• १२ पुस २०८१, शुक्रबार

सुवानमा नेपालीले खेले देउसी भैलो

blog

देउसी भैलो खेल्दै सुवानमा रहेका नेपालीहरु । तस्विरः राजेश चाम्लिङ राई

गोरखापत्र अनलाइन

सुवान (दक्षिण काेरिया), कात्तिक १७ गते । महान् पर्व तिहारको अवसरमा दक्षिण कोरियामा काम विशेषले बसोबास गर्ने नेपालीले देउसी भैलो खेली रमाइलो गरेका छन् । यस पटक तिहारको देउसी खेल्ने मुख्य दिन शनिबार र भाइटीका आइतबार परेकाले कोरियामा भव्य रुपले मनाइएको हो । 

कोरियामा शनिबार र आइतबार सार्वजनिक बिदा दिइन्छ । कोरियामा ईपिएस प्रणाली अन्तर्गत रोजगारीमा आएका करिब एक लाख र विद्यार्थी भिसामा आएका सयौँको सङ्ख्यामा नेपालीहरू छन् । शनिबार सुवानस्थित कसम रेष्टुरेन्टमा १०० भन्दा बढी ईपिएस अन्तर्गत रोजगारीमा रहेका तथा विद्यार्थीहरू भेला भएर देउसी खेल्दै तिहार मनाएका छन् । रेष्टुरेन्टका प्रमुख कहरमान राईले आज विभिन्न चार समूह देउसी भैलो खेल्न आएको बताउनुभयो ।  


परदेशको ठाउँमा रमाइलो भनेको संयोग जुरेर मात्र हुने हो, ईपिएस अन्तर्गत ५ वर्ष अगाडि कोरिया पुगेका देउसीमा सहभागी बुटवलका रूपेश कार्कीले भन्नुभयो, "यो पटक ठ्याक्कै बिदाको दिन परेकाले खुब मज्जा गरियो ।" 


रूपेशजस्तै खोटाङका दिनेश राई, पाँचथरका विवेक लिम्बूदेखि डडेलधुराका मनीषा विष्ट देउसीमा रमाएको बताउनुभयो । चाडपर्वमा घर परिवारको सम्झना ज्यादै आउँदो रहेछ, पहिलो पटक परदेशमा तिहार मनाइरहनुभएकी मनीषाले भन्नुभयो, "गाउँघरमा घरपरिवार खुसीमा कि दुःखमा होलान् भन्ने सोच्दा पनि तनाव हुन्छ । तर जति तनाव भए पनि के गर्नु रमाएजस्तो गरेर  बाँच्नु जीवनको बाध्यता हो ।" 

कार्की र विष्टझैं जानी नजानी देउसी भन्नेहरूको सङ्ख्या रेष्टुरेन्टमा धेरै देखियो । लाखौँको सङ्ख्यामा विदेशिएका नेपालीहरूले आफूसँगै आफ्नो संस्कृति पनि लगेका छन् । नमिठा पलहरू बिर्सेर कोरियाको सुवानमा युवाहरू भनिरहेका छन्,  "भन भन भाइ हो, देउसिरे ।"