• ११ माघ २०८१, शुक्रबार

झाडीको पत्रमुनि पतरे पुल

blog

नारायणगढ, कात्तिक २७ गते  । चीन र भारतलाई स्थलमार्गबाट जोड्ने सडकमा रूपमा हेरिएको भरतपुर–ठोरी हुलाकीमार्गमा पर्ने ‘पतरे’ खोलामाथिको पुल निर्माणको काम अलपत्र बनेको छ । 

सात वर्षअघि सम्झौता भई पटक पटक म्याद थप गर्दा पनि पुल निर्माणको काम अघि बढ्न नसक्दा आयोजना नै अलपत्र परेको हो । भरतपुर–माडी–  ठोरी हुलाकीमार्ग आयोजना कार्यालय वीरगन्जका निमित्त प्रमुख सञ्जयकुमार ठाकुरले पुलको ‘बेस लेबल’ को काम गरेर पनि निर्माण कार्य रोकिएको बताउनुभयो ।  

“पुल निर्माणका लागि राखिएका रड खिया लागेर काम नै नलाग्ने अवस्थामा पुगेका छन् । अनि बनेका संरचना पनि खर, खडाईलगायतका झाडीले छोपेर देख्नै नसक्ने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो, “एकातिर पुल निर्माणको काम रोकिएको छ । अर्कातर्फ खोला पार गर्न नसकेर सधैँ यात्रुले सास्ती भोग्नुपरेको छ ।” 

उहाँले पुल निर्माण परियोजनाका लागि पैसा भए पनि ठेकदारले काम नगर्दा योजना अलपत्र बताउनुभयो । भरतपुर माडी ठोरी हुलाकी सडक निर्माण तथा स्तर उन्नतिको काम भइरहेका बेला यो पुल पनि निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि कार्यालयले लोहोनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते पहिलो पटक सम्झौता गरेको थियो । अहिलेसम्म तीन पटक म्याद थप हुँदा पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन । पुल निर्माणका लागि तीन करोड ८४ लाख २५ हजार ४६१ रुपियाँ सम्झौता अनुसारको रकम विनियोजित भई थन्किएको छ ।   

माडी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने यो पुल निर्माण कार्य रोकिन नहुने माडी नगरपालिकाकी प्रमुख ताराकाजी महतोले बताउनुभयो । वर्षाको समय र झरी परेका बेला यो चुरेबाट आउने ठाडो खोला भएकाले धेरै सर्वसाधारणले यात्राका क्रममा दुःख पाउनुपरेको उहाँको भनाइ छ । “भारतसँग सीमा जोडिएको सडकको स्तर वृद्धि हुँदै गर्दा यो पुल निर्माण हुन सकेन भने यसले सबै कार्य सम्पन्न भएका कामलाई पनि ओझेलमा पार्छ,” उहाँले भन्नुभयो । सडकभरि नै एउटा मात्रै पुल नहुँदा पनि त्यसले यातायात सञ्चालनमा अफ्ठ्यारो पार्ने उहाँको भनाइ छ । “अहिले पनि खोलामा हेलिएरै पार हुनुपर्ने बाध्यता छ । यसले त जोखिम बढाएको छ,” उहाँले भन्नुभयो ।  सडककै स्तर वृद्धि भइरहेको भरतपुर–माडी– ठोरी हुलाकी सडकमा अहिले ठुलासाना ११ वटा पुल निर्माण भइरहेका छन् । निर्माण भइरहेका पुलमध्ये आठ वटा पुलको निर्माण प्रायः सकिएको छ भने दुई वटा पुल निर्माणकै व्रmममा छन् । निर्माण भइरहेका पुलका लागि ६६ करोड रुपियाँभन्दा बढी बजेट विनियोजित पनि छ तर पतरे पुल भने निर्माण 

व्यवसायीको लापर्बाहीले निर्माण कार्य अघि बढ्न नसकेको गुनासो सर्वसाधारणको छ । 

माडीका समाजसेवी श्रीप्रसाद दवाडी माडीमा तीव्र रूपमा भइरहेको विकासमा जीर्ण अवस्थामा रहेको पतरे खोलामाथिको पुल निर्माणको कामले जिस्क्याइरहेको बताउनुहुन्छ । “माडीका पुलहरू निर्माण हुनु भनेको माडीको विकासले फड्को मार्नु हो । सडकको स्तर वृद्धि हुँदै छ । पुलहरू धमाधम बन्दै छन् तर एउटा पुल नबन्नु भनेको दाँतमा मासु अड्कनु जस्तै हो,” उहाँले भन्नुभयो । 

भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा भने समयमा निर्माण सम्पन्न नगरी लापर्बाही गर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने अधिकार आयोजनासँग भएको बताउनुहुन्छ । “निर्माण कम्पनीलाई सम्झाउने, बुझाउने हो । यदि पटक पटक म्याद थप्दा पनि काम हँुदैन भने त्यसको ठेक्का रद्द गर्ने अधिकार सम्बन्धित आयोजनालाई हुने छ,” उहाँले भन्नुभयो । 

आयोजनाका निमित्त प्रमुख सञ्जयकुमार ठाकुर पनि पतरे खोलामाथिको पुल निर्माणमा  निर्माण व्यवसायीले काम नगरेका कारण आफूहरूले ठेक्का रद्द गर्न प्रक्रिया अगाडि बढाएको बताउनुभयो । “२०८० असार मसान्तमा सकिएको म्याद अहिले थप भएको अवस्था पनि छैन । अब यो रद्द गर्ने नै हो,” उहाँले भन्नुभयो । 

पुल निर्माण कम्पनी लोहोनी ब्रदर्सका इन्जिनियर अनिल लोहोनी भने आफूहरूका कारणभन्दा पनि आयोजनाकै कारणले पुल निर्माणमा ढिलाइ भइरहेको दाबी गर्नुहुन्छ । “हामीलाई दिइएको पुल निर्माणको स्टिमेट योजना भौगोलिक अवस्थासँग नमिल्ने देखियो । त्यो ठाउँमा आउने पानीको बहावभन्दा तल पुल रहने भएपछि स्टिमेट परिवर्तन गर्ने सहमतिमा रोकिएको हो । अब नयाँ ढङ्गबाट अगाडि बढ्ने हो भने हामी योजना अगाडि बढाउन तयार नै छौँ,” उहाँले भन्नुभयो । 

हुलाकी सडक आयोजना निर्देशक कुवेरसिंह नेपाली पनि सम्झौता रद्द गर्ने प्रक्रियागत झन्झटिलो अवस्था हुने भएकाले सकेसम्म पुरानै ठेकेदारलाई काम गर्न दिनुपर्ने बताउनुहुन्छ । “काम नै नगरे त हाम्रो अन्तिम कुरा रद्द नै गर्ने हो । यदि ऊ काम गर्न तयार छ भने हामी केही महिना उसलाई सहज बनाउन सक्छौँ,” उहाँले भन्नुभयो । 

भरतपुर–माडी– ठोरी हुलाकी सडक चितवनको विकाससँग जोडिएको सडक हो । कुनै बेला नेपालकै मध्यपहाडी क्षेत्र तनहुँ, लम्जुङ, गोरखा, कास्कीलगायतका बासिन्दा नुन बोकेर हिँड्ने यो सडक अहिले भारत र चीनसँग सम्बन्ध राख्ने छोटो सडकका रूपमा पनि चिनिन्छ । यो सडक जति सक्दो छिटो निर्माण कार्य सक्नुपर्ने स्थानीयको माग छ ।