• ९ मंसिर २०८१, आइतबार

तिहारपछि गाउँबस्ती सुनसान

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, कात्तिक २२ गते । दसैँतिहार मनाउन गाउँघर आएका आआफ्नो काममा फर्कन थालेपछि ग्रामीण बस्ती सुनसान बन्न थालेका छन् । चाडपर्व सकिएलगत्तै चहलपहल पनि कमी भएको र कामको चाप बढ्न थालेपछि गाउँबस्ती सुनसान भएका हुन् ।  एक वर्षपछि श्रम, रोजगारी, पढाइका लागि काठमाडौँ, नेपालगन्ज, सुर्खेतलगायतका सहरमा बसेका सर्वसाधारण गाउँबस्ती पुगेपछि बढेको चहलपहल बिस्तारै घट्दै गएको छ । भेरी नगरपालिका–१३ का कृष्ण गिरीले एक वर्षपछि तिहारका लागि गाउँमा पुगेको भए पनि अब कर्मथलो फर्कन लाग्दा गाउँबस्ती सुनसान हुन थालेको बताउनुभयो । गाउँबस्तीमा पुराना लोकसंस्कृति सुन्न, सुखदुःख साट्न पाउँदा आनन्द लागेको भए पनि कर्मथलो फर्किनु परेको उहाँले सुनाउनुभयो । 

भेरी नगरपालिका–१३ का जयधन न्यौपानेले कामका लागि भारत जान लागेको भन्दै अब गाउँघरतिरको चहलपहल पनि कमी हुँदै गएको बताउनुभयो । सबै आआफ्ना काममा जाने हुँदा चाडपर्व सकिएलगत्तै बस्ती सुनसान भएको उहाँको भनाइ छ । विजयादशमीदेखि भाइटीकाको भोलिपल्टसम्म चहलपहल बढे पनि अधिकांश सर्वसाधारणले गाउँबस्ती छाडेपछि खाली भएका छन् । भेरी नगरपालिका–३ का कृष्णविक्रम शाहका अनुसार गत वर्ष भूकम्पका कारण चाडपर्व सुनसान भएको र अहिले पोहोरको भन्दा केही रमाइलो देखिएको छ । गत वर्षको दुःखलाई बिर्सिन खुसियाली साथ चाडपर्व मनाउन आएको र टहराको बासमै भए पनि चाडपर्व मनाई आफ्नो काममा फर्कनु परेको उहाँले बताउनुभयो ।