• ११ पुस २०८१, बिहिबार

मिथिलाञ्चल क्षेत्रमा गुञ्जिँदै छठ गीत

blog

फाइल तस्बिर

नागेन्द्रकुमार कर्ण
महोत्तरी, कात्तिक २० गते । तिहारको समापनसँगै मिथिलाञ्चल क्षेत्रमा छठ गति गुन्जिन सुरु भएको छ । ‘दसैँको सोह्रौं सुकराती, सुकराती छब्बे छैठ’ अर्थात् विजयादशमीको सोह्रौं दिनमा पर्ने तिहार पर्छ भने तिहारको छैटाैं दिनदेखि छठ पर्व सुरु हुन्छ ।

अस्ताउँदो सूर्यलाई छठी मईया र उदाउँदो सूर्यलाई दिनकर भनी यो पर्वमा पूजा गर्ने गरिन्छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिई यो पर्व मनाइने गरिन्छ ।
अहिले छठका गीतहरु मिथिलाञ्चल क्षेत्रमा गुन्जिन सुरु भइसकेको छ ।

मुख्यतया चार दिन मनाइने यो पर्व आज मङ्गलबारदेखि विधिवत रुपमा सुरु भइसकेको छ । चतुर्थीका दिन मङ्गलबार बिहान ब्रतालुहरुले स्नान गरी एक छाक खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ ।

छठ व्रत विधिको दोस्रो अर्थात् कात्तिक शुल्क पञ्चमीका दिन बुधबार सखर हालेर बनाएको खीर (खरना) षष्ठी मतालाई चढाई व्रतालुले प्रसाद स्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यसलाई खरना गर्ने भनिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुका  अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ ।

यस वर्ष कात्तिक २२ गते बिहीबार छठको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।

पर्वको मुख्य दिन भनिने यसलाई मैथिलीमा सँझिया (साँझको अर्घ्य) भनेर भनिन्छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन गरिन्छ ।

यस वर्ष कात्तिक २३ गते शुक्रबार कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

अहिले नदी, पोखरीमा घाटहरु सजाउने काम भइरहेको छ । ‘हम हूँ अरगिया देबई, हे छठी मईया, हम ना जाईब दूसर घाट ।’ (म अरु घाटमा होइन आफ्नै घाटबाट अर्घ्य दिन्छु) लगायतका गीतहरु अहिले घाट र बजारमा गुञ्जिरहेको छ ।