• ८ मंसिर २०८१, शनिबार

सिँजा गाउँपालिका-२ का सबै बालबालिका विद्यालय पहुँचमा

blog

सिञ्जा गाउँपालिका –२ शतप्रतिशत विद्यालय घोषणा तथा बालविवाह मुक्त घोषणा तस्बिरः नेत्र शाही

नेत्र शाही

जुम्ला, मङ्सिर २ गते । सिँजा गाउँपालिकाको वडा २ बालविवाह मुक्त र विद्यालयमा शतप्रतिशत बालबालिकाको पहुँच वडा घोषणा भएको छ । बालविवाह मुक्तका लागि आधार तयार भएपछि पालिका घोषणा गरिएको हो । 

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भव्य कार्यक्रमबिच बालविवाह मुक्त र विद्यालयमा शतप्रतिशत बालबालिकाको पहुँच वडा घोषणा गर्नुभयो । कार्यक्रम तथा विभिन्न १५ वटा सूचक पार गरी ९४.५ प्रतिशत गरेर बालविवाह मुक्त भएको तथ्याङ्कपछि वडा बालविवाह मुक्त घोषणा गरिएको छ । 

वडाध्यक्ष तीर्थ वडका अनुसार बालविवाह मुक्त वडा घोषणासँगै ५ वर्षदेखि १५ वर्षका बालबालिका सबै विद्यालयको पहुँच अर्थात् शतप्रतिशत बालबालिका विद्यालय गएको घोषणा भएको छ । वडाध्यक्ष वडका अनुसार वडा नम्बर २ का माध्यामिक विद्यालय चुलेलगाउँका तीनसय विद्यार्थी, रुपनी आधारभूत विद्यालय रनुखाना ३५ जना, कालिका मावि बिष्टवडामा ३७ जना बालबालिका विद्यालयको पहुँचमा पुगेका छन् । 

वडापालिकाले पूर्वसन्ध्यामा अघिल्लो दिन शुक्रवार वडा २ का ५ वटै टोलमा प्रत्येक बस्तीमा रैलीसहित सचेतना गरेको थियो । सिँजाको वडा २  तेस्रो बालविवाह मुक्त वडा पालिका र दोस्रो शतप्रतिशत विद्यालयमा बालबालिकाको पहुँच पुर्‍याउने वडा हाे । 

सिञ्जा गाउँपालिकाले यसअघि वडा नम्बर ४ र ६ बालविवाह मुक्त वडा १ नम्बर वडा विद्यालयमा शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुर्‍याएर घोषणा गरिएको जनाएको छ ।