• २० कात्तिक २०८१, मङ्गलबार

एसपीए कैलाली प्रिमियर लिग माघमा

blog

लिग आयोजनाका लागि सम्झौता गरिँदै ।

काठमाडौँ, कात्तिक २० गते । एसपीए कैलाली प्रिमियर लिग (एसपीए केपीएल) आगामी माघमा हुने भएको छ ।

कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता कैलाली प्रिमियर लिगको टाइटल स्पोनसरको रुपमा एसपीए कलेजले सहकार्य गर्ने भएको छ।

यो प्रतियोगिताको तेस्रो संस्करणका लागि मङ्गलबार एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही र जिल्ला क्रिकेट सङ्घ कैलालीका अध्यक्ष बिक्रम विष्टबिच औपचारिक सम्झौता समेत भएको छ । 

सम्झौताअनुसार एसपीए कलेजले लगातार तीन वर्षका लागि केपीएलको मुख्य प्रायोजन गर्नेछ। कैलाली जिल्लामा क्रिकेट खेलको प्रवर्द्धन र खेलाडीको स्तर वृद्धिमा एसपीए केपीएलले उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । 

अध्यक्ष विष्टकाअनुसार यस पटकको टी–२० एसपीए केपीएलले क्रिकेट प्रेमी र खेलाडीलाई नयाँ उत्साह प्रदान गर्नेछ। “केपीएलको आयोजनाले जिल्लामा क्रिकेटको विकासमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ र एसपीए कलेजसँगको सहकार्यले यसलाई अझ सशक्त बनाउनेछ,” विष्टले भन्नुभयो । 

कैलाली प्रिमियर लिगको दोस्रो संस्करणमा टीकापुर नगरपालिकालाई पाँच विकेटले हराउँदै गोदावरी च्याम्पियन बनेको थियो ।