• ७ मंसिर २०८१, शुक्रबार

विमला चाम्लिङ सम्मानित

blog

काठमाडौँ, मंसिर १ गते । साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई ‘मौलाशोभा राई आमा सम्मान–२०८१’ बाट सम्मानित हुनुभएको छ ।

अनलाइन अभिलेखको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा राईलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि वैरागी काइँला, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, नेपाल स्रष्टा समाजका अध्यक्ष, वरिष्ठ साहित्यकार एवं सम्मान छनोट समितिका संयोजक श्रीओम श्रेष्ठ ‘रोदन’, मौलाशोभा राई लगायतले नगद पचास हजार राशि, ताम्रापत्र र दोसल्लासहित राईलाई सम्मान अर्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति काइँला र विशिष्ट अतिथि उपसभामुख इन्दिरा रानाले मैनबत्ती बालेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

प्रमुख अतिथि पूर्व कुलपति काइँलाले जन्म दिने आमाको नाउँमा आमालाई सम्मान गर्नु सराहनीय कार्य भएको र आमाको दुखको कहानी धेरै गहिरिएर कुनै पनि साहित्यकारले आजसम्म नलेखेको बताउँदै आमाको भूमिकाबारे धेरै लेखिन बाँकी रहेको बताउनुभयो ।

विशिष्ट अतिथि उपसभामुख इन्दिरा रानाले सम्मानित व्यक्तित्व आमा विमला राईसँग बाल्यकालमा बिताएको सम्झना र सिकेका अनुशासनबारे स्मरण गर्दै आमाहरूको सम्मान राज्यले मात्र नभएर हरेक व्यक्तिले गर्नुपर्नेमा जोड दिनुभयो । साहित्यकार पारिजातसँग भेट्दाका अनुभूति पनि उहाँले साट्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्मानको थालनी गरेका डा. पुरण राई र सम्मानित आमा विमला दुवै बधाईको पात्र भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “आमाको नाउँमा कमाइको केही अंश छुट्टयाएर अर्की आमालाई सम्मान गर्नु आदर्शवादी छोराको उत्कृष्ट नमूना हो। आजको कार्यक्रममा सहभागी सबैले यो सकारात्मक सन्देशलाई फैलाउनुपर्छ। सम्मानित व्यक्तित्त्व संघर्षले खारिएर सार्थक जीवन बिताएकी महिला हुन्।”

स्रष्टा समाज नेपालका अध्यक्ष रोदन संयोजक रहेको छनोट समितिमा डा.चमा थुलुङ, विमला तुम्खेवा, कमल ज्ञवाली र सिद्धराज राई सदस्य हुनुहुन्थ्यो ।

नेपाली साहित्यमा दीपा राई पुनले पुरयाएको योगदानस्वरूप उनकी आमालाई सम्मान गरिएको हो। दीपा राई पुनको जन्म दिनको अवसर पारेर उनकी आमा विमला साङपाङ राईलाई सम्मानले गरिएको हो।

साहित्यकार डा. राईको केही समयअघि  वसन्त ऋतु उपन्यास, लाशमाथिको मानव नाटक, अस्तु कथासंग्रह, कोभिड डायरी डरका बिम्बहरू, सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता अलङ्कारविधानको जस्ता कृति प्रकाशित छन्।