• २९ जेठ २०८२, बिहिबार

सेवा प्रवाहमा जवाफदेहिता : विषयगत प्रश्नोत्तर

blog

सेवा प्रवाहमा जवाफदेहिता

 १. नवीन सार्वजनिक व्यवस्थापन भनेको के हो ? यस अवधारणाले अगाडि सारेका आधारभूत मान्यता उल्लेख गर्दै यससम्बन्धी आलोचनासमेत प्रस्तुत गर्नुहोस् । के नवीन सार्वजनिक व्यवस्थापन नेपालको वर्तमान शासकीय परिवेशमा सान्दर्भिक रहेको ठान्नुहुन्छ ? तर्कपूर्ण विश्लेषण गर्नुहोस् ।

निजी क्षेत्रको व्यवस्थापन शैली, कार्यदक्षता र नतिजामूलक कार्यसम्पादनलाई सार्वजनिक क्षेत्रमा आत्मसात् गरी सरकारको कार्यसम्पादनमा मितव्ययितता, दक्षता र प्रभावकारिता हासिल गर्दै सार्वजनिक क्षेत्रमा देखिएका विकृति न्यूनीकरण गर्न सकिन्छ भन्ने दृष्टिकोण नै नवीन सार्वजनिक व्यवस्थापन हो । सन् १९८० को दशकदेखि विकास हुन थालेको यस दृष्टिकोणले सार्वजनिक क्षेत्र सुधारका लागि सरकारले व्यवस्थापकीय स्वायत्तता, विकेन्द्रीकरण, स्रोतसाधनको उपयोगमा अनुशासन र मितव्ययितता, नतिजामूलक व्यवस्थापन, प्रतिस्पर्धा जस्ता विषयलाई आत्मसात् गरी कार्यसम्पादन गर्नुपर्ने कुराको वकालत गर्छ । क्रिस्टोफर हुडले सन् १९९१ मा नवीन सार्वजनिक व्यवस्थापनका सैद्धान्तिक आधार स्पष्ट पार्ने क्रममा सात प्रमुख विषय प्रस्ताव गरेका थिए । यी विषयलाई नै नवीन सार्वजनिक व्यवस्थापनको आधारभूत विषयका रूपमा उल्लेख गर्न सकिन्छ । 

नवीन सार्वजनिक व्यवस्थापनले अगाडि सारेका आधारभूत मान्यताहरू :

क) व्यवस्थापकीय स्वायत्तता र नतिजाप्रतिको जवाफदेहिता,

ख) कार्यसम्पादन मानक निर्धारण र कार्यसम्पादन मूल्याङ्कन,

ग) प्रक्रियामा नभई नतिजामा जोड

घ) उद्देश्यमूलक र चुस्त सङ्गठन संरचना

ङ) सेवाको उत्पादन र वितरणमा प्रतिस्पर्धा

च) निजी क्षेत्रको व्यवस्थापन शैली आत्मसात् गर्न जोड

छ) स्रोतसाधनको उपयोगमा अनुशासन र मितव्ययितता

नवीन सार्वजनिक व्यवस्थापनका आलोचना :

नवीन सार्वजनिक व्यवस्थापन आलोचनामुक्त छैन । यस अवधारणाको देहायबमोजिम आलोचना हुने गरेको छ :

यस अवधारणाले सरकारलाई नाफामूलक कम्पनी, कर्मचारीलाई व्यवस्थापक र नागरिकलाई ग्राहकका रूपमा चित्रण गर्छ, जुन राज्य, नागरिक र शासनको आमबुझाइसँग मेल खाँदैन,

नागरिक कल्याण र सामाजिक न्यायभन्दा आर्थिक पक्षमा ध्यान दिने गर्छ,

नागरिक र सरकारबिचको सहकार्य र साझेदारीलाई कुनै पनि स्थान दिँदैन,

नागरिकको सव्रिmय भूमिका र समुदायप्रतिको नागरिक जिम्मेवारीलाई वास्ता गर्दैन,

नागरिकलाई छनोटको विकल्प दिए पनि नागरिक आवाज कमजोर हुने जोखिम रहन्छ,

आर्थिक दर्शनबाट प्रेरित यस अवधारणाले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्न सकेको छैन,

नागरिकप्रतिको शासकीय जवाफदेहितालाई कमजोर बनाउने जोखिम रहन्छ,

सरकार र नागरिकबिचको सम्बन्ध टाढा हुने तथा नागरिकले राज्यको अभिभावकीय भूमिका कमजोर भएको महसुस गर्न सक्ने अवस्था रहन्छ,

नेपालमा नवीन सार्वजनिक व्यवस्थापनको सान्दर्भिकता :

नेपालले अवलम्बन गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनप्रणालीको परिवेशमा देहायबमोजिमका आधार र कारणले नवीन सार्वजनिक व्यवस्थापनको सान्दर्भिकता देखिन्छ ।

सङ्घीयताको अभ्यासले राज्यशक्तिलाई नागरिकको निकटमा ल्याइदिएको छ । यद्यपि तिनै तहका सरकारको प्रशासनिक खर्च बढ्दो छ । स्रोतसाधन परिचालनमा अनुशासन र मितव्ययितता आवश्यक छ ।

तहगत सरकारका कर्मचारीको कार्यसम्पादन व्यवस्थापन गरी सरकारको समष्टिगत कार्यसम्पादनलाई अब्बल बनाउन आवश्यक छ । यसका लागि नवीन सार्वजनिक व्यवस्थापनले अगाडि सारेको कार्यसम्पादन मानक निर्धारण र मूल्याङ्कन पद्धति अवलम्बन गर्नु उचित देखिन्छ ।

तीन तहका सरकारको दोहोरो क्षेत्राधिकारका कारण सङ्गठन संरचनामा समेत दोहोरोपना देखिएको छ । सरकारको सङ्गठन संरचनालाई चुस्त बनाई प्रशासनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन आवश्यक छ ।

सङ्घ र प्रदेश सरकारको क्षेत्राधिकारमा पर्ने कार्यलाई समेत प्रदेश र स्थानीय तहमा अधिकार निक्षेपण गरी विकेन्द्रीकरणको मान्यताबमोजिम सम्पादन गर्न सकिने अवस्था रहेको छ ।

सूचना प्रविधिको विकास र नागरिक चेतनास्तरको विकासले सार्वजनिक सेवालाई लागत प्रभावी र गुणस्तरीय बनाउन दबाब सिर्जना भएको छ । सार्वजनिक सेवा प्रवाहलाई द्रुत र शीघ्र बनाउन कर्मचारीतन्त्रको प्रक्रियामुखी कार्यशैली रूपान्तरण गरी नतिजाप्रति जवाफदेही बनाउनुपर्ने आवश्यकता देखिएको छ । 

कार्यालय प्रमुख वा आयोजना प्रमुखस्तरबाट निर्णय गर्न सकिने विषयसमेत मन्त्रालय वा क्याबिनेटसम्म पु¥याउनुपर्ने विद्यमान अवस्थामा परिवर्तन गर्दै पर्याप्त स्रोतसाधन र व्यवस्थापकीय स्वतन्त्रता प्रदान गरी निजहरूलाई नतिजाप्रति जिम्मेवार बनाउन आवश्यक छ ।

तिनै तहका सरकारले नीति, योजना र बजेट तर्जुमा गर्न र कार्यान्वयन गर्न सक्ने अवस्था विद्यमान रहेकाले बजेट खर्चलाई नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने गरी नतिजासँग आबद्ध गर्न नवीन सार्वजनिक व्यवस्थापनले निर्देश गरेबमोजिम नतिजामूलक व्यवस्थापनमा जोड दिन आवश्यक छ ।

सरकारले लगानी गरेका थुप्रै परियोजना समयमा सम्पन्न हुन नसकी रुग्ण अवस्थामा रहेका देखिन्छन् । पुँजी निर्माणमा योगदान नगर्ने कार्यक्रम र आयोजनामा समेत सार्वजनिक ऋणको प्रयोग हुने गरेको छ । सार्वजनिक ऋण लगानी गर्दा निजी क्षेत्रमा जस्तै लाभ लागत विश्लेषण गरी लगानी गर्नु आवश्यक छ ।

सार्वजनिक संस्थान व्यवस्थापनमा नवीन सार्वजनिक व्यवस्थापनले अगाडि सारेका मान्यता अवलम्बन गर्न सकिने अवस्था देखिन्छ ।

सूचना प्रविधि, ठुला पूर्वाधार निर्माणलगायत अन्य आर्थिक विकासका क्षेत्रमा निजी क्षेत्रबाट सेवा लिई सरकारले नागरिकप्रतिको जिम्मेवारी वहन गर्न सक्ने गरी निजी क्षेत्रको विकास भइरहेको छ ।

अन्यमा नवीन सार्वजनिक व्यवस्थापन सार्वजनिक प्रशासन वा कर्मचारीतन्त्रको विकल्प नभई सार्वजनिक प्रशासनमा देष परेका विकृति न्यूनीकरण गर्दै सरकारको कार्यसम्पादनलाई अब्बल बनाउने व्यवस्थाकीय अवधारणा हो । यसले सार्वजनिक क्षेत्रको कार्यशैलीलाई प्रतिस्पर्धात्मक, कार्यमूलक एवं लागतप्रभावी बनाउँदै सार्वजनिक क्षेत्र सुधारमा जोड दिन्छ । आधुनिक प्रशासनिक संयन्त्र र कार्यशैली परम्परागत सार्वजनिक प्रशासनभन्दा लचक, नतिजामूलक र व्यावसायिक बनाई सार्वजनिक प्रशासनलाई परिवर्तन व्यवस्थापनका लागि तयार हुने आधारसमेत प्रदान गर्छ । तसर्थ सरकारले नवीन सार्वजनिक व्यवस्थापनका सीमासमेतलाई विचार गर्दै यसले अगाडि सारेका मान्यता लागु गर्न सकिने क्षेत्रहरू पहिचान गरी प्रशासन सुधारका लागि निरन्तर काम गरिरहनु पर्छ ।

२. मन्त्रालयगत बजेट तर्जुमासम्बन्धी कार्यमा सहजीकरण गर्न गठन हुने बजेट समितिका कार्यहरू उल्लेख गर्नुहोस् ।

 नेपाल सरकारको केन्द्रीय निकायको कार्यक्रम तथा बजेट तर्जुमासम्बन्धी कार्यको समन्वय तथा खर्च मापदण्ड निर्धारण गर्न बजेट समिति रहने व्यवस्था आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीमा रहेको छ । नियमावलीले गरेको व्यवस्थाबमोजिम लेखा उत्तरदायी अधिकृत वा निजले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतको संयोजकत्वमा गठन हुने यस समितिका कार्यहरू यसप्रकार छन् :

राष्ट्रिय योजना आयोगबाट प्राप्त बजेट मार्गदर्शनका आधारमा आफ्नो केन्द्रीय निकाय र मातहतको कार्यालयका लागि मध्यमकालीन खर्च संरचना र बजेट तथा कार्यक्रम तयार गरी योजना आयोग र अर्थ मन्त्रालयमा पठाउने,

अर्थ मन्त्रालयको सहमतिमा आफ्नो केन्द्रीय निकाय अन्तर्गतको खर्च मापदण्ड तयार गर्ने,

आफ्नो केन्द्रीय निकायबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको प्रत्येक क्रियाकलापको एकाइगत लागत अनुमान तयार गर्ने तथा त्यस्तो अनुमान परिमार्जन गर्ने,

मध्यमकालीन खर्च संरचनाको विवरण मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने, गराउने,

अर्थ मन्त्रालयमा हुने बजेट छलफलमा आफ्नो केन्द्रीय निकायका तर्फबाट भाग लिने वा भाग लिन समितिको कुनै पदाधिकारीलाई तोक्ने । 

यसरी कानुनद्वारा बजेट समितिको संरचना र काम, कर्तव्य निर्धारण गरी बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियामा समितिलाई जिम्मेवार बनाइएको छ ।

३. निर्माण व्यवसायीले खरिद सम्झौता उल्लङ्घन गरेको अवस्थामा सार्वजनिक निकायले के कस्तो कानुनी उपचार प्राप्त गर्न सक्छन् ? सार्वजनिक खरिद कानुनको व्यवस्था विचार गरी स्पष्ट पार्नुहोस् ।

 निर्माण व्यवसायीबाट सार्वजनिक निर्माण कार्य गराउने विषय दुई पक्षसबिचको करारीय सम्झौता र सोको कार्यान्वयनसँग समेत सम्बन्धित रहेको हुन्छ । यसमा सार्वजनिक निकाय पहिलो पक्ष र खरिद कार्यमा भाग लिने निर्माण कम्पनी वा फर्म दोस्रो पक्षका रूपमा रहन्छन् । दुवै पक्ष खरिद सम्झौताका सर्त, दायित्व र उपचारप्रति जानकार एवं जिम्मेवार रहन्छन् । सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ मा उल्लेख भएबमोजिम निर्माण व्यवसायीबाट खरिद सम्झौता उल्लङ्घन भएमा सार्वजनिक निकायले देहायबमोजिमका कानुनी कारबाही गर्न सक्छ ः

सम्झौताबमोजिम काम सुरु नगरेमा, काम सुरु गरी बिचैमा छाडेमा वा सम्झौताबमोजिमको प्रगति नगरेमा सार्वजनिक निकायले जुनसुकैबेला सम्झौता अन्त्य गर्न सक्ने,

सम्झौता अन्त्य भएमा कार्यसम्पादन जमानत जफत हुने, पूर्वनिर्धारित क्षतिपूर्ति प्राप्त गर्ने,

सम्झौताबमोजिमको बाँकी काम दोस्रो पक्षको खर्चमा सम्पन्न गराउने, 

बाँकी काम पूरा गर्न लाग्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्न सकिने,

त्रुटिपूर्ण कार्य अस्वीकार गर्ने,

त्रुटिपूर्ण मालसामान तत्काल हटाउने, प्रतिस्थापन गर्न लगाउने,

अन्य सान्दर्भिक क्षतिपूर्ति भराउने,

खरिद सम्झौताबमोजिम उपलब्ध हुने अन्य उपचार ।

सार्वजनिक निकायले निर्माण कार्यको खरिद गर्दा तोकिएको परिमाण, गुणस्तर, लागत र समयावधिमा कार्य सम्पन्न गर्ने गरी कानुनप्रदत्त अधिकार र कर्तव्यको पूर्ण पालना गर्नुपर्छ ।

४. गाउँपालिका तथा नगरपालिकाबाट नगर प्रहरी परिचालन गर्न सकिने क्षेत्रहरू उल्लेख गर्नुहोस् ।

नगर प्रहरीसम्बन्धी विषय गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार अन्तर्गत पर्छ । नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन र नियमनका लागि नीति, कानुन र मापदण्डको निर्माण एवं कार्यान्वयनमा गाउँपालिका तथा नगरपालिका स्वतन्त्र रहँदै आएका छन् ।

नगर प्रहरी परिचालनका क्षेत्रहरू :

गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरीलाई निम्नानुसारका कार्यमा परिचालन गर्न सक्छन् : आफ्नो नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गर्न,

आफ्नो अधिकार क्षेत्रभित्र रहेका सम्पत्तिको सुरक्षा र संरक्षण गर्न,

स्थानीयस्तरमा हुने सभा, समारोह, परम्परा तथा जात्रा, चाडपर्वमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्न,

स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्न,

गाउँ वा नगर सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन गर्न,

न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन गर्न,

सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्न,

विपत् व्यवस्थापनसम्बन्धी खोज, उद्धार, राहत तथा पुनस्र्थापना गर्न,

अनधिकृत विज्ञापन तथा होर्डिङ बोर्ड नियन्त्रण गर्न,

छाडा पशुचौपायाको नियन्त्रण गर्न,

अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न,

कार्यपालिकाले तोकेका अन्य कार्य गर्न । 

अन्त्यमा एकल अधिकारको विषयमा स्थानीय तहहरूले कानुन निर्माण गरी कार्यान्वयन गर्न सक्छन् । आफ्नो स्रोतसाधनको अवस्था र आवश्यकता विचार गरी स्थानीय तहले नगर प्रहरी सेवा गठन गरी परिचालन गर्न सक्छन् । स्थानीय सरकार सञ्चालन ऐनले तोकेका उल्लेखित कामबाहेक गाउँपालिका तथा नगरपालिकाको नगर प्रहरी गठन तथा सञ्चालनसम्बन्धी कानुनले तोकेका अन्य कार्यसमेत नगर प्रहरीबाट सम्पादन हुँदै आएको पाइन्छ ।

५. नेपालमा तहगत सरकारबिच देखिएको क्षेत्राधिकारको अस्पष्टताले तहगत सम्बन्ध सुमधुर हुन सकेको छैन । यस सन्दर्भमा तहगत क्षेत्राधिकार बाँडफाँटका प्रचलित सिद्धान्त चर्चा गर्दै सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनले तहगत समन्वय र अन्तरसम्बन्धलाई व्यवस्थित गर्ने सम्बन्धमा उल्लेख गरेका व्यवस्था प्रस्तुत गर्नुहोस् ।

 नेपालको संविधानले राज्यशक्तिलाई सङ्घ, प्रदेश र स्थानीय तहमा बाँडफाँट गरेको छ । तीन तहका सरकारबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित छ । राज्यको निर्देशक सिद्धान्तले परस्पर सहयोगमा आधारित सङ्घीयताका आधारमा सङ्घीय एकाइहरूबिचको सम्बन्ध सञ्चालन गर्ने कुरामा जोड दिएको छ । तहगत सरकारबिचको समन्वय र अन्तरसम्बन्धलाई व्यवस्थित गर्न कानुन निर्माण भई कार्यान्वयनमा आएको छ । यद्यपि तहगत सरकारको क्षेत्राधिकारमा अस्पष्टता हुँदा नीतिगत, कानुनी तथा व्यावहारिक समस्या देखापर्ने गरेका छन् ।

कार्यजिम्मेवारी बाँडफाँटका प्रचलित सिद्धान्त :

दक्षता र सन्निकटता,

आयतनको अर्थ लाभ,

लाभ र लागतको भौगोलिक सिमानाबाहिर हुने प्रवाहको अवस्था,

समानता, समावेशिता र समन्याय,

समष्टिगत आर्थिक स्थायित्व,

राष्ट्रिय लक्ष्य र प्राथमिकता,

जवाफदेहिता र क्षमता,

सहकारिता, समन्वय र सहअस्तित्व, 

नीति, मापदण्ड, गुणस्तर, नियमन, वित्तीय स्रोत, सेवाको उत्पादन तथा वितरण ।

सङ्घ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनमा भएका प्रमुख व्यवस्था :

तीन तहबिचको अन्तरसम्बन्धका आधार तय,

तहगत सरकारले नीति वा कानुन तर्जुमा गर्दा विचार गर्नुपर्ने कुरा निर्धारण,

एकल अधिकार र साझा अधिकारको विषयमा कानुन बनाउँदा तथा कार्यान्वयन गर्दा तहगत अन्तरसम्बन्ध ख्याल गर्नुपर्ने विषयमा जोड,

सङ्घीय कानुनबाट मात्र व्यवस्थित हुन सक्ने विषयको सूची निर्धारण,

सङ्घीय एकल वा साझा वा अवशिष्ट अधिकारको प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन हुन सक्ने व्यवस्था,

प्रदेशको एकल वा साझा अधिकारको स्थानीय तहबाट कार्यान्वयन हुन सक्ने व्यवस्था,

स्थानीय तहको एकल र साझा अधिकारको विषयमा दुई वा दुईभन्दा बढी स्थानीय तहले कानुन बनाई संयुक्त रूपमा कार्यान्वयन गर्न सक्ने व्यवस्था,

तहगत सरकारबिच समन्वय र परामर्श गर्ने विषय र प्रक्रिया निर्धारण,

तहगत सरकारले आयोजना तर्जुमा गर्ने र कार्यान्वयन गर्ने सम्बन्धमा ढाँचा निर्धारण,

तहगत सहयोग र सहकार्य हुने सवाल उल्लेख,

सङ्घ, प्रदेश र स्थानीय तहका कानुन कार्यान्वयनको अवस्था अध्ययन गर्न आवश्यक प्रबन्ध गर्न सकिने व्यवस्था,

तहगत समन्वय र अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद् गठन तथा क्षेत्राधिकार निर्धारण,

विषयगत नीति, योजना र विकास निर्माण कार्यमा प्रभावकारिता ल्याउन विषयगत समिति गठन र क्षेत्राधिकार निर्धारण,

प्रदेश र स्थानीय तहबिचको समन्वय र अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रदेशस्तरमा प्रदेश समन्वय परिषद्को गठन तथा क्षेत्राधिकार निर्धारण,

जिल्ला समन्वय समितिले समन्वय गर्ने विषय उल्लेख,

सङ्घ, प्रदेश तथा अन्तरप्रदेश विवाद समाधान गर्ने विधि तय,

सङ्घीय एकाइबिच समन्वय र सम्पर्क गर्ने निकाय र प्रक्रिया निर्धारण ।

अन्त्यमा तहगत सरकारबिच जिम्मेवारीको स्पष्ट बाँडफाँटबाट नै सेवा प्रवाहमा दक्षता र जवाफदेहिता अभिवृद्धि गर्न सकिन्छ । यसका लागि विद्यमान कानुनमा रहेका प्रावधानको इमानदारिताका साथ पालना र साझा अधिकारका विषयमा तत्काल कानुन निर्माण एवं परिमार्जन गर्नु आवश्यक छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा