• १८ पुस २०८१, बिहिबार

अनुदान पाएपछि बाख्रा पालक कृषक उत्साहित

blog

वालिङ नगरपालिका–३ मा निर्माण भएको आधुनिक बाख्रा खोरको अनुगमन गर्दै नगर उपप्रमुख कविता तिवारी गैह्रे लगायत । तस्बिरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, असोज १६ गते । स्याङ्जाको वालिङ नगरपालिकाका कृषकहरु खोर निर्माणमा अनुदान पाएपछि उत्साहित भएका छन् । वडा नं. ३ र ४ का कृषकहरुले अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् । 

वडा नं. ३ का कृषक उमा गुरुङले अनुदानमा खोर निर्माण गर्न पाएपछि आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै तरिकाले बाख्रा पाल्दै आएका थियौं, अहिले त खोरको स्वरुप नै फेरियो ।” आधुनिक तथा व्यवस्थित खोर निर्माणपछि बाख्रा पालनप्रति आकर्षण बढेको उहाँको भनाइ छ । 

वालिङ नगरपालिकामा सञ्चालित “वालिङ कृषि विकास परियोजना” अन्तर्गत खोर निर्माण गरिएको हो । साना किसान तथा महिलालाई उद्यशीलतामा जोड्ने उद्देश्यले सुरु भएको कार्यक्रममार्फत कृषकले अनुदानमा खोर निर्माण गरेका हुन् । कृषकले खोरमा ५० प्रतिशत अनुदान पाएका छन् । 

बाख्रा पालनका लागि राम्रो वातावरण भएको वालिङ नगरपालिकाको वडा ३ र ४ मा १८ वटा आधुनिक खोर निर्माण गरिएको नगरपालिका पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनुभयो । उहाँका अनुसार आधुनिक खोर निर्माणले बाख्रा पालक कृषकलाई सहज भएको छ । 

सुविधा सम्पन्न खोरमा बाख्रा पालन गर्दा विभिन्न रोगको सङ्क्रमण कम हुनुको साथै उत्पादन र उत्पादकत्व बृद्धि हुने डा. बस्यालले बताउनुभयो । बाख्रा पालनलाई व्यावसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले बताउनुभयो । 

पहिलो चरणमा बनेको खोर देखे पछि कृषकहरु आधुनिक खोर तर्फ आकर्षित भएको वडा ३ का वडा अध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “खोर निर्माण गर्नुपर्छ भन्दा चासो नदेखाएका कृषकहरु पछिल्लो समय खोर बनाउनमा ध्यान दिन थालेका छन् ।”