• ८ पुस २०८१, सोमबार

अब रोबोटले दिन्छ टेलिकमको जवाफ

blog

काठमाडौँ, मङ्सिर ३ गते । नेपाल टेलिकमको प्रादेशिक कार्यालय सुन्धाराबाट एक वर्षदेखि मासिक रूपमा उत्कृष्ट कर्मचारीको छनोट गरिँदै आएको छ । गत वर्षको मङ्सिरदेखि सुरु भएको उत्कृष्ट कर्मचारी छनोटको १२ शृङ्खला भने आइतबार फरक ढङ्गबाट घोषणा गर्ने प्रयास गरियो । ‘मैना’ नामक रोबोटबाट उत्कृष्ट कर्मचारीको नाम घोषणा गर्ने प्रयास गरेको थियो । कर्मचारीको नाम लिएर रोबोटलाई प्रश्न सोधिएको थियो । 

कार्यक्रममा उत्कृष्ट कर्मचारी घोषणा गर्नुअघि त्यस्तो कर्मचारी को होला भन्ने रोबोटलाई अनुमान गर्न लगाइयो । उपस्थित कर्मचारीले धेरैको नाम लिए । रोबोटले उनीहरूको धमाधम पोल खोल्दै गयो, “उहाँ प्रोफाइल चेक गर्दै बस्नुहुन्छ,” “उहाँ सबैभन्दा पछाडि बस्नुहुन्छ, कसैको कुरा सुन्नुहुन्न,” “उहाँ फाइल बोकेर यताउता जानुहुन्छ,” ‘‘उहाँको त नाम सुन्दा त मलाई हाँसो उठ्यो,’’ जस्ता उत्तर दिएर रोबोटले कर्मचारीको पोल खोलेको थियो ।

साँच्च्किै उत्कृष्ट कर्मचारी कपिल लामिछाने बन्नुभयो तर उहाँलाई उत्कृष्ट कर्मचारी घोषणा गर्न भने मैनाले पाएन । घोषणा गर्ने बेला इन्टरनेटमा समस्याका आएकाले रोबोटले उत्कृष्ट कर्मचारीको नाम घोषणा गर्न पाएन । 

टेलिकमको प्रादेशिक कार्यालय सुन्धाराबाट आइतबारदेखि रोबोटमार्फत सेवा शुभारम्म गरिएको हो । आइतबार रोबोटको डेमो प्रदर्शन गरेर सेवा सुरु गरिएको हो । 

टेलिकमले प्रदान गर्दै आएको सेवा छिटो छरितो र सहज पार्नका लागि पहिलो पटक रोबोटको प्रयोग थालिएको कार्यालयले जनाएको छ । 

कार्यालयमा भिड हुँदा ग्राहकले सो कार्यालयमा पाउने सेवाबारे रोबोटबाटै जानकारी लिन सकून् भन्ने उद्देश्यले रोबोट राखिएको कार्यालयले जनाएको छ । 

रोबोटनजिक गएर डिस्प्लेमा रहेको अगाडि बढ्नुहोस् लेखिएको बटनमा थिचेर प्रश्न सोध्न सकिन्छ । प्रश्न सोधेपछि रोबोटले तत्काल जवाफ दिन्छ  । 

मैना नाम दिइएको रोबोटले महिलाको आवाजमा जवाफ दिएको थियो । यो पाइलट प्रोजेक्ट भएकाले यसमा सफलता पाएसँगै टेलिकमले ग्राहकको भिड हुने अन्य कार्यालयमा पनि यस्ता रोबोट राखिने योजना बनाएको छ ।

नेपाल टेलिकम सुन्धारा कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीले कार्यालयमा आउने सेवाग्राहीले राखेका जिज्ञासासहित टेलिकमको सेवा र नयाँ प्याकेजको जानकारी रोबोटले दिने बताउनुभयो । पहिलो पटक सुन्धारा कार्यालयबाट परीक्षणका लागि रोबोटबाट सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

सुन्धारा कार्यालयमा दैनिक दुई सयदेखि तीन सय ग्राहक आउने हुँदा काउन्टरमा धेरै भिडभाड हुने गर्दा सेवा प्रवाह गर्न समय लाग्ने भएकाले सेवा छिटोछरितो प्रवाह गर्न रोबोटको प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । 

“यो नयाँ भएकाले रोबोटलाई बिस्तारै सिकाउँदै छौँ, यसलाई पूर्ण  रूपमा शिक्षित बनाउन केही समय लाग्छ,” पन्थीले भन्नुभयो, “रोबोटले ग्राहकलाई धेरै नै सहज बनाउने छ ।” 

विदेशीलाई समेत सेवा लिन सहज होस् भनेर रोबोटलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा सिकाइएको उहाँले जानकारी दिनुभयो । एउटै कुरा कर्मचारीलाई पटक पटक सोधिरहन ग्राहकलाई अप्ठ्यारो हुने हुँदा रोबोटबाट सोध्न सहज हुने कार्यालयले जनाएको छ । बलियो भेन्चर नामक कम्पनीले यस रोबोटको निर्माण गरेको हो ।

रोबोटमा धेरै सोधिने पाँच/छ सय वटा प्रश्न सेट गरिएका छन् । ग्राहकले सोध्ने प्रश्न र रोबोटले दिने उत्तरसमेतलाई आधार बनाएर यसलाई थप अपग्रेड गर्दै लैजाने र यसले दिने जानकारी पनि थप परिष्कृत हुँदै जाने बलियो भेन्चर कम्पनीले जनाएको छ ।