• २२ मंसिर २०८१, शनिबार

थाइ एअरले थाल्यो भैरहवा–बैंकक उडान

blog

भैरहवा विमानस्थलमा अवतरण गरेको थाइ एअरको विमान । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, कात्तिक १८ गते । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंंकक–भैरहवा–बैंकक उडान आइतबारदेखि सुरु भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस ए तीन ३२० अवतरण गरेको छ । पहिलो उडानमा विमानका चालक दलका सातजना सदस्यहरु मात्र आएको प्राधिकरण भैरहवा कार्यालयका निमित्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यले जानकारी दिनुभयो । 

उहाँले यो तालिका अनुसारकै उडान भएको बताउनुभयो । अर्को उडान अब कात्तिक २३ गते शुक्रबार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने उहाँको भनाइ छ । २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहीबारदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो सवा १२ बजे आउने निमित्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिनुभयो । योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको दुई दिन उडान गर्ने तयारी गरेको बताउनुभयो ।

थाइ एअर एसियाको केही दिनअघि मात्र भैरहवा तथा काठमाडौं उडान सुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपियाँ रहेको छ । एअर एसियाको यो विमान बिहान ७ बजेर ४० मिनेट जाँदा बैंकक प्रस्थान गरेको छ ।