• २८ जेठ २०८२, बुधबार

तुलसीपुर पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा

blog

नगरलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुहुँदै खोप समितिका अध्यक्ष नित्यानन्द शर्मा ।

गोकर्ण पौडेल 

तुलसीपुर, जेठ २७ गते । तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोषणा गर्नुभएको हो । 

नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो । घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले बालबालिकाहरूलाई नियमित रूपमा खोप दिएर देशका लागि स्वस्थ्य जनशक्ति तयार हुने बताउनुभयो । उहाँले पूर्ण खोप सुनिश्चिताका लागि महिला स्वयम सेविका र स्वास्थकर्मीहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाले ६ वर्षदेखि लगातार पूर्ण खोप सुनिश्चितताको घोषणा गर्दै आएको छ । स्वास्थ्यकर्मी, महिला  स्वयम सेविका, जिल्ला खोप समन्वय समितिका प्रतिनिधि टोलीले पालिकाका सबै वडाहरूमा पुगेर बालबालिकाले खोप लगाए वा नलगाएको खोजी गरेको थियो । जसमा खोप नलगाएका बालबालिका एउटा पनि नभेटिएको र आंशिक खोप मात्र लगाएका ७ जना बालबालिका भेटिएपछि पुन : छुटेका खोप लगाइएको पालिकाका जनस्वास्थ्य प्रवर्धनका शाखाका फोकलपर्सन विमल केसीले जानकारी दिनुभयो । सात जनालाई खोप दिएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 

तुलसीपुर उपमहानगरपालिकाभित्र नौ हजार ८ सय जना बालबलिकाहरूले खोप लगाएका थिए । पालिकाभित्र ६५ वटा खोप केन्द्र रहेका छन् । खोप केन्द्रमा प्रत्येक महिना खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

घोषणा कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले स्वास्थ्यसँग जोडिएको पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले स्वस्थ जनशक्ति तयार भएमात्रै सम्मुनत नगर हुने बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका किशोरकुमार शर्माले १३ वटा प्राण घातका रोगबाट बचाउनका लागि बालबालिकालाई खोप अनिवार्य रहेको बताउनुभयो । उहाँले १५ महिना मुनिका सबै बालबालिकालाई खोप केन्द्रमा पुगेर अभिभावकहरूले सम्पूर्ण खोप दिनुपर्ने बताउनुभयो ।