• ८ मंसिर २०८१, शनिबार

कर्णालीमा अझै आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन

blog

सुर्खेत, मङ्सिर ३ गते । कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन छ । साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले कर्णालीका सबै डिपोहरूमा नुन ढुवानी गरिरहेको छ । 

सरकारले ढुवानी भाडामा अनुदान दिई साल्टट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतमा बिक्री गर्दै आएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुर्‍याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालय, नेपालगन्जका प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो । 

चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्टट्रेडिङले जनाएको छ । कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगन्जबाट ढुवानी गरिँदै आएको छ । कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको प्रमुख चौधरीले जानकारी दिनुभयो । कर्णालीका जिल्लाहरूमा प्रति पोका रु नौ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ । 

ढुवानीमा अनुदानका कारण उक्त नुन प्रतिकिलो नौ रुपैयाँ परेको उहाँले बताउनुभयो । डोल्पाको सदरमुकाम दुनैमा दुई हजार पाँच  क्विन्टल कोटामध्ये हालसम्म एक हजार एक सय क्विन्टल नुन ढुवानी भइसकेको छ । जुफाल डिपोमा पाँच सयमध्ये तीन सय क्विन्टल, काइगाउँमा तीन सय कोटामध्ये हालसम्म नुन पुर्‍याइएको छैन । ढुवानीको क्रममा बाटोमै रहेको साल्टट्रेडिङले जनाएको छ । 

त्रिपरासुन्दरीको लिकुमा तीन सय कोटा निर्धारण गरिएकामा ढुवानीको क्रममा रहेको प्रदेश कार्यालय, नेपालगन्जका प्रमुख चौधरीले जानकारी दिनुभयो । मुडकेचुलाको सर्मीमा तीन सय क्विन्टलमा सबै नुन पुगेको उहाँको भनाइ  छ । तिन्जेमा एक हजार आठ क्विन्टल कोटा निर्धारण गरेकामा हाल सम्म पुर्‍याउन सकेको छैन । 

हुम्ला सदरमुकाम सिमीबोटमा एक हजार छ सय क्विन्टल कोटा  निर्धारण गरिएकामा हालसम्म एक हजार एक सय ५० क्विन्टल ढुवानी भइसकेको छ । याल्वाङ डिपोमा पाँच सय क्विन्टल कोटा निर्धारण गरिएकामा हालसम्म ढुवानी हुन सकेको छैन । सार्केगाडमा नौ सय क्विन्टलमध्ये ढुवानीको क्रममा बाटोमा रहेको प्रदेश प्रमुख चौधरीले जानकारी दिनुभयो । श्रीकोट डिपोमा नौ सय क्विन्टल कोटा भएकोमा ढुवानीको क्रममा छ । सदरमुकाममा भने हवाई मार्गबाट नुन ढुवानी गर्ने कार्ययोजना रहेको छ । श्रीकोट र सार्केगाड साल्टट्रेडिङ् कर्पोरेसनका बिक्री केन्द्र हुन् । 

मुगु सदरमुकामका डिपोमा दुई हजार पाँच सय क्विन्टलको कोटा रहेकामा हालसम्म एक हजार एक सय क्विन्टल ढुवानी भइसकेको छ । बाँकी ढुवानीको क्रममा छ । सोरुकोटमा नौ सय क्विन्टलमध्ये पाँच सय क्विन्टल ढुवानी भएको छ । श्रीकोटमा नौ सय क्विन्टल ढुवानी भएको छ । मुगुमकार्मरोङ गाउँपालिकामा एक हजार क्विन्टल कोटा रहेकामा हालसम्म ढुवानी भएको छैन । सदरमुकामबाट नै यहाँको माग र आपूर्ति व्यवस्था हुँदै आएको साल्टट्रेडिङले जनाएको छ । 

जुम्लाका सबै स्थानीय तहमा नुन पुर्‍याउन स्थानीय तहहरूसँग सहकार्य भई सोही अनुसार ढुवानी भइरहेको चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाममा चार हजार क्विन्टलमध्ये दुई हजार एक सय ५० क्विन्टल ढुवानी भएको छ । नराकोटमा एक हजारमा हालसम्म चार सय ५० क्विन्टल पठाएको छ । गोरुचौरमा एक हजारमध्ये पाँच सय क्विन्टल नुन पुर्‍याएको छ । 

जाजरकोटका सात पालिकामध्ये सदरमुकामसहित चार ठाउँमा नुन बिक्री हुँदै आएको छ । सदरमुकाममा दुई हजार पाँच सयमा एक हजार दुई सय मात्र ढुवानी भएको छ । नलगाडको दिल्लीमा एक हजार पाँचमा छ सय क्विन्टल ढुवानी भएको छ । 

पश्चिम जाजरकोटको थलहमा एक हजार दुई सय क्विन्टलमध्ये चार सय ५० क्विन्टल ढुवानी भएको छ । तागामा तीन सय क्विन्टल कोटामध्ये सबै पुगेको छ । रुकुम पश्चिमको ४ हजार पाँच सय क्विन्टल कोटा मध्य हाल सम्म आठ सय ५० क्विन्टल ढुवानी भएको छ । चौरजहारीमा आठ सय क्विन्टल मध्य तीन सय ४० क्विन्टल मात्र ढुवानी भएको छ ।कालिकोटमा तीन हजार पाँच सय क्विन्टल मध्ये सात सय ५० क्विन्टल ढुवानी भएको छ । रासकोट डिपोमा एक हजार दुई सय क्विन्टलमध्ये दुई सय ४० क्विन्टल ढुवानी भएको छ । बाँकी ढुवानीको प्रक्रियामा छ । ठेक्का प्रक्रियाबाट ढुवानी हुने भएकाले ढुवानीकर्ताले आफू अनुकूलमा ढुवानी गर्दै आएका छन् । उपल्लो डोल्पामा कोभिड देखि आयोडिन युक्त नुन ढुवानी हुन सकेको छैन । हिमाली जिल्लाहरूमा चिसो र हिमपातका कारण नुन ढुवानीमा समस्या हुने गरेको छ । 

उपल्लो डोल्पा, हुम्लाको माथिल्लो भाग र मुगुको माथिल्लो क्षेत्रमा ढुवानीमा समस्या हुँदै आएको छ । स्थानीय तहहरूले समन्वय गरेर नुन लिएमा सबेलाई सहज हुने लिमिटेडको भनाइ छ । हाल निर्धारण गरिएको नुनको कोटा कर्णालीको हालको जनसङ्ख्यालाई अपुग भएको स्थानीय तहका प्रमुखहरूले बताउँदै आएका छन् । दैलेखमा नुनको बिक्री केन्द्र नै छैन । कर्णालीको सबै स्थानीय तहमा साल्टट्रेडिङसँग सहकार्य गरेर नुन लिन पुर्‍याउन सकेमा सबैका लागि सजिलो हुने साल्ट ट्रेडिङले जनाएको छ । 

आयोडिनयुक्त नुनको आवश्यकता र माग दुवै उच्च रहेको स्थानीय तहका प्रमुखहरू बताउँछन् । साल्ट ट्रेडिङले सीमित कोटा निर्धारण गर्दा बर्सेनि कर्णालीका स्थानीयवासीका लागि नुन अपुग हुने गरेको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।