तेहरान, जेठ २७ गते । इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ताको नयाँ चरण आइतबारका लागि योजना बनाइरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता बिहीबार हुने अपेक्षा गरेको बताउनुभएपछि इरानको यस्तो भनाइ आएको हो ।
“इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण अर्को आइतबार मस्कटमा आयोजना गरिएको छ”, विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मङ्गलबार एक विज्ञप्तिमा भन्नुभयो ।
उहाँका अनुसार विदेशमन्त्री एवं मुख्य वार्ताकार अब्बास अराघचीले यस हप्ता नर्वेको ओस्लो फोरममा भाग लिनुहुने बताउनुभयो । ओस्लो फोरम द्वन्द्व मध्यस्थकर्ताको भेला हो ।
इरान र संयुक्त राज्य अमेरिकाले अप्रिलदेखि पाँच चरणको वार्ता गरेका छन् । यी वार्ताले सन् २०१५ को मुख्य शक्तिसँगको सम्झौताको ठाउँमा नयाँ आणविक सम्झौता गर्न खोजेको छ । सन् २०१५ को सम्झौतालाई ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा त्याग्नुभएको थियो ।
मे ३१ मा पाँचौँ चरणको वार्तापछि इरानले आणविक सम्झौताका लागि अमेरिकी प्रस्तावको ‘तत्वहरू’ प्राप्त गरेको बताएको थियो । अराघचीले पछि उक्त पाठमा ‘अस्पष्टताहरू’ रहेको बताउनुभयो ।
इरानले सोमबार अमेरिकी प्रस्तावमा अघिल्लो वार्तालाई प्रतिबिम्बित गर्ने ‘तत्वहरूको अभाव’ रहेको र यसले मध्यस्थकर्ता ओमानमार्फत संयुक्त राज्य अमेरिकालाई ‘उचित, तार्किक र सन्तुलित’ प्रति–प्रस्ताव प्रस्तुत गर्ने बताएको छ ।
सैन्य कारबाहीबाट बच्न आणविक सम्झौता सम्भव छ कि छैन भन्ने कुरा यस हप्ता अमेरिका–इरानबीचको नयाँ वार्ताले स्पष्ट पार्न सक्ने ट्रम्पले बताउनुभएको छ ।
उहाँका अनुसार इरानसँगको पछिल्लो बैठक बिहीबार हुने अपेक्षा गरिएको थियो । यद्यपि तयारीसँग परिचित एक स्रोतले यो शुक्रबार वा शनिबार हुने सम्भावना रहेको बताएको छ ।
इरान र संयुक्त राज्य अमेरिका हालै इरानको युरेनियम संवर्धनलाई लिएर कूटनीतिक गतिरोधमा फसेका छन् । तेहरानले यसलाई ‘गैर–सम्झौता योग्य’ अधिकारका रूपमा रक्षा गरेको छ र वासिङ्टनले यसलाई ‘लक्ष्मण रेखा’ भनेको छ ।
इरानले हाल ६० प्रतिशत युरेनियम संवर्धन गरिरहेको छ । यो सन् २०१५ को सम्झौतामा तय गरिएको तीन दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै हो भने आणविक हतियारका लागि आवश्यक पर्ने ९० प्रतिशतभन्दा केही कम छ ।
संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियार प्राप्त गर्न खोजिरहेको आरोप लगाएका छन् । तेहरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ । रासस/एएफपी