्म पनि यही नै हो । 

मुलुकको सार्वभौमिकता र अखण्डताको रक्षामा कोहीकसैसँग पनि सम्झौता नगर्ने सैनिक चरित्र हुन्छ । यो नेपाली मात्रै होइन, जुनसुकै देशका सेनाको हकमा लागु हुन्छ । नेपाली र भारतीय सेनाबिचको सम्बन्ध विशिष्ट, शान्तिपूर्ण र सहअस्तित्वमा आधारित छ । सीमा जोडिएका केही मुलुकमा दुई देशका सेनाबिचको द्वन्द्वको प्रभाव संसारभर परेको छ । भारत, पाकिस्तान, भारत–चीन, इजरायल–प्यालेस्टाइन, इरान–सिरिया र दुई कोरियाबिच दुईपक्षीय सैनिक टकराब भएका छन् । त्यसो त सैनिक द्वन्द्व राजनीतिक शासककै कारण निम्त्याइएका छन्, सेना–सेनाबिचका टकराबका कारण होइन । 

नेपाल र भारतबिच सीमालगायत समस्या छन् । चुच्चे नक्सा, भारतले इपिजी प्रतिवेदन नबुझेको विषय र सीमामा बेला बेलामा भइरहने वादविवादका समाचारले राजनीतिक तहमा यदाकदा सम्बन्ध चिसिने गरेको छ तर एकापसको सैनिक सम्बन्ध भने मित्रवत्, दिगो र भरपर्दो छ । यो द्विपक्षीय सैन्य कूटनीतिकै सफलताको आधार हो । आकारमा नेपाल र भारतबिच तुलनै हुँदैन । सम्बन्ध उच्चस्तरको कूटनीतिले चल्ने हो; भूगोल, जनसङ्ख्या र सेनाको सङ्ख्याले होइन । भारतीय सेनाध्यक्षको भ्रमणले यसलाई थप बलियो र मजबुत बनाउने छ, बनाउनु पर्छ । 

नेपाल र भारतीय सेनाले यो विशिष्ट सम्बन्धलाई केवल औपचारिकतामा मात्र सीमित नराखी एकअर्का मुलुकमा आइपर्ने विपत्लगायतका सङ्कटमा आपसी सहयोगदेखि अनुभव आदानप्रदानलाई समेत उच्च प्राथमिकतामा राखेका छन् । आपसी योगदान र सहयोगको आदानप्रदानले दुई देशका सैनिक र नागरिक सम्बन्धलाई थप कसिलो बनाएको छ । दुई देशबिचको क्षमता अभिवृद्धि गर्न भारतीय सेनाले नेपाली सेनालाई हवाई तथा सवारीसाधनदेखि विविध सैनिक सामग्री सहयोगस्वरूप उपलब्ध गराउँदै आएको छ । आफूले गर्ने सैनिक अपरेसन अभ्यासबारे नेपाली सेनाले भारतीय सेनालाई तालिम दिँदै आएको छ । दुई देशका सेनाबिच निरन्तर सैन्य अभ्यास भइरहेका छन् । नेपाल र भारतका सेना मात्र सहभागी हुने इन्डो–नेपाल संयुक्त तालिम (अभ्यास–सूर्य किरण) निरन्तर चल्दै आएको छ । उक्त संयुक्त अभ्यास आउँदो पुसमा नेपालमा हुँदै छ । सन् २०११ बाट संयुक्त रूपमा सञ्चालन भएको ‘अभ्यास–सूर्य किरण’ सैन्य अभ्यासको आफ्नै मौलिक विशेषता छ, जसले दुवै देशका सेनालाई अझै नजिक हुने अवसर प्रदान गरेको छ । 

दुई देशका बिचमा समस्या नभएका होइनन् तर नेपाली सेनाले राष्ट्रिय हित र स्वार्थमा भारतसँग मात्रै होइन कोही कसैसँग ‘कम्प्रोमाइज’ गरेको छैन । राष्ट्रिय स्वार्थ र हितमा सम्झौता नगरी सम्बन्ध दिगो र बलियो बनाउनु पर्छ । विशाल मुलुकबाट के के फाइदा लिन सकिन्छ, त्यो लिएरै सम्बन्ध अक्षुण्ण राख्नु पर्छ । छिमेकमा यति ठुला अर्थतन्त्र भएका मुलुक छन्, त्यसबाट सैनिकलगायत सबै क्षेत्रले सार्वभौम मुलुकको हितमा हुने गरी लाभ लिनु पर्छ ।

  

Author

विनोद न्यौपाने