• ७ मंसिर २०८१, शुक्रबार

गुरुकुल सञ्चालन गर्न अक्षयकोष

blog

वालिङ समाचारदाता

वालिङ, कात्तिक २३ गते ।  देश तथा विदेशका धार्मिक तथा सामाजिक अभियन्ता, राजनीतिक दलका नेता यतिबेला कालीगण्डकीको उत्तरवाहिनीमा भेला भइरहेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ र पाल्पाको रम्भा गाउँपालिका–१, अर्सेदीमा अवस्थित उत्तरवाहिनीमा निकै चहलपहल छ । विभिन्न व्यक्तिको बाक्लो उपस्थितिले उत्तरवाहिनी क्षेत्रको रौनकता थपिएको छ । 

उत्तरवाहिनीमा कालीगण्डकी गुरुकुल सञ्चालनमा छ । यसलाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्न ११ करोड रुपियाँको अक्षयकोषको स्थापना गर्ने अभियान सुरु गरिएको हो । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण भन्नुहुन्छ, “अभियान सुरु भएको छ, यो महायज्ञमा कति सङ्कलन हुन्छ, हामी बिस्तारै सङ्कलन अभियानलाई चलाउँदै लैजाने छौँ ।” गत कात्तिक ९ बाट उत्तरवाहिनीमा ‘मातापिता पूजन एवं दामोदर महोत्सव’ चलिरहेको छ । कात्तिक ३० सम्म चल्ने धार्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता रहँदै आएको छ । महोत्सवमा धार्मिक तथा सामाजिक क्षेत्रका जानकारले दिनहुँ प्रवचन र भजनकीर्तन गर्दै आएका छन् । 

कक्षा ६ देखि १० सम्म (माध्यमिक तह) अध्ययन/अध्यापन हुने गुरुकुलमा ३३ जना विद्यार्थी अध्ययनरत छन् । शिक्षक र कर्मचारी १२ जना छन् । जसमध्ये नौ शिक्षक र तीन कर्मचारी हुन् । नौ शिक्षकमध्ये एक जना मात्रै स्थायी र बाँकी करार र निजी स्रोतका छन् । 

गत वर्षको एसइई परीक्षामा गुरुकुलबाट सहभागी विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएको प्रतिष्ठानका सहसचिव ऋषिश्वर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुकुलबाट नौ विद्यार्थी एसइईमा सहभागी भएका थिए  । गुरुकुलमा दक्ष, अनुभवी तथा विषय शिक्षकले अध्यापन गराइरहेका सचिव न्यौपानेले बताउनुभयो । गुरुकुलमा आधुनिक विज्ञान प्रयोगशाला, प्रविधिमैत्री पुस्तकालय, योग, व्यायामशालालगायतका सुविधा छन् ।