• १८ मंसिर २०८१, मङ्गलबार

स्कटल्याण्डविरुद्धको खेलमा चोटग्रस्त करण र भीमलाई आराम : सागर र देवलाई मौका

blog

नेपाली टिम । फाइल तस्बिर क्यान

काठमाडौँ, कात्तिक १९ गते। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध आज हुने प्रतिस्पर्धामा नेपाली टिमका तीव्र गतिका बलर करण केसी र ब्याट्सम्यान भीम सार्की मैदान बाहिर हुनुहुने भएको छ ।उहाँहरुको स्थानमा सागर ढकाल र देव खनाललाई मौका दिइने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ। नेपाली टिमका महत्त्वपूर्ण बलर केसी अमेरिकाविरुद्धको खेलमा घाइते हुनुभएको हो ।अमेरिका भ्रमणमा रहे पनि सार्की भने प्लेइङ ११ मा पर्न सक्नुभएको छैन ।  यसअघि नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो।

त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपालले स्कटरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सोमबार राति १० बजेर १५ मिनेटमा सुरु हुनेछ। 



त्रिकोणात्मक सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले हारेको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको हो। 

सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि पाँच विकेटको जित निकालेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा हुनेछ। लिग–२ को तालिकामा सातौं स्थानमा रहेको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ। 

विश्वकप लिग–२ अन्तर्गत अमेरिका १२ खेल खेल्दै १६ अङ्कसहित पहिलो स्थानमा छ। १० खेल खेलेको स्कटल्यान्ड १३ अङ्कसहित तेस्रो स्थानमा छ भने ११ खेल खेलेको नेपाल ५ अङ्कसहित सातौं स्थानमा छ। 

१२ खेल खेलेको क्यानडाको १६ अङ्क भए पनि रनरेटको आधारमा दोस्रो स्थानमा छ। ८ खेल खेलेको नेदरल्याण्ड १२ अङ्कसहित चौथो स्थानमा छ भने १२ खेल खेलेको नामिबिया १० अङ्कसहित पाँचौं स्थानमा छ। ओमान ८ अङ्कसहित छैटौं स्थानमा हुँदा यूएई ४ अङ्कसहित तालिकाको पुछारमा छ। 

नेपालले सात वटा एक दिवसीय खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गरेको छ। जसमध्ये नेपालले चार जित निकाल्दा स्कटल्याण्डले तीन जित आफ्नो पक्षमा पारेको छ। अघिल्लो खेलमा पाँच विकेटको शानदार जित निकालेको नेपाल आज जित्ने लक्ष्यसहित मैदानमा हुनेछ।