• २९ कात्तिक २०८१, बिहिबार

जलवायु परिवर्तनको असर मानव सभ्यता नै जोखिममा

blog

जलवायु परिवर्तनका कारण मानव समाजमा परेका असर एक होइन, अनेक छन् । शिक्षा, स्वास्थ्य, खाद्यान्न, पानी, सुरक्षादेखि शान्ति र खुसीमा समेत जलवायु परिवर्तनको प्रत्यक्ष नकारात्मक असर छ । जलवायु परिवर्तनका कारण भइरहेको तापक्रम वृद्धिले हिमालदेखि महासागरसम्म परेका असरले उत्पन्न समस्या लेखाजोखा गरिसाध्य छैन । यी असरभन्दा अझ डरलाग्दो असर भनेको यही गति कायम रहने हो भने मानव सभ्यता नै सङ्कटमा पर्न सक्ने चेतावनी विज्ञहरूबाट आइरहेको छ । पृथ्वीको बढ्दो तापक्रमको गति न्यून गर्न सकिएन भने हाम्रै आँखाअगाडि विश्वको जनसङ्ख्या आधा कम हुन सक्ने आकलन भइरहेको छ ।

अहिले सात अर्ब जनसङ्ख्या रहेको विश्वमा केही दशकपछि आधा जनसङ्ख्या घट्दा मानव सभ्यता मात्र होइन सृष्टिको अवस्था नै कस्तो होला अनुमानै गर्न सकिँदैन । डेढ दशकअघि नै वातावरण वैज्ञानिकले अहिले जुन अनुपातमा जलवायु परिवर्तन भइरहेको छ । यही अवस्था कायम रहे सन् २०५० सम्म पृथ्वीको तापक्रम औसतमा चार डिग्री बढ्ने र त्यतिबेला पृथ्वीको जनसङ्ख्या नै आधा घट्ने चिन्तायुक्त भविष्यवाणी गरिसकेका छन् ।

सन् १९६० को दशकपछि पृथ्वीमा भएको द्रुत औद्योगिक विकास तथा जनसङ्ख्या वृद्धिले ल्याएको नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकले औँल्याउँदै आएका छन् । मूलतः जीवाश्म इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्गलको विनाश भई त्यस्तो ग्याँस अवशोषणमा आउने कमीले भूमण्डलीय तापक्रम बढेको हो । कोइला, खनिज तेल र ग्यास जस्ता वस्तुको बढ्दो दोहनले वायुमण्डलमा बढी कार्बनडाइअक्साइड पुग्छ । जङ्गल फडानी र भूक्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधिका गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेका हुन्छन् । 

पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्छ त्यति नै विकिरण पुनः अन्तरिक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा असन्तुलन भएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ । पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बनडाइअक्साइ जस्ता हरित गृह ग्यास र ओजन तह विनाश गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ । परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदै छ । 

सन् २०२३ आधिकारिक रूपमा सबैभन्दा तातो वर्ष मानिए पनि सन् २०२४ ले त्यो रेकर्ड पार गर्ने सम्भावना ९५ प्रतिशत रहेको विज्ञ बताउँछन् । उच्च गर्मीले विशेष गरी साना बालबालिका, वृद्धवृद्धा र दीर्घकालीन स्वास्थ्य अवस्था भएका व्यक्तिलाई खतरामा पार्न सक्छ । हालसम्म गर्भवती महिलाका विषयमा जलवायु परिवर्तनको बारेमा खासै अध्ययन भएको छैन । गर्भावस्थाको समयमा, हार्मोनल परिवर्तन हुने र अत्यधिक गर्मीले आमा र उनको गर्भमा रहेको बच्चा दुवैलाई गम्भीर प्रभाव पार्न सक्छ । यस्तो अवस्थामा आमामा उच्च रक्तचापको समस्यादेखि गर्भको शिशुको मृत्युसम्मका घटना बढ्न सक्छन् । 

सो कुराको खुलासा केही समयअघि पश्चिम अफ्रिकी मुलुक जाम्बियाका ग्रामीण भेगका गर्भवती महिलामा जलवायु परिवर्तनले उनीहरूको शरीर विज्ञानलाई कसरी असर गर्छ भन्ने कुराको अध्ययनबाट खुलेको हो । जाम्बियामा तापक्रम वृद्धिको प्रभाव अत्यधिक बढ्दो छ । त्यहाँ तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्न सक्छ । विगत ६० वर्षमा औसतमा एक डिग्री सेल्सियसले बढेको छ । यस्तोमा ग्रामीण भेगका अधिकांश महिला कृषिमा संलग्न हुने र तेज घाममा श्रम गर्नुपर्ने हुँदा उनीहरूको शारीरिक–मानसिक स्वास्थ्य अवस्थाको अनुसन्धान गरिएको हो । 

बिबिसीले सार्वजनिक गरेको जाम्बिया मेडिकल रिसर्च युनिटमा आधारित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन (एलएसएचटीएम) का प्राज्ञिक चिकित्सक आना बोनेलको नेतृत्वमा गरिएको अनुसन्धानका क्रममा खेती किसानी गर्ने ती महिला गर्मीका कारण अत्यन्त तनावमा रहने र निकै कमजोर रहने गरेका छन् ।

उपरोक्त टिपोट अध्ययनको सानो अंश मात्र हो र यसले मानव सभ्यता जोखिमपूर्ण बन्दै छ गएको स्पष्ट देखाएको छ । पछिल्लो समय अत्यधिक उपयोगमा रहेको सूचना प्रविधिसँग सम्बन्धित यन्त्र पनि जलवायु परिवर्तनको अर्को स्रोत बन्न पुगेको छ । मानिसको सुविधाका लागि विकसित गरिएका प्रविधिले तत्काललाई सजिलो बनाए पनि दीर्घकालीन रूपमा यसको नकारात्मक प्रभाव एक–दुई होइन अपार देखिने छन् । यसको सदुपयोग हुन नसक्दा निम्तिने आर्थिक, सामाजिक समस्या त छँदै छ, वातावरणीय समस्या पनि जोडिएर आउन थालेको छ । उद्योग कलकारखाना जस्तै प्रविधिको प्रयोग हुँदा वातावरणमा मिसिने विकिरणले झन् जोखिम बढाएको छ ।

यति मात्र होइन, जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम अस्वाभाविक बढ््न जाँदा मानव स्वाभावमा समेत परिवर्तन आउन थालेको छ । हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध वृद्धिमा जलवायु परिवर्तनको ठुलो योगदान रहेको वैज्ञानिकले पुष्टि गर्दै गएका छन् । जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । यसको गति कति स्वाभाविक र कति अस्वाभाविक छ भन्ने मूल विषय हो । स्वाभाविक परिवर्तनले जीवन र जगतमा खासै ठुलो प्रभाव पार्दैन किनभने त्यसमा जीवनदेखि वनस्पतिसम्मले सोही अनुरूप समायोजन हुन सक्छ तर अस्वाभाविक परिवर्तनका कारण हुने छिटोछिटो तापक्रम वृद्धिमा त्यो सम्भव छैन । यसले कतिपयको अस्तित्व लोप हुने अवस्थामा पुग्छ, अहिले त्यस्तै भइरहेको छ । 

विश्व तापमान वृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील क्षेत्र भनेको हिमनदी हो । हिमनदीको आकार हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्छ । यसको प्रत्यक्ष असर नेपालका हिमाली क्षेत्रमा देखा परिसकेको छ । गत साउन ३२ गते सोलुखुम्बुको थामेको शिरानमा रहेका पाँचमध्ये दुई हिमताल फुट्नुको मुख्य कारण पनि जलवायु परिवर्तन नै हो । पूर्वदेखि सुदूरपश्चिमसम्म रहेका अन्य हिमतालको अवस्था पनि जोखिमपूर्ण नै छ । यी ताल कुनै पनि बेला विस्फोट हुन सक्ने भविष्यवाणी भइसकेको छ । 

जलवायु परिवर्तनको असर नेपालमा प्रत्यक्ष देखा परिसकेको छ । खाद्यान्न बालीको उत्पादन चक्र बदलिएको छ । तराई र हिमाली क्षेत्रमा तापक्रम वृद्धिको अनुपात पनि मिल्दो छैन । हिमाली क्षेत्रमा छिटो तापक्रम बढिरहेको विभिन्न तथ्याङ्कले देखाइरहेका छन् । यसले गर्दा नेपालको कृषि प्रणालीमा ठुलो असर परिरहेको छ । नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धेरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ । जलवायु परिवर्तनले गरिबीलाई अझ जोखिममा पार्छ । सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइमा पर्ने छन् । 

प्राकृतिक समस्या मात्र होइन मानिस तथा पशुपन्छीले समेत समस्या भोग्नु परिरहेको छ । कतिपय जीव तथा पशुपन्छी लोप हुँदै गइरहेका छन् । मौसम अनुसार फल्ने फुल्ने वनस्पति तथा चरा र जनावरको प्रजनन कार्य अनियमति हुन थालेको छ । यसले गर्दा पन्छी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुन गई सिङ्गो पारिस्थितिक प्रणाली (इको सिस्टम) मा नै खलल हुने सम्भावना बढेको छ । त्यसै गरी अनेक किसिमका रोगव्याधिको सम्भावना पनि बढ्न पुगेको छ । हिमाली क्षेत्रमा लामखुट्टे देखापर्नु यसैको कारण हो ।

उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टे जस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ । तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रममा तीव्रता आइरहेको छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुन गई व्यापक बसाइँसराइ देखापर्ने निश्चित छ र यसको सुरुवात भइसकेको छ । 

जलवायु परिवर्तनका कारक मानिएको धनी तथा औद्योगिक मुलुकहरूले पनि यसबाट उत्पन्न हुने सङ्कटसँग जुध्न सक्ने अवस्था छैन । धनी मुलुकको छिमेकमा रहेको गरिबीको सागर बाँच्नकै लागि बसाइँ सर्नुपर्ने अवस्थाको सिर्जनाले ती मुलुक स्वयम् आर्थिक सामाजिक सङ्कटमा पर्दै जाने निश्चित जस्तै छ । यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, खानेपानी तथा खाद्यान्नको अभावले अर्को समस्या सिर्जना गर्ने छ । 

यी समस्या एकातिर छन्, प्राकृतिक अवस्थालाई पुनः कायम गर्न वा लयमा फर्काउने प्रयास भविष्यमा गरिए पनि अहिले कायम रहेको वातावरणीय विकृतिको प्रभाव सदियौँसम्म कायम रहने छ । जापानको हिरोसिमा र नागासाकीमा आणविक बम विस्फोट गराइएको पौने शताब्दी भइसक्यो तर अझै त्यसको असर बाँकी छ । यसबाटै हामीले बुझ्नु पर्छ कि वायुमण्डलमा थुप्रिएको फोहोरको असर तत्काल सफा हुने कुनै सम्भावना छैन । यसलाई न्यून गर्न तीव्र गतिमा काम नगर्ने हो भने भोलिका दिनमा मानव सृष्टि नै अवरुद्ध नहोला भन्न सकिन्न । 

मानिसको जीवन सुखदायी बनाउने नाममा भौतिक सुविधातिर मात्र बढी ध्यान दिँदा प्राकृतिक सन्तुलनको ख्याल गरिएन, जसको परिणाम अहिले विश्व नै जलवायु परिवर्तनको मारमा पर्दै गएको छ, पृथ्वीको तापक्रम यही अनुपातमा बढ्दै जाने हो भने सन् २०५० सम्म विश्वको जनसङख्या तीन खर्बमा सीमित हुने डरलाग्दो चेतावनीलाई विश्व समुदायले गम्भीर रूपमा लिनै पर्छ । आसन्न ‘कोप–२९’ मा नेपाल जस्ता मुलुकले जलवायु परिवर्तन र 

बढ्दो तापक्रमका कारण भोग्नु परेका समस्याका साथै सिङ्गो पृथ्वी जोगाउने र सृष्टि संरचनालाई सहज चलायमान बनाइराख्ने अभियानको नेतृत्व लिनु पर्छ । नेपाल विश्वका ती सीमित देशमा पर्छ– जो बढ्दो तापक्रमबाट अत्यधिक मारमा परेका छन् ।

 

Author

यादव देवकोटा