• ९ मंसिर २०८१, आइतबार

लखनउमा चम्किँदै नेपालका सूर्य श्रेष्ठ

blog

धनगढी समाचारदाता

धनगढी, कात्तिक २१ गते । सन् १९३० मा बनेको भारतको लखनउस्थित फूलबाली गली चोकमा रहेको भवनमा टाढैबाट देखिने गरी लेखिएको छ, नेपाली कोठी । कोठीमा भेटिनुहुन्छ, ८६ वर्षीय ज्येष्ठ नागरिक सूर्यबहादुर श्रेष्ठ । नामले केही अनौठो लाग्ने कोठीको काम भने गजबको छ । जसका कारण काठमाडौँ उपत्यकास्थित ललितपुरवासी श्रेष्ठको नाम लखनउमा चम्किरहेको छ । बडे भाइको नामले परिचित उहाँ आयुर्वेद उपचार र जडीबुटी व्यापारका कारण मुलुकभन्दाबाहिर आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको हो । 

श्रेष्ठले भन्नुभयो, “मेरा बाजे, बुवा व्यापार गर्ने क्रममा यहाँ आउनुभएको थियो । उहाँहरूले घरलगायत सम्पत्ति जोड्नुभयो । त्यसपछि जडीबुटी व्यापारलाई मैले अगाडि बढाइरहेको छु ।” उहाँले केशर, कस्तुरी, अम्बर, मोती, शिलाजितलगायतका जडीबुटीको व्यापार गर्दै आउनुभएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट जडीबुटी खरिद गरी आयुर्वेदिक औषधी उत्पादन गर्ने उद्योगलाई बिक्री गर्ने गरेको श्रेष्ठले बताउनुभयो । नेपालबाट मात्रै वार्षिक एकदेखि दुई अर्बको जडीबुटी खरिद गरेर भारत लग्ने गरेको उहाँको भनाइ छ । 

श्रेष्ठले भन्नुभयो, “मैले धेरै जसो मालसामान (कच्चा जडीबुटी) नेपालबाटै ल्याउने गरेको छु । जसलाई यहाँका सात वटा जडीबुटी उद्योगलाई बेच्ने गरेको छु । मेरो मुख्य काम मालसामान खरिद गरेर उद्योगलाई बेच्नु हो ।” लखनउमा रहेका चार वटा जडीबुटी उद्योगमा आफ्नो सेयरसमेत रहेको उहाँको भनाइ छ । सूर्यबहादुर श्रेष्ठ नेपाली एन्ड सन्स सञ्चालन गरेर जडीबुटी व्यापारीको पहिचान बनाउनुभएका उहाँको नाम आयुर्वेदाचार्यका रूपमा पनि चम्किरहेको छ । 

आयुर्वेदमा एमडी उत्तीर्ण श्रेष्ठले विभिन्न स्वास्थ्य समस्या भएका बिरामीको उपचार पनि गर्दै आउनुभएको छ । एलोपेथिक उपचार पद्धतिबाट ठिक हुन नसकेका यहाँका चिकित्सक पनि मकहाँ उपचारका लागि आउने गरेका छन् । उहाँले भन्नुभयो, “युनानी आयुर्वेदका डाक्टरले हेरिरहेका बिरामीका लागि औषधी पनि मैले नै बनाउने गरेको छु ।” 

दैनिक बिरामी उपचारका लागि आफूकहाँ आउने गरेको श्रेष्ठले जानकारी दिनुभयो । लखनउमा कैयौँ दशकदेखि जडीबुटी व्यापार गरिरहनुभएका उहाँले २०५० सालमा बनारस हिन्दु विश्वविद्यालयबाट आयुर्वेदाचार्य उत्तीर्ण गरिसकेपछि विभिन्न बिरामीको उपचारसमेत गर्न थाल्नुभएको हो । उहाँको कोठीमा उपचारका लागि भारतीय मात्रै नभई नेपालीसमेत पुग्ने गरेका छन् ।