• ७ मंसिर २०८१, शुक्रबार

प्रजातन्त्रका अथक योद्धा

blog

‘महाराज’ नभनेर सिधै ‘तँ’ भनेपछि राणा न्यायाधीश हरिशमशेरले गणेशमान सिंहलाई हजार कोर्रा हान्न आदेश दिए । छ सय कोर्रा जिउमा बर्सिउन्जेल त उहाँले सहनुभयो त्यसपछि भने बेहोस भएर ढल्नुभयो । यसरी स्पातको ज्यान मात्रै होइन प्रजातन्त्रप्रतिको यस्तै अगाध श्रद्धाका कारण उहाँ नेपाली राजनीतिमा ‘लौह पुरुष’ भनेर चिनिनुहुन्छ । उहाँका शरीरमा यो पहिलो कोर्रा थिएन र पहिलो सजाय पनि थिएन । प्रजातन्त्रको लडाइँमा आफूलाई पूर्ण रूपमा समर्पण गरिसक्नुभएका गणेशमानजीका लागि शासकका यस्ता कोर्रा सामान्य जस्तै थिए । 

भोलि उहाँको जन्मजयन्ती । विसं १९७२ कात्तिक २४ काठमाडौँको ‘काजी’ परिवारमा जन्मिनुभएका गणेशमान आजीवन प्रजातन्त्रका लागि लड्नुभएका अथक योद्धा हुनुहुन्छ । उहाँका पिता ज्ञानमान सिंह र माता सुभद्राकुमारी हुनुहुन्छ । पिता ज्ञानमान राणाको अड्डामा सुब्बा हुनुहुन्थ्यो भने उहाँका हजुरबुबा रत्नमान सिंह राणा सरकारको बडाकाजीसम्म हुनुभएको थियो । काजी परिवारमा गणेशमानलाई माया गरेर ‘हिराकाजी’ भन्ने गर्थे । उहाँहरू सानै छँदा बुबा ज्ञानमानको निधन भएपछि गणेशमानको लालनपालन हजुरबुबाले गर्नुभएको थियो । 

राणा परिवारसँग जोडिएका कारण काठमाडौँमै गणेशमानको राम्रै शिक्षादीक्षा भयो । राणाहरूले आफ्ना सन्तानलाई पढाउन खोलेको दरबार स्कुलमा भर्ना हुनुभएका गणेशमान त्यहाँ भने आफ्नै विद्रोही स्वभावका कारण पढ्न पाउनु भएन । राणाका छोराछोरीलाई सम्मान नगरेको भन्दै उहाँलाई माफी माग्न भनिएको थियो । उहाँले बरु स्कुल नै छोडिदिनुभयो । आफूले आफैँलाई झुकाउन चाहनुभएन । यसरी गणेशमानमा राजनीतिक चेतना र विद्रोहको चेत कलिलै उमेरमा जागिसकेको देखिन्छ । आफ्ना हजुरबुबाका कारण केही समय उहाँ राणाकै अड्डाहरूमा ‘बहिदार’ हुनुभएको थियो । 

तैपनि उहाँको विद्रोही स्वभाव भने कम भइसकेको थिएन । परिवारका कारण राणाको कारिन्दा भए पनि उहाँको आफ्नै छाँट थियो । आफ्नै ठाँटमा रमाउने स्वभाव उहाँमा थियो । एक दिन राणाको दरबारअघि साइकल कुदाइरहनुभएको थियो । राणाले त्यसलाई अपमान सम्झे । राणाले आफ्नो हैसियतभन्दा माथि कुनै नागरिकलाई देख्न चाहँदैनथे । उहाँलाई राणाले फेरि सजाय सुनाए तर उहाँ झुक्नुभएन र बरु राणाको जागिर नै छोडिदिनुभयो । अनि थप पढाइका लागि परिवारले उहाँलाई भारततिर पठायो । भारतबाटै मेट्रिक पास गरेपछि कलेज पढ्दापढ्दै उहाँ सक्रिय राजनीतिमा जोडिनुभयो । 

पढाइकै बिचमा बिदा मनाउन घर आउनुभएका गणेशमानजी १९९७ सालतिर राष्ट्रिय प्रजापरिषद्मा जोडिनुभएको थियो । यो सँगै उहाँ पार्टी राजनीतिमा पनि सक्रिय हुन थाल्नुभयो । भर्खरै राजनीतिमा अघि बढिरहेका बेला परिवारको आग्रहमा उहाँको विवाह मङ्गलादेवीसँग भयो । विवाहको तीन महिनामा फेरि उहाँलाई राणा शासकले पक्राउ गरे । जेलमै रहेका बेला राणाले उहाँविरुद्ध सर्वस्वहरणसहित आजीवन काराबासको सजाय सुनाएका थिए । त्यही बेला उहाँसँगै जेलमा रहनुभएका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीहरूलाई राणा शासकले झुन्ड्याएर अनि गोली हानेर मारिदिए । प्रजातन्त्रका लागि हाँसीहाँसी ज्यान आहुती दिएका यी चार सपूत नेपालको इतिहासमा अमर सहिद हुनुहुन्छ । 

विद्रोही चेतले खारिएका अनि प्रजातन्त्रका लागि आफूलाई अर्पण गरिसकेका गणेशमानलाई जेलका पर्खालहरूले छेक्न र रोक्न सकेनन् । आफ्ना साथीहरूसँग मिलेर उहाँले भद्रगोल जेल फोड्नुभयो । त्यहाँबाट मुक्त हुन सफल हुनुभयो । त्यसपछि उहाँ भारत जानुभयो । त्यो बेला नेपालबाट निर्वासित भएका थुप्रै नेपाली भारतमै हुनुहुन्थ्यो । गणेशमानजी पनि उहाँहरूसँग नेपालमा प्रजातन्त्र स्थापनाको लडाइँमा भारतबाटै सक्रिय हुनुभयो । भारतमा बिपी कोइरालालगायत थुप्रै नेता पनि हुनुहुन्थ्यो । राणाले लखेटेका अनि पढ्नका लागि भारत पुगेका थुप्रै नेपालीलाई भारतमा चलिरहेको अङ्ग्रेजविरुद्धको आन्दोलनले पनि प्रेरित गरिरहेको थियो । त्यस्ता मान्छेहरूको बिचमा पुगेपछि यता राणाले दिएको सास्तीलाई गणेशमानजीले अझ दरिलो विद्रोहमा बदल्नुभयो । नेपालीको सङ्गठनमा लागेर प्रजातान्त्रिक लडाइँमा आफूलाई अझ सक्रिय र समर्पित बनाउनुभयो ।

त्यहीबिचमा विसं २००१ तिर बिपी कोइराला र गणेशमानको भेट भयो । कोलकातामा भएको त्यो एउटा भेट नेपाली राजनीतिक आन्दोलनको आँधी बेहरी नै बन्न पुग्यो । बिपीसँगको भेटपछि नेपालको राणाविरोधी आन्दोलनमा गणेशमानको सक्रियता झनै बढ्न थाल्यो । उहाँ पार्टीको राजनीतिमा पनि उत्तिकै सक्रिय हुनुभयो । २००३ मा भारतै गठन भएको नेपाली राष्ट्रिय कांग्रेसको क्रान्तिकारी संस्थापकमध्ये बिपीसँगै उहाँ पनि एक हुनुहुन्छ । गणेशमानको रगतले लेखिएको त्यही राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेस मिलेर २००६ सालमा नेपाली कांग्रेस भयो । अहिलेको यो कांग्रेस उनै गणेशमानहरूको स्पातिलो नाम लेखिएको राजनीतिक पार्टी हो । 

भारतको बिहारमा २००७ सालको सुरुवाततिर भएको बैरगनिया सम्मेलन राणा शासन अन्त्यका लागि एउटा कोसेढुङ्गा साबित भयो । त्यहाँ बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराई र मातृका कोइरालाहरूले ‘राणा सक्ने वा आफैँ सकिने’ कसम खाएर निर्णायक क्रान्तिको सुरुवात गर्नुभएको थियो । त्यही क्रान्तिको प्रतिफल २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आयो । राणाले राजाका अधिकार फिर्ता गरे । नागरिकका अधिकार खुला गरे । त्यसपछि राणा र कांग्रेसको संयुक्त अन्तरिम सरकार बन्यो । २००८ सालमा मातृका कोइरालाको नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा कृषि मन्त्रीको जिम्मेवारी पाउनुभएका गणेशमानले केही दिनमै बिपीको निर्देशनमा त्यो पद त्याग गरिदिनुभयो । 

कांग्रेसकै दबाबमा २०१५ सालमा नेपालमा पहिलो पटक आमचुनाव भएको थियो । त्यो बेला सबैभन्दा ठुलो दल कांग्रेस बन्यो र त्यो दलका नेताको हैसियतमा बिपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । काठमाडौँबाट चुनाव जित्नुभएर गणेशमान पनि बिपी नेतृत्वको मन्त्रीमण्डलमा यातायातमन्त्री हुनुभएको थियो । त्यो कलिलो प्रजातन्त्रको घाँटी दरबारले फेरि निमोठ्न थाल्यो । 

जननिर्वाचित प्रधानमन्त्रीलाई जेल हालेर राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए । गणेशमान पनि त्यसपछि आठ वर्षजति सुन्दरीजल जेलमा बस्नुभयो । त्यसपछि उहाँ रिहा हुनुभयो र भारततिर जानुभयो । उतैबाट पञ्चायतविरुद्धको लडाइँको मोर्चा सम्हाल्नुभयो । २०३३ सालमा मेलमिलापको नीति लिएर फर्किनुभएका गणेशमानलाई बिपीसँगै विमानस्थलबाटै पञ्चायत सरकारले पक्राउ गरेर फेरि जेल हो । त्यो बेला पञ्चहरूले बिपी र गणेशमानलाई फाँसी दिन माग गरेका थिए । पञ्चायती सरकारले गणेशमानलाई त पाँच पटक मृत्युदण्ड सुनाएको थियो । 

यो बिचमा बिपी र गणेशमानबिचका कैयौँ पटक वैचारिक मतभेद पनि सतहमा आए । कतिले त्यसलाई सम्बन्ध बिग्रिएको समेत भन्न थाले । त्यो पञ्चहरूले कांग्रेसको क्रान्तिलाई कमजोर बनाउन गरिएको एउटा भ्रामक प्रचारवाजी मात्रै थियो । खासमा उहाँले २०३७ सालको जनमत सङ्ग्रह निसर्त स्वीकार गर्ने बिपीको निर्णयसँग मात्रै असन्तुष्ट हुनुहुन्थ्यो । तथापि उहाँले त्यो निर्णय मान्नुभएको थियो । त्यो जनमतमा बहुदल अस्वीकृत भयो । २०३९ सालमा बिपीको निधनपछि गणेशमान कांग्रेसको सर्वोच्च नेता चुनिनुभयो । कांग्रेस मात्रै होइन त्यो बेला पञ्चायतविरुद्ध होमिएका सारा नेपालीले उहाँलाई त्यो स्तरको नेताको सम्मान दिइसकेका थिए । 

बिपीको मेलमिलापको नीतिलाई थप व्याख्या गरेर त्यसपछि पञ्चायतविरुद्धको आन्दोलनलाई गणेशमानले आफ्नै काँधमा लिनुभयो । उहाँकै नेतृत्वमा कांग्रेसले थालेको सत्याग्रहमा अरू पनि पार्टीहरूले समर्थन जनाए । त्यही समर्थनको आधारमा २०४६ सालको चैत पहिलो साता गणेशमानकै निवासमा भएको कांग्रेसको राष्ट्रिय सम्मेलनले पञ्चायतविरुद्ध निर्णायक आन्दोलन घोषणा गरेको थियो । कम्युनिस्ट पार्टीहरूलाई पनि सँगसँगै लिएर उहाँकै नेतृत्वमा ३० वर्षे पञ्चायती शासन ढल्यो । त्यो जनआन्दोलनले गणेशमानलाई सर्वोच्च कमाण्डरका रूपमा स्वीकार गरेको थियो । उहाँलाई प्रजातन्त्रका पिता भनेर पनि नेपाली राजनीतिक इतिहासमा लेखिएको छ । 

जीवनभरि आफूलाई प्रजातन्त्रको लडाइँमा सुम्पिनुभएका गणशेमानले आफूले भने कहिल्यै लाभका पद लिनुभएन । बरु आइलागेका धेरै अवसर र मौकालाई उहाँले त्याग्नुभयो । अनि आफ्ना समकालीन नेताहरूलाई त्यसका लागि मौका दिनुभयो । २०४६ सालको परिवर्तनपछि अन्तरिम सरकारको नेतृत्व गर्न राजाले गणेशमानलाई नै प्रस्ताव गरेका थिए । उहाँले त्यसलाई अस्वीकार गर्नुभयो र बरु कृष्णप्रसाद भट्टराईलाई अघि सार्नुभयो । राष्ट्र, नागरिक र प्रजातन्त्रका लागि आफ्नो जीवनभरि निजी भावनालाई त्याग गर्नुभएका गणेशमानले जीवनको उत्तरार्धमा पारिवारिक वियोग र राजनीतिक विरक्तिले थलिनुभएको थियो । त्यहीबिचमा उहाँको स्वर्गवास भयो । प्रजातन्त्रका पिता, लौहपुरुष गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

Author

डा. शोभाकर पराजुली