• २५ पुस २०८१, बिहिबार

खेलका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ : मुख्यमन्त्री कार्की

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

निशा राई 

धरान, मंसिर १ गते । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी १० वर्षमा नेपाली टिमलाई वर्ल्ड कपमा पुगाउने उद्देश्यसहित लिखित योजना लिएर आए प्रदेश सरकारले लिखित सम्झौता गरेर सहयोग गर्ने बताउनुभएको छ ।  

शनिबार कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा एन्फा एकेडेमीका खेलाडीलाई फुटबल सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेश सरकारले यस यस वर्षको फागुन महिनासम्ममा २५ लाखदेखि ३० लाख बजेट छुट्याउने र आगामी दश वर्षसम्ममा विश्व कपमा खेल्न सक्ने योजना बनाउन आग्रह गर्नुभयो ।

विश्वको सबैभन्दा धेरै खेलिने र लोकप्रिय खेल नै फुटबल खेल रहेकाले प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्न तयार रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । हाम्रो देशमा खेलसम्बन्धी लगानी कम रहेकाले पनि नेपालको खेल विश्वमा राम्रो स्तरसम्म पुग्न नसकेको पनि उहाँले बताउनुभयो । 

खेलकुदले खेलाडीलाई मात्र चिनाउने नभई समग्र राज्यलाई समेत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भएकाले यसका लागि बजेट छुट्याउने मुख्यमन्त्री कार्कीको भनाइ छ । 

धरान खेलकुद सहरको रूपमा चिनिए पनि सबै तहको सरकारले उपेक्षा गरेको कोशी प्रदेशको सांसद विजयकुमार राईले बताउनुभयो । “धरानलाई खेलकुदमा सबैभन्दा बजेटकै अभाव रहेका कारण पनि खेलकुदले भनेजसो प्रगति गर्न नसकेको हो” उहाँले भन्नुभयो । आगामी वर्षदेखि खेलकुदलाई बजेट छुट्याउन सरकारलाई आग्रह गर्नुभयो ।

एन्फा एकेडेमी धरानको ३० जना खेलाडीलाई जर्सी, जुत्ता, ट्रयाकसुट लगायतका फुटबल सामग्रीहरू वितरण गरिएको छ । कार्यक्रममा कोशी प्रदेशको सांसद रमेशकुमार बस्नेत, वरिष्ठ पत्रकार हर्ष सुब्बा, नेकपा (एमाले) धरानका अध्यक्ष हर्कजङ्ग एभेङ, मजदुर सङ्गठनको केन्द्रीय अध्यक्ष भिमज्वाला राई लगायत विभिन्न राजनीतिक दलहरूको प्रतिनिधि तथा खेलाडीहरूको उपस्थिति थियो ।