• २७ पुस २०८१, शनिबार

वायु प्रदूषणको जोखिम घटाउन माग

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १४ गते । नेपाल वातावरण पत्रकार समूहले डढेलो र वायु प्रदूषणको जोखिम घटाउने गरी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । 

समूहका महासचिव कमलदेव भट्टराईका अनुसार नेपालमा बाढीपहिरोको सङ्कटपछि डढेलो र वायु प्रदूषणको जोखिम रहेको भन्नुहुँदै मनसुन सकिएसँगै काठमाडौं उपत्यकासहित मुलुकका अन्य सहरमा वायु प्रदूषणको ग्राफ उकालो लागेको उल्लेख गर्नुभएको छ । 

उहाँका अनुसार वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभन्दा दश गुणा बढी (पिएम २.५ को मात्रा वार्षिक ५०.९ माइक्रोग्राम प्रतिघनमिटर) पुग्ने गरेको छ । 

उहाँले वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग र सरोकारवाला निकायले वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ कार्यान्वयनमा चासो नदिएको बताउनुभयो । गृह मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक सातामा मात्र ३२ ठाउँमा आगलागी भएको तथ्याङ्क छ ।

नेवापसले राज्य संयन्त्रले डढेलोको जोखिम घटाउन र वायु प्रदूषण रोकथामका लागि समयमा नै कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको जनाएको छ ।