• १२ पुस २०८१, शुक्रबार

राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान

blog

फाइल तस्बिर

अजरबैजान, कात्तिक २९ गते । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप-२९) मा सहभागी भएर आज यहाँबाट नेपालका लागि प्रस्थान गर्नुभएको छ । 

बाकुबाट कतारको दोहा हुँदै स्वदेश फर्कनुहुने उहाँको निजी सचिवालयले जानकारी दिएको छ । उहाँलाई यहास्थित हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री तेमुर मुसाएभले बिदाइ गर्नुभयो ।  

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुग्नुभएको हो । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता छ । 

राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उहाँले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गर्नुभयो । “ हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौँ, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्‍याउँछ भन्ने विश्वले बिर्सन हुन्न”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

मंगलबार नै राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उहाँका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा भएको भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र परेका छौँ, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्त प्रयास गर्नुपर्छ भन्नुभयो ।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन बुधबार यहाँ  राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलन (कोप-२९) अन्तर्गत नेपालले आयोजना गरेको ‘माउण्टेन इन पेरिल, एडेसिङ लस एण्ड डयामेज इन द हिमालय’ (पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन)  शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई उहाँले सम्बोधन गर्नुभयो । 

यस्तै बुधबाार नै राष्ट्रपति पौडेलले किर्गिस्तानद्वारा जलवायु सम्बन्धमा बाकुमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको थियो । सोही दिन कोप-२९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखसँग बाकुमा गर्नुभएको सामूहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरूबाट अनुदान उपलब्ध गराउन संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसलाई आग्रह गर्नुभयो । 

यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल’ (एनसिक्युजी) रहेको छ । सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । कोप-२९ मा भाग लिन राष्ट्रपति पौडेल कात्तिक २५ गते आइतबार काठमाडौँबाट दोहाको लागि प्रस्थान गर्नुभएको थियो ।  सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ । 

यो पनि पढ्नुहोस

जलवायु न्यायका लागि रस्साकस्सी

जलवायु न्यायको आवाज

जलवायु वार्ताहरुमा सहकार्य गर्न जोड

विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन : राष्ट्रपति पौडेल

जलवायु परिवर्तनको असर मानव सभ्यता नै जोखिममा

धनी मुलुकका कारण पर्वतीय मुलुकमा समस्याः राष्ट्रपति पौडेल

आज कोप–२९ शिखर सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन

राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबिच भेट