• २७ पुस २०८१, शनिबार

पोथी चितुवाको उद्धार

blog

उद्धार गरिएको घाइते चितुवा ।

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक १४ गते । रुकुमपश्चिममा घाइते अवस्थामा रहेको एक पोथी चितुवाको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसीकोट नगरपालिका-१० स्थित चिप्लेडाँडा खोलाबाट चितुवाको उद्धार गरेको हो । 

डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले वडा कार्यालयले दिएको सूचनाअनुसार खटिएको टोलीले घाइते अवस्थामा रहेको चितुवाको उद्धार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरेर ल्याइएको चितुवालाई अहिले पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपचारका लागि लगिएको छ । 

अन्दाजी चार महिना जतिको त्यस चितुवाको टाउकोमा चोट रहेको डिभिजन प्रमुख परियारले बताउनुभयो । चितुवाको अवस्था सामान्य रहेको बताइएको छ । उपचारपश्चात् चितुवाको अवस्था हेरेर जगंलमा छोड्ने कि चिडियाखाना छोड्ने भन्ने निर्णय गर्ने डिभिजन वन कार्यालय रुकुमपश्चिमको भनाइ रहेको छ ।  

वडा अध्यक्ष धनबहादुर खड्काले चितुवा घाइते अवस्थामा फेला पारेपछि डिभिजन वन कार्यालय खबर गरेको र कार्यालयबाट वन रक्षक रणबहादुर डाँगीसहितको टोली आएर उद्धार गरेको जानकारी दिनुभयो ।