• २७ पुस २०८१, शनिबार

सर्लाहीमा स्यालले टोकेर १३ जना घाइते

blog

सांकेतिक तस्बिर

जनार्जन खत्री

सर्लाही, कात्तिक १४ गते। सर्लाहीमा स्यालले टोकेर १३ जना घाइते भएका छन्। जिल्लाको बसबरिया गाउँपालिकामा नौ जना, गोडैता नगरपालिकामा तीन जना र बलरा नगरपालिकामा एक जनालाई स्यालले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बसबरिया गाउँपालिका–४, धनगढामा मङ्गलबार साँझ खेतमा घाँस काट्न गएका बालबालिका र वृद्धवृद्धा गरी नौ जनालाई स्यालले टोकेर घाइते बनाएको छ। 

घाइते हुनेमा बसबरिया गाउँपालिका–१, का १० वर्षीय रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया शिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षकै मदैनिया दर्जी, ६ वर्षीय राजु मुखिया, बसबरिया गाउँपालिका–३, का १५ वर्षीय दीपेन्द्र माझी, बसबरिया गाउँपालिका–४, की १५ वर्षीया करुना साह र सोही वडाका ६० वर्षीय बद्री मुखिया रहेका छन्। प्रहरीका अनुसार घाइते नौमध्ये केहीको प्रादेशिक अस्पताल मलङ्गवा र केहीको जनकपुरमा उपचार चलिरहेको छ। 

यस्तै स्यालले टोकेर गोडैता नगरपालिका–१०, सिसौटियामा तीन जना घाइते भएका छन्। गोडैता नगरपालिका–१०, बस्ने ४० वर्षीया इन्दुदेवी बैठा, ४० वर्षीया प्रेमा देवी मण्डल र ४१ वर्षीय विपत पासवानलाई  खेतमा घाँस काट्न गएका बेला स्यालले टोकेर घाइते बनाएको हो। 

घाइते इन्दुदेवी बैठा र प्रेमा देवी मण्डललाई थप उपचारका लागि टेकु अस्पताल काठमाडौँ लगिएको छ भने विपत पासवान प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै स्यालले टोकेर बलरा नगरपालिका–४, मा ६० वर्षीया सोमरी देवी घाइते हुनुभएको छ।

सोमरी देवीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ। स्थानीय बासिन्दाका अनुसार धनगढा र सिसौटियाका १२ जनालाई एउटै स्यालले टोकेको हो। 

बलराकी सोमरी देवीलाई भने बेग्लै स्यालले टोकेको स्थानीयले जानकारी दिएका छन्।