• ७ मंसिर २०८१, शुक्रबार

रोकियो हाइअल्टीच्यूड खेल मैदानको निर्माण

blog

निर्माणको काम रोकिएको टोड्केस्थित खेलमैदान । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक २९ गते । २०७८ सालमा सुरु भएको खेल मैदान निर्माणको काम रोकिएको छ । निर्माणको काम रोकिँदा पर्यटन तथा खेल क्षेत्रका व्यक्तिले चासो देखाएका छन् । 

हिमाली जिल्ला म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण सुरु भएको भए पनि त्यसले पूरा गति नलिएर रोकिँदा चिन्तित बनेका हुन् । समुद्री सतहदेखि दुई हजार चारसय ३० मिटर मिटरको उचाइमा रहेको सो स्थानमा रघुगङ्गा गाउँपालिकाले खेलमैदान बनाउन लागेको थियो ।

खेलमैदान निर्माण गर्नुको उद्देश्य राम्रो भए पनि त्यसले नतिजा नदिँदा स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । नेपाल होटल तथा रेस्टुरेन्ट व्यवसायी महासङ्घका केन्द्रीय सचिव ताराप्रसाद आचार्यले पर्यटन र खेलका लागि पनि निकै महत्त्वपूर्ण स्थानमा बन्न लागेको मैदान निर्माणको काम रोकिँदा मुलुकलाई घाटा हुने तर्क गर्नुभयो ।

उच्चस्थानमा आएर अभ्यास गर्दा खेलप्रतिभा राम्रो हुने थियो र त्यहाँ खेलाडी आउँदा पर्यटन व्यवसायलाई पनि राम्रो हुने भएकाले यसलाई जति सक्यो चाँडो सुरु गरिनु पर्ने उहाँले तर्क छ ।

उच्च स्थानका भूगोलमा खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले खेलमैदान निर्माण थालिएको भए पनि त्यसले सोचेअनुरूप काम गर्न नसकेको रघुगङ्गा गाउँपालिका –५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिनुभयो । 

२०७८ को कात्तिकमा सम्झौता गरेको ठेकेदारले खेलमैदान बनाउन थाले पनि उसले आफ्नो जिम्माको काम गरेपछि अरू थप काम हुन सकेन । टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनी नगरपालिका –१ को मनीषा निर्माण सेवासँग तत्कालीन अवस्थामा २३ लाख २३ हजार १४ मा ठेक्का सम्झौता भएको थियो ।

खेलमैदान निर्माण सम्पन्न गर्न ५१ लाख २० हजार आठसय ८० रुपियाँ लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले आफ्नो जिम्माको काम सकेको भए पनि थप बजेट नआएपछि काम अघि बढ्न नसकेको रघुगंगा गाउँपालिकाका तत्कालीन इन्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो ।

ठेक्कामार्फत जग्गा सम्माउने, ग्याबिन पर्खाल निर्माण गर्ने र अन्य क्रमागत योजनाको रूपमा थप बजेट विनियोजन गरेर खेलमैदान निर्माणलाई पूर्णता दिनेगरी गाउँपालिकाले योजना सुरु गरेको भए पनि पहिलो चरणको काम पूरा नहुँदै अरू काम अघि बढ्न नसकेको वडा अध्यक्ष शेरपुञ्जाले जानकारी दिनुभयो ।

रघुगंगा गाउँपालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमाक्षेत्रमा पर्ने टोड्के क्षेत्र धौलागिरि तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्दै खेलको मजा लिन उपयुक्त स्थान रहेको मङ्गला गाउँपालिका –१ का अध्यक्ष एकजित रोकाले जानकारी दिनुभयो । 

गुराँस जङ्गलको बिचमा अवस्थित टोड्केबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धवलागिरि सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावना रहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।