• १२ पुस २०८१, शुक्रबार

कास्कीमा ‘एक पालिका एक हुलाक’ कार्यालय

blog

कास्की, कात्तिक २६ गते । सरकारको हुलाक सेवालाई पुनःसंरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ ।  अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो ।

सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताउनुभयो ।

उहाँले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीअनुसार सेवा सुरु गरिएको बताउनुभयो । कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्दत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने निर्देशनालयका शाखा अधिकृत तुलसी आचार्यले जानकारी दिनुभयो ।

जिल्लाका बाँकी माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा समेत मङ्सिर पहिलो साताभित्रमा पालिका हुलाकका कार्यालय सञ्चालनमा ल्याइने योजना रहेको उहाँले जानकारी दिनुभयो । हुलाक निर्देशनालय मातहतमा जिल्लामा यसअघि १३ वटा इलाका हुलाक कार्यालय थिए । सरकारको नीतिअनुसार चारवटा इलाका हुलाक कार्यालयलाई पालिकामा रुपान्तरण गरेर बाँकी खारेज हुनेछन् ।

यसैगरी जिल्लामा यसअघि ३७ अतिरिक्त हुलाक कार्यालय रहेकामा चालु आवमा २२ छन् । पोखरा महानगरमा तीन काउन्टर सञ्चालनमा छ । अधिकृत आचार्यका अनुसार केन्द्रको नीतिअनुसार अतिरिक्त हुलाकमा रहेका कर्मचारीको उमेर ५८ वर्ष पुगेर कार्यालयमा कर्मचारीविहीन भएपछि बाँकी रहेका अतिरिक्त हुलाक कार्यालय समेत क्रमशः खारेज हुनेछ । सरकारले गत आवदेखि नै ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।