• २५ पुस २०८१, बिहिबार

बैङ्किङ क्षेत्रको ऐतिहासिक दिन

blog

विश्वमा १७ औँ शताब्दीतामा नै सुरु भएको बैङ्किङ अभ्यास नेपालमा आइपुग्न २० औँ शताब्दीको पनि अन्त्यसम्म पर्खनु पर्‍यो । नेपालको बैङ्किङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैङ्क लिमिटेड’ को स्थापनाबाट भएको हो । नेपाल बैङ्क नेपालको पहिलो बैङ्क हो जसको स्थापना १९९४ साल कात्तिक ३० गते भएको हो । नेपाल बैङ्क कानुन १९३७ अनुसार स्थापना भएको यस बैङ्कको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् । त्यतिबेला पनि सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सुरु भएको यस बैङ्कमा १० जना लगानीकर्ता थिए । आठ लाख ४२ हजार चुक्ता पुँजीबाट सुरु भएको बैङ्कको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो । 

नेपालमा बैङ्किङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैङ्कको भूमिका अतुलनीय छ । यसको आफ्नै लामो गौरवमय इतिहास छ । नेपालमा औपचारिक बैङ्किङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैङ्क लिमिटेडलाई जान्छ । 

भारतीय रुपियाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैङ्क लिमिटेडले खेलेको भूमिका इतिहासका स्वर्णिम पानामा सदा लेखिइरहने नै छ । त्यसै गरी विसं १९९४ देखि २०१३ सम्म देशको केन्द्रीय बैङ्कको भूमिकासमेत निर्वाह गरेको नेपाल बैङ्क नेपालको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको गौरवशाली बैङ्क हो । नेपालको आर्थिक विकासमा अग्रणी भूमिका खेलेको नेपालको पहिलो बैङ्क नेपाल बैङ्क विसं १९९४ देखि हालसम्म अनवरत विश्वासको ८८ औँ वर्षसम्म अटुट रूपमा बैङ्किङ सेवा प्रदान गर्न सफल भई आफ्नो निरन्तर यात्रामा गतिशील रूपमा लागि परिरहेको छ ।

हरेक नेपालीजनको अटुट साथ

स्थापनाकालदेखि हालसम्म पनि अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैङ्क नेपाली माटो र हरेक नेपाली जनसँग प्रगाढ सम्बन्ध गाँसिएको बैङ्क हो । बालक, युवा र प्रौढ हुँदै ज्येष्ठ नागरिक सबैको पहिलो रोजाइको बैङ्क बन्न सफल नेपाल बैङ्कमा हाल २५ लाखभन्दा बढी ग्राहक छन् । पुस्तौँदेखि पुस्तासम्म गहिरो इतिहास भएको यो बैङ्क हाल ‘सबै पुस्ताको साथी’ का रूपमा अगाडि बढिरहेको छ । सरकारी वित्तीय कारोबार गर्ने जिम्मेवारी पाएका कारणले पनि नाफा मात्र नभई उच्च सेवा भावले आमनेपालीको मन मस्तिष्कमा रहन यो बैङ्क ओतप्रोत छ । बैङ्कको मूल ध्येय नै ग्राहकलाई कसरी गुणस्तरीय र सहज ढङ्गले वित्तीय सेवा उपलब्ध गराउने भन्नेमा छ ।

ठुला उद्यमी व्यवसायीदेखि सामान्य आर्थिक स्तर भएका नेपालीजनको प्राथमिकतामा नेपाल बैङ्क सधैँ अग्रपङ्क्तिमा रहेको यथार्थ हामी सबैसामु छर्लङ्ङै छ । नेपाल बैङ्क आफ्नो ८८ बर्से लामो यात्रामा लाखौँ नेपालीको मन जितेर उनीहरूको पहिलो रोजाइको बैङ्क बन्न सफल भएको छ । सेवाग्राहीको यही अटुट साथ र सहयोगले बैङ्कलाई थप हौसला प्रदान गर्दै अघि बढ्न प्रेरित गरिरहेको छ 

वित्तीय साक्षरता तथा वित्तीय समावेशीकरणमा योगदान

बैङ्क भनेको समेत थाहा नभएका आमसर्वसाधारणलाई बैङ्किङको अनुभूति गराउने जननी नै नेपाल बैङ्क हो । आमजनतामा बचत गर्ने बानीको विकास गर्ने साथै उद्योगी व्यवसायीलाई लगानी गर्न कर्जा प्रदान गर्ने अभिप्रायले नै यो बैङ्क खोलिएको हो । तत्कालीन साहु महाजन तथा व्यापारिक केन्द्रमा सीमित रहेका आर्थिक लेनदेनका कार्यलाई औपचारिक माध्यमबाट सञ्चालन गर्ने कार्य नेपाल बैङ्कबाट नै भएको हो । सुरुवाती समयमा धातुको टोकन, लेजर बुक जस्ता माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने र सो को रेकर्ड पासबुकमा राखी ग्राहकलाई दिने अवस्थाबाट अहिले डिजिटल बैङ्किङलगायतका अत्याधुनिक प्रविधिमार्फत बैङ्किङ सेवा प्रदान गरिरहेको छ । 

सहरदेखि गाउँसम्म हिमालदेखि तराईसम्म बालक, युवा, प्रौढ, ज्येष्ठ नागरिक, विद्यार्थी, महिला, कृषक रेमिटान्स प्रापक सबैलाई वित्तीय साक्षरताका कार्यक्रममार्फत वित्तीय सचेतना प्रदान गर्दै वित्तीय समावेशीकरणमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ । बैङ्कले डिजिटल बैङ्किङलाई प्रवर्धन गर्न डिजिटल बैङ्किङको महìव तथा यसका जोखिमसम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले डिजिटल बैङ्किङ वित्तीय साक्षरताका कार्यक्रम देशव्यापी सञ्चालन गरिरहेको छ ।

सबै पुस्ताको साथी

८८ वर्षअघि स्थापना भएको नेपाल बैङ्क सबैभन्दा जेठो बैङ्क भएकाले सबै पुस्ताका व्यक्ति यस बैङ्कमा समेटिएका छन् । ज्येष्ठ नागरिक र प्रौढ व्यक्तिको यस बैङ्कप्रतिको अटल विश्वासले उनीहरूको समस्त परिवारमा नै बैङ्क भनेकै नेपाल बैङ्क भन्ने अमिट छाप बसेको छ । त्यसैले त बालक, युवा, प्रौढ र ज्येष्ठ नागरिक सबैको साझा रोजाइ बन्न सफल नेपाल बैङ्क सफल भएको छ । उद्यमी, व्यवसायीदेखि सामान्य आर्थिकस्तर भएका नेपाली जनको रोजाइ बनेको यस बैङ्कले ग्राहक सेवालाई उच्च प्राथमिकतामा राखेर निरन्तर कर्म गर्दै आएको छ । त्यसैले त नेपाल बैङ्क साँच्चै ‘सबै पुस्ताको साथी’ बनेको छ ।

अत्याधुनिक प्रविधिको प्रयोग

नेपाल बैङ्क परम्परागत बैङ्किङबाट एकै पटक आधुनिक बैङ्किङमा सफलताका साथ छलाङ मार्न सफल अब्बल बैङ्क साबित भएको छ । नेपाल बैङ्कले समयसँगै प्रविधिको उच्चतम प्रयोग र ग्राहक सुविधामा डिजिटल प्रविधिको प्रयोगलाई उच्च प्राथमकिता दिएर अगाडि बढेको छ । यसै क्रममा नेपाल बैङ्कका आठ लाखभन्दा बढी ग्राहकलाई मोबाइल बैङ्किङ सुविधा, २५ हजारभन्दा बढी ग्राहकलाई इन्टरनेट बैङ्किङ सुविधा, तीन लाखभन्दा बढी ग्राहकलाई डेबिट कार्ड सुविधा, तीन हजार दुई सयभन्दा बढी ग्राहकलाई क्रेडिट कार्ड सुविधा, एक लाखभन्दा बढी ग्राहकलाई मेरो सेयर तथा सिआस्वा सुविधा, २५ हजारभन्दा बढी क्युआर वितरण गर्दै आएको छ । देशका विभिन्न ठाउँमा रहेका २०५ एटिएम मेसिनबाट नगद निष्कासन गर्ने सुविधा तथा ट्राभल कार्डमार्फत विदेशबाट समेत कारोबार गर्ने व्यवस्था गरेको छ । 

यसै गरी आधुनिक बैङ्किङलाई आत्मसात् गर्दै अनलाइन चेक क्लिेयरिङ मेसिनमार्फत चेक क्लिेयरिङ गर्ने र क्यास डिपोजिट मेसिनमार्फत ग्राहक आफैँले नगद जम्मा गर्ने व्यवस्थासमेत गरेको छ साथै एटिएम कार्डमा ई कमर्स सुविधा साथै मोको डिजिटल वालेटमार्फत कारोबार गर्ने सुविधा थप्दै आधुनिक समयमा प्रचलित रहेका विभिन्न अनलाइन प्लेटफर्ममा समेत कारोबार गर्ने व्यवस्था गरेको छ । यसका साथै ग्राहक घरमै बसी बसी अनलाइनबाट र नागरिक एपबाट खाता खोल्ने सुविधा, अनलाइनबाटै डिम्याट खाता खोल्ने सुविधासमेतको व्यवस्था गरेको छ । डिजिटल नेपालको अभियानमा दर्बिलो सारथीका रूपमा आफूलाई उभ्याउन बैङ्कले प्रभावकारी डिजिटल बैङ्किङ सेवामा जोड दिएको छ ।

बैङ्कको वर्तमान अवस्था

सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भई बैङ्कले २२९ शाखामार्फत कारोबार गर्दै आएको छ । बैङ्कले शाखासँगै २०५ वटा एटिएम, ६० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ । यति मात्रै होइन, हाल आएर नेपाल बैङ्कले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सफल भइरहेको छ । बैङ्कका सबै वित्तीय सूचक स्वस्थ र सन्तुलित देखिन्छन् साथै हरेक वर्ष ती सूचकमा उल्लेख्य प्रगति भइरहेको छ । विस. २०८१ असार मसान्तसम्म २८३ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ९७ अर्ब कर्जा प्रदान गर्न बैङ्क सफल भएको छ । ८८ वर्षअघि आठ लाख ४२ हजार रुपियाँबाट सुरु भएको नेपाल बैङ्कको चुक्ता पुँजी अहिले १४.६९ अर्ब छ । प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैङ्कको जगेडा कोषमा २२.६९ अर्ब रुपियाँ रहेको छ भने ३७ अर्ब बढी नेटवर्थ रहेको छ । प्रशस्त अचल सम्पत्ति, कासा निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाव, खराब कर्जा व्यवस्थापनलगायतका सूचकमा समेत बैङ्क दरिलो देखिन्छ । त्यसैले हरेक वित्तीय परिसूचकका आधारमा नेपाल बैङ्क नेपालको बैङ्किङ क्षेत्रको एउटा सशक्त बैङ्कका रूपमा उभिएको छ । आधुनिक प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्य रहेको यस बैङ्कमा करिब ३५०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् । 

ग्राहक सेवामा व्यापक परिवर्तन

नेपाल बैङ्क पुरानो बैङ्क भएको र त्यहाँको ग्राहकसेवा पुरानै ढर्रामा चलिरहेको आमजनमानसको धेरैअघिदेखिको बुझाइ हो । सरकारी बैङ्क भएकाले पेसागत सोच एवं कार्यसंस्कृति कमजोर हुने र ग्राहक सेवाभन्दा पनि जागिरे मानसिकताबाट ग्रसित हुने पद्धति विद्यमान छ भन्ने धारणा अहिले आएर गलत साबित भइसकेको छ । नेपाल बैङ्कले आफ्नो ग्राहक सेवामा जुन फड्को मारिरहेको छ त्यसै अनुसार आमग्राहकको धारणामा समेत व्यापक परिवर्तन आएको छ । हालका वर्षमा नेपाल बैङ्कले प्रभावकारी ग्राहक सेवा र संस्थागत कार्यसंस्कृतिमा ठुलो सकारात्मक परिवर्तन गरेको देखिन्छ । 

सङ्क्षेपमा

आफ्नो ८८ बर्से इतिहासका दौरानमा नेपाल बैङ्कले धेरै आरोहअवरोह सहनु प¥यो । आमनेपालीको अटुट साथ र दिगो सम्बन्धले नै बैङ्कले हरेक चुनौती पार गर्दै वित्तीय क्षेत्रको बलियो खम्बाका रूपमा आफूलाई स्थापित गराउन सफल भएको हो । यात्रामा आउने जस्तासुकै चुनौती र अप्ठ्यारा परिस्थितिलाई पार लगाउन बैङ्क पूर्ण रूपले सक्षम छ । सरकार साथै अन्य धैर्यवान् सेयरहोल्डर, दक्ष तथा प्रतिस्पर्धी जनशक्ति, सन्तुष्ट तथा बफादार ग्राहक र आमनेपालीको सद्भाव, सहयोगले गर्दा नै जस्तोसुकै परिस्थितिमा पनि नेपाल बैङ्क अब्बल ठहरिँदै आएको छ । यसकोे सफलताको यात्रा अटुट रूपमा जारी रहिरहने छ । 

 

Author

अर्जुनबहादुर कँडेल