• ७ मंसिर २०८१, शुक्रबार

सुपारीको सहज निर्यात गर्ने व्यवस्था गर्नुपर्छ: सभापति खान

blog

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खान राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक १४ गते । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले सुपारीलाई सहज रूपमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै सभापति खानले सुपारीको सहज रूपमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

‘‘अन्य बाली जस्तै सुपारी खेती पनि उत्पादन हुन्छ भने अन्य बाली जस्तै निर्यात गर्ने व्यवस्था हुनुपर्छ । यसमा कहीँ कतै हामीले कुनै लोभ, प्रलोभन वा कसैको दबाबमा परेर होइन । यदि हामी निर्यात गर्ने वातावरण नै दिँदैनौँ भने आयात गरेर मात्रै अहिलेसम्म देशको हविगत यस्तो भएको छ हामी किन नदिने भनेर हाम्रो समिति स्पष्ट भयो । रोकेर समस्या समाधान छैन भन्नेमा हामी पुगिसकेका छौँ । स्पष्ट भएरै हामीले यो निर्देशन दिएको हो ।’’

उहाँले उद्योग समितिले सुपारीको निर्यातका लागि सरकारलाई निर्देशन समेत दिइसकेको भन्दै कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले अन्य बालीजस्तै सुपारी पनि कृषि उत्पादन भएको भन्दै यसको पनि निर्यात खोल्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्यात बन्द गरेर आयात मात्रै गर्ने हो भने देश समृद्ध हुन नसक्ने जिकिर गर्नुभयो सुपारी निर्यात रोकेर समस्याको समाधान हुन नसक्ने उहाँको भनाइ छ ।

बैठकमा बोल्नुहुँदै जनता समाजवादी पार्टी नेपालकी सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य रेखा यादवले सुपारी खेतीलाई सरकारले महत्त्व नदिएको किसानहरूको गुनासो रहेको बताउनुभयो । उहाँले पनि सुपारी निर्यातको सम्बन्धमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘किसानको गुनासो सुपारी खेतीलाई महत्त्व नदिएको अवस्था हो सरकारले । हामीलाई कुनै सहुलियतहरू दिएको छैन । अरू किसानझैँ हामीलाई हेर्ने दृष्टिकोण पनि फरक छ भन्ने कुरा आयो । सुपारी हाम्रै देशमा बढी खपत हुने । हामीले आयात गर्नुपर्ने अवस्था हुने । तर हाम्रै देशको सुपारीमाथि चलखेल भएको धेरै वर्षदेखिको कुरा हो । सधैँ सुपारीले विवाद मात्रै भएको छ । यसले समितिमा आएपछि निकास पाउँछ होला । आयातको कुरा उठाउँछौ । निर्याततिर ध्यान नदिएको अवस्था छ । डिएनए टेस्टका लागि सामग्री छ त हाम्रो देशमा ? त्यो सामग्री उपलब्ध भएको कहीँ पनि देखिँदैन ।’’

बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य सीता मिजारले उद्योग समितिले सुपारीको डिएनए परीक्षण गरेर भए पनि निर्यात गर्नु भनेर निर्देशन दिइसकेको भन्दै डिएनए गर्ने अवस्था छ, छैन भन्नेमा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

उहाँले प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको छुट्टाछुट्टै निर्देशनका कारण सरकारलाई कार्यान्वयनमा गाह्रो परेको भन्दै आवश्यक पर्दा संयुक्त रूपमा एउटै निर्देशन दिनुपर्ने औँल्याउनुभयो ।

उहाँले सुपारी निर्यातसम्बन्धी विवाद लामो समयदेखि कायम रहेको भन्दै यसप्रति सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो ।