विनय कर्ण
कल्याणपुर (सप्तरी), जेठ २८ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजविराज नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा हरिकिशोरप्रसाद चन्द्रवंशी जिम्मेवारीमा आउनुभएको छ ।
मन्त्रालयले सर्लाहीको हरिपुर्वा नगरपालिकामा कार्यरत चन्द्रवंशीलाई मंगलबार सरुवा गरी नगरपालिकाको जिम्मेवारीमा पठाएको हो । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मंगलबार राजविराज नगरपालिका कार्यालयमा तनाव पनि भएको थियो । मन्त्रालयले नगरपालिकालाई पत्र पठाउँदै चन्द्रवंशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको जानकारी गराएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समूहमा दरवन्दी कायम रहने गरी चन्द्रवंशीलाई कामकाज गर्न खटाइएको छ, मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।
यसअघि मन्त्रालयले राजविराज नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर दिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी पनि रद्द गरेको छ ।
राजविराज नगरपालिकामा लागेको ताला फुटाएर निमित्त प्रमुख प्रसाकीय अधिकृत भोगेन्द्रप्रसाद यादवले पदभार ग्रहण गरेकै दिन अर्को व्यक्तिलाई मन्त्रालयले सो जिम्मेवारीमा पठाएको छ ।
निलम्बित नगरप्रमुख भीमराज यादवसहित उहाँका समर्थकहरुले यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको सरुवाको विषयलाई लिएर आइतबार ९ बुँदे माग अघि सार्दै लगाइएको ताला फुटाएर कार्यवाहक नगरप्रमुख इसरत परवीनसहितका जनप्रतिनिधिहरुले कार्यालय प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
यसैबिच मंगलवार राति अवेरसम्म जिल्ला प्रशासन कार्यालय सप्तरीमा चलेको सर्वदलीय बैठकले ४ बुँदे निर्णय गर्दै निलम्बित नगरप्रमुख यादव र कार्यवाहक नगरप्रमुख इसरत परवीनबिच उत्पन्न विवाद टुङ्गिएको छ ।
नगरपालिकामा भए गरेका काम कारवाहीको सन्दर्भमा उठेका अनियमित्ता, उजुरी र रकम हिनामिनाको सम्बन्धमा विज्ञसहितको छानविन समिति गठन गर्ने, राजबिराज नगरपालिकामा स्थायी दरबन्दीमा नियुक्ती भएका इन्जिनियरलाई नियुक्ति भएको दिनदेखि तलब उपलब्ध गराउने उल्लेख छ । त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रवंशीलाई हाजिर गराउने र नगरपालिकामा लगाएको ताला खोल्ने निर्णय भएपछि विवाद अन्त्य भएको छ।