• २५ मंसिर २०८१, मङ्गलबार

कन्दराको ‘काठमाडौँ कलिङ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २३ गते । पोखरेली लोकपप रक ब्यान्ड कन्दरा आफ्नो ३२ बर्से यात्रामा पहिलो पटक काठमाडौँमा गुञ्जिँदै छ । ‘पहिले घरदेश, अनि परदेश’ अभियानमा निस्किएको कन्दराले कात्तिक २४ मा ठमेलमा कन्सर्ट गर्ने छ । ब्यान्डका गायक विवेक श्रेष्ठले भन्नुभयो, “कन्दरा स्थापना भएको ३२ वर्षमा पहिलो पटक हामी काठमाडौँमा गुञ्जिँदै छौँ, राजधानीको प्रस्तुति अविष्मरणीय बन्ने निश्चित छ ।” ब्यान्डले राजधानीमा हुने कन्सर्टलाई ‘काठमाडौँ कलिङ’ नाम दिएको छ । ब्यान्डले काठमाडौँपछि चितवन, बुटवल र नेपालगन्जमा पनि साङ्गीतिक प्रस्तुति दिँदै छ जहाँ, दर्शकले ब्यान्डका सदाबहार सफलसँगै नयाँ गीत पनि सुन्न पाउने छन् । तीन सहरको मिति पनि तय हुन बाँकी रहेको श्रेष्ठले जानकारी दिनुभयो । 

कन्दराले यस अभियानलाई आन्तरिक पर्यटन प्रवर्धनसँग जोड्न चाहेको छ । यसको सुरुवात पर्यटन नगरी पोखरादेखि भएको छ । गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले ब्यान्डसँग सहकार्य पनि गरेको गायक श्रेष्ठले बताउनुभयो । ब्यान्ड यतिबेला नयाँ र पुराना सदस्यलाई सङ्गठित गर्दै जुर्मुराएको छ । गायनतर्फ विवेक र ड्रम्समा सुनील थापा हुनुहुन्छ । थापा स्थापनाकालदेखि ब्यान्डका मेरुदण्ड हुनुहुन्छ । लिड गितारमा देव लामालाई देख्न सकिन्छ ।  ब्यान्डले विश्व टुरको घोषणा गरेको छ । 

सन् २०२५ को जनवरीमा बेलायत र दुबईदेखि ‘वल्र्ड टुर’ सुरु हुने छ । फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्यान्ड, मेमा अमेरिका, जुनमा क्यानडा र जुलाईदेखि अगस्तसम्म युरोप भ्रमण तय भएको छ । महिना तय भए पनि यकिन मिति भने तय हुन बाँकी रहेको श्रेष्ठले बताउनुभयो ।