• ७ मंसिर २०८१, शुक्रबार

साङ्गीतिक भाव बोकेको कार्तिक नाच

blog

काठमाडौँ, कात्तिक २२ गते । साङ्गीतिक भाव भएको नाच कार्तिक नाच (काती प्याखँ) बुधबार पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा प्रारम्भ भएको छ । विसं १६९७ (ने.सं ७६१) मा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले कार्तिक नाच सुरु गरेयता हरेक कार्तिक महिनामा यस नाचले निरन्तरता पाइरहेको छ । 

धार्मिक र तान्त्रिक महत्वसँग जोडिएको काती प्याखँ यस वर्ष कात्तिक ३० गतेसम्म  चल्ने छ । पहिलो दिन भक्त सुरदास प्याखँ प्रस्तुत गरिएको थियो । दोस्रोदेखि चौथो दिनसम्म बाथः प्याखँ–च्वले खुदाँ दाँ खुदाँ, कौला खिचा र महामुख नृत्य प्रदर्शन गरिने छ । पाँचौँ दिन युद्ध कला, छैटौँ दिन देवी प्याखँ, सातौँ दिन जल शयण (मधु–कटैव वध), आठौँ दिन वराह अवतार (हिरण्याक्ष वध), नवौँ दिन नृसिंह अवतार (हिरण्यकश्यपु वध) र अन्तिम दिन वस्त्रहरण लीला नाच देखाइने छ । 

कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको बताउनुभयो । ‘सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ । हरेक दिन फरक फरक कथामा आधारित रहेर लीला अनुसारका नाच देखाइन्छ । हरेक वर्ष कार्तिक महिनामा देखाइने भएकाले यस नाचको नाम पनि काती प्याखँ हुन गएको उहाँले बताउनुभयो ।

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको समयमा लगातार पाँच दिन कार्तिक नाच प्रस्तुत गरिन्थ्यो । विसं १७२३ मा राजा श्रीनिवास मल्लले अर्को सात दिन काती प्याखँमै बाथः प्याखँ पनि थप्नुभयो । त्यसपछि विसं १८०४ मा राजा योगनरेन्द्र मल्लले उषाहरण लीला, माधवानर लीलाको पौराणिक आख्यान र लोक तथा नीतिगत कथामा आधारित १५ दिनको नाटक थप गरेर कार्तिक नाचलाई झन्डै एक महिनासम्म देखाउने परम्परा कायम गर्नुभएको थियो । मल्लकालीन राजा सिद्धिनरसिंहले देशमा विघ्न बाधा नहोस् र शान्ति सुव्यवस्था कायम रहोस् भन्ने हेतुले यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको इतिहासमा उल्लेख छ ।

प्रचारप्रसार समितिका संयोजक कलाकार सञ्जय शर्मा राजोपाध्यायले यो नाच संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा उल्लेख भए पनि हाल यस नाचलाई १० दिनमा खुम्चाउनु परेको जानकारी दिनुभयो । उहाँका अनुसार २००६ सालसम्म यो नाच एक महिनासम्म निरन्तर चल्ने गर्दथ्यो । २००७ सालमा जनक्रान्तिले गर्दा वराह र नर्सिंह अवतार नृत्य–नाटक दुई दिनका लागि मात्र देखाइयो । २०३७ सालसम्म सोही दुईदिने नाच मात्र प्रस्तुत गरियो । २०३८ सालमा वराह र नर्सिंह अवतारलगायत श्री विष्णुको अन्य लीलासँग सम्बन्धित नाच थपेर देखाइने काती नाचको परम्परा अहिलेसम्म कायम रहेको छ । 

२०७१ सालदेखि काती नाच कहिले १० तथा कहिले १२ दिन देखाइँदै आएको छ । २०७२ सालको महाभूकम्पका कारण चार दिन र २०७६ मा कोरोना महामारीका कारण दुई दिन मात्रै काती नाच प्रस्तुत गरिएको थियो । आर्थिक रूपमा सबल हुन सके आगामी वर्षदेखि काती प्याखँलाई एक महिनासम्म देखाउने लक्ष्य समितिले लिएको छ । मल्लकालीन समयमा कार्तिक नाचमा मैथिली भाषाको प्रयोग गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछि नाचको भाषामा नेपाल भाषा प्रयोग गरिएको हो । 

नाचको विशेषता बुझेका कलाकार बिदेसिनु, नयाँ पुस्तामा भाषागत समस्या रहनु, कलाकारले व्यावसायिक रूपमा समय दिन नसक्नु र सरकारी पक्षबाट पर्याप्त मात्रामा सहयोगको कमी रहेकाले यसतर्फ सरोकारवालाले ध्यान दिनुपर्नेमा समितिका अधिकारीको जोड छ ।