• ११ पुस २०८१, बिहिबार

कमला नदीमा अस्थायी पुल निर्माण

blog

कमला नदीमा बनेको काठको अस्थायी पुल।

सिरहा, कात्तिक १७ गते । सिरहा र धनुषा  जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ । कमला नदीको पुल भत्केपछि नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले उक्त पुल निर्माण  गरेको हो । 

नदी पार गर्न साइकल यात्रुबाट शुल्क नलिए पनि मोटरसाइकल चालकबाट भने २० शुल्क लिने गरिएको सिरहा–६ का वडाध्यक्ष इन्द्रजीत यादवले बताउनुभयो । 

सिरहा नगरपालिकाले पुलको दुवैतर्फ नगरपालिकाका कर्मचारी खटाएको छ । यसअघि व्यक्तिगतरुपमा पुल निर्माण गरी रकम लिने गरेकामा अब भने नगरपालिकाले यसबाट राजश्व सङ्कलन गर्ने उहाँले बताउनुभयो । 

“सङ्कलन भएको रकमबाट पुल मर्मत सम्भार गरिने छ”, वडाध्यक्ष यादवले बताउनुभयो । 

हुलाकी सडकअन्तर्गत सप्तरी–सिरहा खण्डमा सडक कालोपत्रे गरिए पनि कमला नदीमा पक्की पुल नबन्दा समस्या भएको छ । यसअघि निर्माण गरिएको कमला नदीको पक्की पुल २०७८ असार १७ गतेको बाढीले भासिएको थियो । त्यसयता उक्त पुल पुनः निर्माण हुन नसकेको वडाध्यक्ष यादवले बताउनुभयो । रासस