• २९ जेठ २०८२, बिहिबार

पूर्व प्रधानमन्त्री प्रचण्ड म्याग्दीको भुरुङ तातोपानीमा

blog

नेकपा (माओवादीका केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दीको भुरुङ तातोपानीमा । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, जेठ २८ गते ।
नेकपा (माओवादीका केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दीको भुरुङ तातोपानीमा आउनुभएको छ । मङ्गलबार बेलुका उहाँ कालिगण्डकी कोरिडोरको बेनी–मालढुङ्गा सडक हुँदै तातोपानी आउनुभएको हो ।

अध्यक्ष प्रचण्डले तातोपानीमा कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डलाई स्थानीयहरुले सडकका पहिरो रोकथामका लागि पहल गरिदिन माग गरेका थिए ।

चीन र भारत जोड्ने राष्ट्रिय प्राथमिकताको कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गा र म्याग्दीखण्डको स्थलगत निरीक्षण तथा सरोकारवालासँग म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा भएको भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले निर्माणाधिन सडकलाई पूूर्णता दिन, पहिरो र नदी कटान रोकथाम गरी सुुरक्षित बनाउन आफ्नो तर्फबाट सरकारको ध्यानकर्षण गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रघुङ्गा गाउँपालिका–२ बरखर्कको पहिरो निरीक्षणपछि अध्यक्ष दाहालले पहिरो रोकथाम र नियमित यातायात सञ्चालनका लागि वैकल्पिक सडक मार्गलाई स्तरोन्नति गर्न सदन र सरकारको ध्यानाकर्षण गराउने उहाँको प्रतिवद्धता थियो ।

रघुङ्गा गाउँपालिका–२ का पूर्व वडाध्यक्ष समेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश सदस्य रिमबहादुर कटुवालले वरखर्क पहिरोको वैकल्पिक गलेश्वर–बगँैचा–रानीपौवा–रिसिनचौतारी–बेगखोला सडक स्तरोन्नति गर्न सकेमा बर्खा याममा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालन गर्न सकिने मागपत्र अध्यक्ष प्रचण्डलाई बुझाएको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–२ भुरूङ तातोपानीमा स्थानीयवासीका गुुनासो सुुन्दै अध्यक्ष प्रचण्डले  म्याग्दीको भगवती, दोवालगायतका ठाउँका गुठी र सिमानासम्बन्धी समस्या समाधानमा पहल गर्ने बताउनुभयो ।

आज बुधबार मुस्ताङमा पार्टीले आयोजना गरेको विभिन्न कार्यक्रमहरुमा सहभागी हुन अध्यक्ष प्रचण्ड म्याग्दी हुँदै मुस्ताङ जान लाग्नुभएको हो । बुधबार नेकपा माओवादी केन्द्र मुस्ताङले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द पौडलले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डलाई मङ्गलबार साँझ भुरुङ तातोपानीमा जिल्लाका नेता तथा कार्यक्रर्ताहरुले स्वागत गरेका थिए ।

बुधबार मुस्ताङ जाने क्रममा अध्यक्ष प्रचण्डले दानामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । त्यसपछि कालिगण्डकी कोरिडोरमा पर्ने रुप्से झरनाको अवलोकन समेत गर्नुहुने पौडेलको भनाइ छ ।

नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी जागरण अभियानअन्तर्गत बुधबार जोमसोममा पार्टीले आयोजना गर्ने विभिन्न कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुनुहुने पार्टीले जनाएको छ ।

स्थानीय तहका कमिटीका पदाधिकारीहरुको सपथग्रहण, प्रशिक्षण, कार्यालय प्रमुखसँग छलफल, सर्वसाधारणसँग जनसंवाद र पार्टी कार्यालय शिलन्यास गर्ने लगायतका कार्यक्रमहरु तय भएका छन् ।